एन्सेलोटीदेखि जिदानसम्म: सर्वाधिक च्याम्पियन्स लिग जित्ने प्रशिक्षक को हुन् ? (सूची)
काठमाडौं । च्याम्पियन्स लिगलाई युरोपेली क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता मानिन्छ । सन् १९९२ मा च्याम्पियन्स लिग नै नामाकरण भएर हरेक सिजन आयोजना हुँदै आएको छ । त्यसअघि सन् १९५५ देखि १९९१ सम्म युरोपियन कपका नामले यो प्रतियोगिता परिचित थियो ।
प्रतियोगिताको अहिलेसम्मको इतिहास हेर्दा सर्वाधिक सफल क्लब स्पेनिस हेभिवेट रियाल मड्रिड हो । रियालले हालसम्म सर्वाधिक १३ पटक च्याम्पियन्स लिगको उपाधि उचालिसकेको छ ।
त्यस्तै, सात पटकको च्याम्पियन एसी मिलान दोस्रो सफल क्लब हो । लिभरपुल र बायर्न म्युनिखले भने यो उपाधि ६÷६ पटक जितिसकेका छन् । गत सिजनको फाइनलमा म्यानचेस्टर सिटीलाई पराजित गर्दै उपाधि उचालेको चेल्सी अहिलेको च्याम्पियन हो ।
च्याम्पियन्स लिगको इतिहासमा हालसम्म तीन प्रशिक्षकले मात्रै यो उपाधि तीन पटक जितेका छन् । लिजेन्डरी प्रशिक्षक बब पेइस्लेले लिभरपुल क्लबलाई सन् १९७७, १९७८ र १९८१ मा च्याम्पियन बनाएका थिए ।
त्यस्तै इटालियन प्रशिक्षक कार्लो एन्सेलोटीले मिलानबाट सन् २००३ र २००७ मा दुई पटक र २०१४ मा एक पटक गरी तीन पटक उपाधि उचालेका छन् । एन्सेलोटीका सहायक प्रशिक्षक रहेका जिनेदिन जिदानले पनि रियाल मड्रिडलाई लगातार तीन पटक च्याम्पियन्स लिग च्याम्पियन बनाएका थिए । लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्ने जिदान एकमात्र प्रशिक्षक हुन् ।
उनले सन् २०१६ देखि २०१८ सम्म लगातार रियाललाई च्याम्पियन बनाएका थिए । एन्सेलोटी र जिदानबाहेक च्याम्पियन्स लिग एक पटकभन्दा धेरै जितेर सक्रिय प्रशिक्षक पेप ग्वार्डिओला र जोसे माउरिन्हो मात्रै हुन् । ग्वार्डिओलाले बार्सिलानोबाट सन् २००९ र २०११ मा दुई पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए । यस्तै माउरिन्होले एफसी पोर्टोबाट सन् २००४ मा र इन्टर मिलानबाट सन् २०१० मा च्याम्पियन्स लिगको उपाधि उचालेका थिए ।
प्रशिक्षक | उपाधि | वर्ष | क्लब |
---|---|---|---|
बब पेन्स्ले | ३ | 1977,78,81 | लिभरपुल |
कार्लो एन्सेलोटी | ३ | २००३,०७,१४ | एसी मिलान, रियाल मड्रिड |
जिनेदिन जिदान | ३ | २०१६, १७, १८ | रियाल मड्रिड |
जोसे भिलालोङ्गा | २ | १९५६, ५७ | रियाल मड्रिड |
लुइस कार्निग्लिया | २ | १९५८,५९ | रियाल मड्रिड |
बेला गुट्मन | २ | १९६१, ६२ | बेन्फिका |
हेलेनियो हरेरा | २ | १९६४, ६५ | इन्टर मिलान |
मिग्वेल मुनोज | २ | १९६०, ६६ | रियाल मड्रिड |
नेरियो रोक्को | २ | १९६३, ६९ | एसी मिलान |
स्टेफन कोभाक्स | २ | १९७२, ७३ | आयाक्स |
डेट्मार क्रामर | २ | १९७५, ७६ | बायर्न म्युनिख |
ब्रियान क्लग | २ | १९७९, ८० | नोटिङ्घम फरेस्ट |
अर्नेस्ट ह्याप्पेल | २ | १९७०, १९७३ | फेयेनोर्ड, ह्यामबर्गर एसभी |
अर्रिगो साची | २ | १९८९, ९० | एसी मिलान |
ओट्मार हिट्जफेल्ड | २ | १९९७, २००१ | बोरुसिया डर्टमन्ड, बायर्न म्युनिख |
भिसेन्ट डेल बोस्क | २ | २०००, २००२ | रियाल मड्रिड |
सर एलेक्स फर्ग्युसन | २ | १९९८, २००८ | म्यानचेस्टर युनाइटेड |
जोसे माउरिन्हो | २ | २००४, १० | एफसी पोर्टो, इन्टर मिलान |
पेप ग्वार्डिओला | २ | २००९, २०११ | बार्सिलोना |
जप हेन्केस | २ | १९९८, २०१३ | रियाल मड्रिड, बायर्न म्युनिख |