एक्काइसौं शताब्दीको जनवाद र समाजवाद – Nepal Press

एक्काइसौं शताब्दीको जनवाद र समाजवाद

माओवादी सशस्त्र द्वन्द्व अवतरणको रुपमा भएको शान्ति प्रक्रिया अझै टुंगोमा पुगेको छैन । द्वन्द्वपछि स्थापित भएको २१ औं शताब्दीको जनवादलाई स्थापित गर्न नसकेकै कारण माओवादी कमजोर भएको छ ।

द्वन्द्वको बलमा धेरैखाले राजनीतिक उपलब्धी भए, तर ती उपलब्धीलाई जनतासँग जोड्न नसकेकै कारण माओवादी कमजोर भएको हो । कुनैबेला जनताको अपेक्षाको केन्द्र बनेको माओवादी आन्दोलन अहिले धराशायी हुनुका पछाडि धेरै कारण छन् ।

अहिलेको आवश्यकता एक्काइसौं शताब्दीको जनवाद हो । पुरानो मोडलको जनवादले जनताको समस्या सामाधान गर्न सक्दैन । समाजवादमा पुग्न माओवादीले अघि सारेको ‘एक्काइसौं शताब्दीको जनवाद’ दस्तावेजलाई विकसित गर्नुपर्छ ।

समाजवादको रक्षा मान्छेले मात्र गर्न सक्छ । यसको रक्षा पुँजी र हतियारले हुन सक्दैन । यद्यपि तात्कालीन नेकपा माओवादीले २०५७ सालको दोस्रो ऐतिहासिक राष्ट्रिय सम्मेलनबाट एक्काइसौं शताब्दीको जनवादसम्बन्धी कार्यदिशा पारित गर्यो । जहाँ माक्र्सवादको आधारभूत मान्यतालाई आत्मसात गर्दै देश, काल परिस्थितिअनुरूप यसको सिर्जनात्मक विकास र प्रयोगमा जोड गरिएको छ ।

यसमा दुनियाँमा भइरहेको प्रतिक्रान्तिकारी घटनाबाट गम्भीर पाठ सिक्दै यसलाई परास्त गर्ने विधि र तरिकाहरू उल्लेख छ । कम्युनिस्ट आन्दोलनको पराजयका कारणहरू खोतल्ने प्रयत्न गर्नुको साथै यसमाथि भइरहेको भीषण वर्गीय हमलाविरुद्ध लड्ने, छल्ने र ढाल्ने रणनीतिक पद्धति पनि विकास गरिएको छ ।

२१ औं शताब्दीको जनवादमा सर्वहारा वर्गीय सेनाको अपरिहार्यतामा जोड गरिएको छ । यसको आधार त नेपालमा प्रशस्त छन् तर विकसित अघि बढ्नुपर्छ ।

राज्यसत्ता प्राप्तिपछिको भौतिक परिवेशमा पार्टीको सर्वहारा वर्गीय चरित्रको रक्षा, विकास र रूपान्तरण कसरी गर्ने भन्ने अहम् सवालमा जोड दिइएको छ ।

नेपालमा २१ औं शताब्दीको जनवादी क्रान्तिका लागि वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय उत्पीडनबाट जनसमुदायहरूलाई मुक्त गर्ने नीति रहेको छ । आत्मनिर्णयको अधिकारसहितको जातीय तथा क्षेत्रीय स्वशासन साथै सामन्तवाद र साम्राज्यवाद विरोधी पार्टी स्वतन्त्रताको सवाल पनि उल्लेख छ ।

यसरी पार्टी, सेना र राज्यसत्ता वा संयुक्त मोर्चाको वर्गीय अभ्यासमार्फत नै जनवादी क्रान्तिलाई पूर्णता दिनुको साथै प्रतिक्रान्तिलाई रोक्दै निरन्तर संघर्षको ऐतिहासिक प्रक्रियाको माध्यमबाट समाजवाद हुँदै साम्यवादसम्म पुग्ने स्पष्ट कार्यदिशा नै २१ औं शताब्दीको जनवाद हो ।

पूर्णरुपमा समाजवादमा पुग्न २१ औं शताब्दीको जनवादी क्रान्तिलाई सफल बनाउन आवश्यक छ । आजभोलि समाजवादको नारा प्रायजस्तो पार्टीमा गुञ्जिरहेको छ तर सामाजवादमा पुग्न सर्वहारा वर्गीय चरित्रलाई बढी प्रोत्साहनको साथ अगाडि लैजानु पर्छ । तर सबैजसोमा पुँजीवादीलाई बढी प्रोत्साहन दिएकोले सामाजवाद ‘मुखमा राम, राम बगलमा छुरा’ जस्तो भएको छ ।

अहिले कम्युनिस्टको नाममा सत्ता संचालन गर्दै जनतालाई ढाँट्ने काम भएको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा टुट–फुटको असरले कम्युनिस्ट आन्दोलन कमजोर हुँदै गएको छ । तर अझै सबै एकजुट भएर कम्युनिस्ट आन्दोलन अघि बढाउने हो भने समाजवादमा पुग्न सम्भव छ ।

तसर्थ कम्युनिस्ट आन्दोलनको आगामी कार्यदिशा २१ औं शताब्दीको जनवादी क्रान्ति हुनुपर्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *