रुपन्देहीमा एमाले विभाजन: पाँच जनाले रोजे नेकपा एस, माओवादीबाट आएका १६ जना एमालेमै – Nepal Press

रुपन्देहीमा एमाले विभाजन: पाँच जनाले रोजे नेकपा एस, माओवादीबाट आएका १६ जना एमालेमै

रुपन्देही । नेकपा एमाले रुपन्देहीले जिल्ला कमिटीलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा अगाडि बढाएको छ । आइतबार बसेको जिल्ला कमिटी बैठकमा यसअघि माधव नेपाल समूहमा रहेका उपाध्यक्ष पुरुषोतम घिमिरे, सचिव जागेश्वरी चौधरीसहितका अधिकांश जिल्ला कमिटी सदस्य सहभागी भएपछि एमाले नेताहरु उत्साहित भएका छन् ।

एमालेले जिल्ला कमिटीका ५ जना सदस्य मात्र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पक्षमा लागेको भए पनि नेकपा एकताका समयमा माओवादीबाट आएका १६ जना एमालेमै रहेकाले जिल्लामा पार्टीलाई विभाजनको क्षति नहुने प्रचार विभाग प्रमुख मोहन चापागाईले बताए ।

पार्टी एकताका लागि गठित कार्यदलसंगको सहमतिअनुसार २०७५ जेठ २ को अवस्थामा फर्किदा कायम रहेको जिल्ला कमिटीका ४ जना सदस्य र निलम्वनमा परेका १ जना सदस्य गरी ५ जनामात्र नेकपा एसमा लागेको एमालेले जनाएको छ । प्रचार विभाग प्रमुख चापागाईका अनुसार जिल्ला कमिटी सदस्य उमा काफ्ले, चीनबहादुर गुरुङ, श्रीराम यादव, सरिता श्रीस र सिद्धिचरण भट्टराई मात्रै नेकपा एसमा लागेका छन् ।

काफ्ले सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख हुन् भने भट्टराईलाई नेकपा एमाले रुपन्देहीले २०७५ मै ६ महिनाका लागि निलम्वन गरेको भएपनि हालसम्म फुकुवा गरेको छैन ।

‘जिल्ला कमिटी बैठकमा गुरुङ, यादव, काफ्ले श्रीस र भट्टराई मात्रै सहभागी हुनुहुन्न अरु सबै बैठकमा सहभागी हुनुभएको छ, केही साथीहरु काम विशेषले बैठकमा सहभागी हुन नसकेको बताउनु भएको छ’, चापागाईले भने ।

एमाले रुपन्देहीका अनुसार नेकपा एमाले र नेकपा एमाओवादी केन्द्रका बीच एकीकरण हुँदा एकता प्रक्रियाबाट समावेश भएका १ सय ६ जना जिल्ला कमिटी सदस्यमध्ये ३ जनाले पार्टी छोडेका छन् भने अदालतको आदेशमा २०७७ फागुनमा एमाओवादी केन्द्र र एमाले अलग-अलग हुँदा एमाओवादी केन्द्रबाट समावेश भएका १६ जना सदस्यहरु एमालेमै रहेका छन् ।

यसअघि पार्टीमा अन्तरसंघर्ष भन्दै समानान्तर कमिटी गठन गर्दा माधव नेपाल समूहमा रहेका जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु पुरानै जिम्मेवारीमा फर्किएर पार्टीको काम थालेको प्रचार विभाग प्रमुख चापागाईले बताए ।

जिल्ला अध्यक्ष शिवराज सुवेदीको अध्यक्षतामा बसेको बैठकमा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज दधिराम न्यौपाने र जिल्ला सहइन्चार्ज एकराज बिश्वकर्मा प्रदेश कमिटीका सचिव भूमिश्वर ढकाललगायतले केही अलमलमा परेका नेता कार्यकर्तालाई पार्टीमा फर्कन आग्रह गरेका थिए । नेकपा एसका जिल्ला सहसचिव सिद्धिचरण भट्टराईले साबिक जिल्ला कमिटीका ७ जना अहिले पनि आफूहरुसँगै भएको बताए । उमा काफ्ले, चीनबहादुर गुरुङ, श्रीराम यादव, सरिता श्रीस, सिद्धिचरण भट्टराई, अबिराम बिक र चक्रपाणी तिवारी साबिकको जिल्ला सदस्य समाजवादीमा रहेको उनले बताए ।

एमाले रुपन्देहीबाट निर्वाचित ३७० जना जनप्रतिनिधिमध्ये ७ जना मात्र नेकपा एसमा लागेका छन् । एमाले उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसालको गृहजिल्ला रुपन्देहीमा उनीहरु एमालेलाई बलियो बनाउन लागेपछि माधव नेपाल समूहमा लागेका धेरै नेता तथा जनप्रतिनिधिहरु एमालेमै अडिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर