सेनाको वृक्षारोपण अभियान: सिन्धुपाल्चोकमा रोपिए ११ हजार रुखका विरुवा
सिन्धुपाल्चाेक । नेपाली सेनाले सुरु गरेको वृक्षारोपण अभियान अन्तर्गत सिन्धुपाल्चोकको विभिन्न साखुदायिक वनमा ११ हजारभन्दा बढी फलफूलका विरुवा रोपिएको छ ।
नेपाली सेनाको गोरखबक्स गणको अगुवाइमा जिल्लाका विभिन्न सामुदायिक वनमा वृक्षारोपण कार्यलाई तीव्रता दिइएको छ ।
बर्खामा हरियो घाँस पलाउने आशामा सिन्धुपाल्चोकका सयौं हेक्टर वनमा वर्षेनी स्थानीयले डढेलो लगाउने गरेका छन् । डढेलोका कारण प्राकृतिक विपत्तीसमेत हुने भएपछि वनलाई संरक्षण गर्ने उदेश्यले नेपाली सेना लगायत सुरक्षा निकायहरुको सक्रियतामा सिन्धुपाल्चोकका विभिन्न सामुदायिक वनमा यस अघि नै वृक्षारोपन सुरु गरिएको थियो ।
हिउँदको समयमा सिन्धुपाल्चोकको विभिन्न सामुदायिक वनको सयाैं हेक्टर वन क्षेत्रमा डढेलो लाग्दै आएको छ हरियाली वन सुख्खा क्षेत्रमा परिणत भएपछि सिन्धुपाल्चोकमा हरेक वर्ष प्राकृति विपत्तीको श्रृङखला नै हुने गरेको छ ।
नेपाली सेनाले सुरु गरेको अभियानमा हालसम्म १० हजार ५ सय ६३ विभिन्न जातका विरुवा तथा फलपुलहरुको विरुवा रोपिएको छ । ९ सय ३३ फलफुल र ९ हजार ६ सय ३० थान अन्य जातका विरुवाहरु सामुदायिक वनमा रोपिएको नेपाली सेना गोरखबक्स गणका गणपति प्रमुख सेनानी श्रेष्ठले जानकारी दिए ।
नेपाली सेनाले सबैभन्दा बढी चौतारा सँगाचोकगढी नगरपालिका–१० मा रहेको हर्रे सामुदायिक वनमा ६ हजार ८ सय ४८ विरुवा रोपेको छ भने सोही नगरपालिकाको–१२ मा रहेको धिनपुराण सामुदायिक वन क्षेत्रमा २ हजार विरुवा रोपिएका छन् ।
त्यस्तै धुस्कोट,जालवारी, जागिरेयामुना, धारपानी, जितपुर लगायतका सामुदायिक वन क्षेत्रमा समेत वृक्षारोपन गरिएको प्रमुख सेनानी श्रेष्ठले जानकारी दिए ।
डिभिजन वन कार्यालय सिन्धुपाल्चोकले लप्सी, कल्की र मसला जातको विरुवा उपलब्ध गराएको थियो । जिल्ला स्थित अन्य सुरक्षा निकाय,सामुदायिक वन उपभोक्ता समिति, जनप्रतिनिधि र स्थानीयको समेत सहभागीतामा सेनाले वृक्षारोपण गरिरहेको छ ।
हिउँदमा सामुदायिक वन क्षेत्रमा आगालागी हुँदा समेत सेनाले नै गएर निभाउने गरेको छ । सामुदायिक वन क्षेत्रमा आफुहरुको अगुवाइमा वृक्षारोपण गरिए पनि त्यसको संरक्षण सामुदायिक वन र स्थानीयले गर्नुपर्नेमा प्रमुख सेनानी श्रेष्ठले जोड दिए ।