एकताबद्ध एमाले सिन्धुपाल्चोकमा बेग्लै उत्साहः ‘एकता तोडेर नजाउ साथी हो’ भन्दै नाचे नेता–कार्यकर्ता – Nepal Press

एकताबद्ध एमाले सिन्धुपाल्चोकमा बेग्लै उत्साहः ‘एकता तोडेर नजाउ साथी हो’ भन्दै नाचे नेता–कार्यकर्ता

ती शहिदको रगतले पोल्छ हामीलाई
ती घाइतेको आँशुले पोल्छ हामीलाई
अभियान छोडेर नजाउ साथी हो
एकता तोडेर नजाउ साथी हो
मूलबाटो मोडेर नजाउ साथी हो…

जनवादी कलाकार प्रिया भण्डारीले मञ्चमा यो गीत गाइरहँदा एमालेका नेताहरु गम्भीर देखिन्थे । यस्तो लाग्थ्यो, कोही विगत सम्झिरहेका छन् त कोही मनमनै एकताको संकल्प गरिरहेका छन् ।

मञ्चमा बसेका नेताहरु मात्रै होइनन्, धेरैपछि एकै ठाउँमा भेला भएका एमाले कार्यकर्ताहरु पनि गीतसँगै एकताको संकल्प गरिरहेका थिए । अनि, उत्साहित हुँदै गीतको तालमा नाचिरहेका थिए ।

त्यस्तै कलाकार भण्डारीले स्थानीय चुनावताका गाएको ‘सै पनि एमाले, मै पनि एमाले’ गीतमा पनि एमाले नेता कार्यकर्ता रमाइरहेका थिए ।

दृश्य हो, शनिबार सिन्धुपाल्चोकको बाह्रविसे नगर कमिटीले बाह्रविसेमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलको । जिल्लाका सबै पार्टी कमिटीलाई २०७५ जेठ २ गतेअघि नै फर्काएपछि यहाँका एमाले कार्यकर्ता निकै हौसिएका छन् । विगतमा माधव नेपाल पक्ष भनेर चिनिएका थुप्रै एमाले कार्यकर्ता भेलामा सहभागी थिए ।

केही समयअघिसम्म दुई कित्तामा विभाजित कार्यकर्ता विगतमा तितापिरा कुरा भुलेर एकतावद्ध भएकोमा खुसी देखिन्थे । ‘हाम्रो कारणले पार्टीमा समस्या भएको होइन, नेताहरुको कारण समस्या भयो, यसको असर हामीमा पनि प¥यो’, विगतमा माधव पक्षमा लागेका बाह्रविसे नगरपालिका राम्चेका एमाले कार्यकर्ता बलरामा ढकाल भन्दै थिए, ‘पार्टी एक भएपछि अब हाम्रो सम्बन्ध विगतको भन्दा अझै उन्नत हुने छ ।’

कोरोनका कारण हात मिलाउने चलन अन्त्य हुँदै गएपनि लामो समयपछि छुटिएका सहयात्रीहरु एकै कार्यक्रममा भेट हुँदा अंगालो हालेर आत्मीयता र सौहार्दता साटिरहेका थिए ।

यहाँ एमाले विभाजन भएसँगै नेता कार्यकर्ताहरुले लामो समयदेखि दुई वटा कमिटीलाई समान्तर रुपमा अघि बढाएका थिए । नगर कमिटीले आयोजना गरेको नगरस्तरीय अगुवा कार्यकर्ता भेलामा भने जेठ २ अघिकै संरचनाको कमिटीले कार्यक्रम आयोजना गरेको थियो ।

विगतमा केपी ओलीको पक्षमा उभिएका एमाले जिल्ला कमिटी सदस्य डिबी लामाले अब दुवै पक्षले विगतका गल्तीहरुमा आत्मआलोचना गर्दै एमालेलाई एक ढिक्का बनाउनु पर्नेमा जोड दिए ।

०७५ जेठ २ को संरचनामा एमालेलाई अघि बढाउने सहमतिपछि राजधानीमा सम्र्पक मञ्चले अनौपचारिक कार्यक्रम गरे पनि भूगोल केन्द्रीत भएर भने बाह्रविसेमा पहिलोपटक कार्यक्रम आयोजना भएको हो ।

आइतबार बस्ने जिल्ला कमिटीको बैठकपछि सबै पालिका र वडामा समेत यस्ता कार्यक्रमहरु आयोजना गरिने एमाले जिल्ला सचिव कमल नेपालले जानकारी दिए । कार्यदल बनाएर विगतमा दुवै पक्षले अभ्यास गरेका समान्तर कमिटीको विषयमा छलफल गरेर त्यसलाई समाधान गरिने सचिव नेपालले जानकारी दिए ।

जहाँ एमाले विभाजनको असर छैन

नेकपा एमाले विभाजन भएर माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भए पनि सिन्धुपाल्चोकमा भने विभाजनको खासै असर नदेखिएको एमाले नेताहरुले दाबी गरेका छन् ।

‘भूगोलमा जनमत नभएका केही साथीहरुले पार्टी छाडेका छन् तर त्यसको असर जिल्लामा नगन्य छ’, एमाले पोलिटब्युरो सदस्य अरुण नेपालले भने । पुरानो घर छाडेकाहरु छिटै फर्कने विश्वास नेपालले गरे ।

एमाले बनाउनका लागि आफुहरुले लामो समयदेखि त्याग र मेहनत गरेको बताउँदै नेता नेपालले भने, ‘४० वर्षदेखि यहीं पार्टीमा लाग्दा हाम्रो खुट्टा बलियो भएको छ, लुलो खुट्टा लिएर उभिएका छैनौं ।’

एमाले लेखा आयोगका पूर्वसदस्य एवम् वागमती प्रदेशका सांसद सरेश नेपालले एमालेको काँधमा बन्दुक राखेर माओवादीले आफूहरुलाई प्रहार गर्न खोजेपनि त्यो सपना पूरा नभएको नेता नेपालले बताए ।

आफूहरुले मत दिएर माओवादी नेता अग्नि सापकोटालाई सभामुख बनाए पनि अहिले उनी एमाले विभाजनको मतियार भएको नेपालको भनाइ छ । उनले आगामी दिनमा सापकोटासँग हिसाबकिताब हुने चेतावनी पनि दिए । ‘हाम्रो मत हामीहरुकै विरुद्ध सापकोटाले प्रयोग गरेका छन्’, नेता नेपालले भने, ‘यसको उनले चर्काे मूल्य चुकाउनु पर्नेछ ।’

वागमती प्रदेशका पूर्वमन्त्रीसमेत रहेका नेपालले केही साथीहरु एमाले छाडेर अर्काे पार्टीमा गएपनि माओवादी केन्द्रमा रहेका महत्वपूर्ण नेताहरु एमालेमा आएकोले क्षतिपूर्ती भएको नेपालले बताए ।

जनताको मतबाट निर्वाचित संविधानसभा सदस्य राजकमाुर श्रेष्ठ, दावा तामाङलगायत माओवादीको ठूलो समूह एमालेमा एकबताबद्ध भएकाले एमाले झन् शक्तिशाली भएको उनको तर्क छ ।

एमाले जिल्ला कमिटी सदस्य एवम बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले बाह्रबिसेबाट सिन्धुपाल्चोकमा एकताबद्ध एमाले बनाउने अभियान सुरु भएको र अब यो जिल्लाभर हुनुपर्नेमा जोड दिए । ‘हामी अब फेरि पनि बाह्रविसेमा एमालेलाई पहिलो शक्तिको रुपमा स्थापित गर्छौं’, शेर्पाले भने ।

कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य एवम बाह्रविसे नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रिन, जिल्ला सदस्यहरु सागर घिमीरे, टपिन्द्र तिमिल्सिना लगायतका नेताहरुले एकताबद्ध एमाले बनाउन सबै लाग्नुपर्नेमा जोड दिए ।

अगुवा कार्यकर्ता भेलामा माओवादी केन्द्र बाह्रविसे–९ का इञ्चार्ज बद्री तिमिल्सिना, गाउँ कमिटी अध्यक्ष सुन्दर लामालगायत करिब दुई सय एमालेमा प्रवेश गरेका थिए ।

त्यस्तै नेपाली कांग्रेस कर्थलीका स्थानीय नेता ग्याल्जने शेर्पा, नोर्बु शेर्पालगायत एमालेमा प्रवेश गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर