ओमानसामु घुँडा टेकेको नेपालको फास्ट बलिङ – Nepal Press

ओमानसामु घुँडा टेकेको नेपालको फास्ट बलिङ

काठमाडौं । आइसीसीले निकालेको एक दिवसीय क्रिकेटको पछिल्लो बरियता क्रममा ओमानलाई पछि पार्दै नेपाल एक स्थान माथि उक्लियो । त्यसको भोलिपल्टै भएको खेलमा नेपालले ओमानबाट पाँच विकेटको नमिठो हार चाखेको छ ।

क्रिकेटको बरियताले मैदानमा खासै ठूलो अर्थ राख्दैन भन्ने यो एउटा द‍ृष्टान्त हो । मैदानमा विगतका रेकर्डहरूले पनि कुनै अर्थ राख्दैनन् । तुलनात्मकरूपमा बलियो मानिएको नेपाल ओमानविरुद्ध चुक्यो । नराम्रोसँग चुक्यो ।

जित-हार खेलका अभिन्न पाटोहरू हुन् । एउटा हार-जितले टिमको समग्र मूल्यांकन गर्न सकिन्न । तर, टिमले जितका लागि कति संघर्ष गर्‍यो भन्नेले अर्थ राख्छ । प्रतिस्पर्धीसँग सहजै आत्मसमर्पण गर्‍यो/गरेन भन्ने महत्त्वपूर्ण हुन्छ ।

हिजाको म्याचमा ओमानविरुद्ध नेपालको समग्र प्रदर्शन निराशाजनक रह्यो । हरेक हारपछि यसका कारणहरूको खोजी हुने गर्छ र हुनु पनि पर्छ । ओमनविरुद्धको म्याचलाई फर्केर हेर्दा ‘पिन प्वान्इन्ट’ गर्न सकिने विन्दू हो नेपालको फास्ट बलिङ । ओमानका ब्याट्म्यानहरूले नेपालका फास्ट बलरहरूबाटै जित निकाले ।

नेपालले प्रयोग गरेका तीन फास्ट बलरहरुको समग्र विश्लेषण गर्ने हो भने विकराल तथ्यांक निस्किन्छ । सोमपाल कामी, विक्रम शोब र करण केसीले कुल मिलाएर ११.१ ओभर बलिङ गर्दा एक सय २० रन खर्चिएका थिए । यो भनेको प्रतिओभर ११ भन्दा माथिको इकोनोमी हो, जुन एकदिवसीयमा मात्र होइन टी-२० मा समेत दयनीय मानिन्छ ।

ओमानका ओपनर जतिन्दर सिंह नेपाली फास्ट बलरहरूका लागि ‘नाइटमेयर’ नै बनेका थिए । उनी नेपालका तीनैजना फास्ट बलरहरूमाथि निर्दयी तरिकाले प्रस्तुत भए ।

नेपालका प्रमुख फास्ट बलर सोमपाल कामीलाई त भविष्यमा सिंहको नामले नै झस्काउन सक्छ, जसले उनको एक ओभरमा ३ छक्का र ३ चौकासहित ३० रन वर्षाएका थिए । यही ओभरले ओमानको जित सुनिश्चित गरेको भन्दा फरक पर्दैन । प्रमुख बलर नै चुटिएपछि नेपालले खेलमा कमब्याक गर्नै सकेन ।

अन्य दुई फास्ट बलर विक्रम शोब र करण केसीको अवस्था पनि फरक भएन । करणले ५ ओभरमा ५२ रन र विक्रमले २.१ ओभरमा २९ रन खर्चिए । करणले दुई विकेट लिए भने सोमपाल र विक्रम विकेटविहीन रहे ।

के हिजोको पीच फास्ट बलरका लागि असुहाउँदो थियो त ? त्यस्तो पनि होइन । यही पिचमा ओमानका फास्ट बलर बिलाल खानले १० ओभरमा ४७ रन खर्चेर नेपालका ४ विकेट लिएका थिए ।

स्पिनरको प्रभाव

हिजोको म्याचमा नेपालका प्रमुख स्पिनर सन्दीप लामिछानेले एक ओभर पनि बलिङ गर्न सकेनन् । फिल्डिङका क्रममा उनी अस्वस्थ भएर मैदानबाहिर गएका थिए । उनले खेलमा फर्किन नसकेपछि नेपालको बलिङ स्वत: कमजोर बन्यो ।

यद्यपि, नेपालका दोस्रो स्पिनर सुशन भारी र पार्टटाइम स्पिनर कुशल मल्लले ओमानलाई रोक्न प्रयास नगरेका होइनन् । तर, उनीहरू बलिङमा आउँदासम्म धेरै ढिला भइसकेको थियो ।

फास्ट बलरहरूले ८ ओभरमा नै ९३ रन खर्चिएपछि स्पिनरहरूले नेपालको हार टार्न सकेनन् । तै पनि यदि सन्दिप भएको भए केही फरक पार्न सक्थे कि भन्ने चुकचुकी नेपाललाई रहिरह्यो । सुशन र कुशलले १०/१० ओभर बलिङ गर्दा क्रमश: ४० र ३८ रन मात्रै खर्चिए । उनीहरूले ३ विकेट पनि लिएका थिए । यस्तोमा सन्दिप पनि भएको भए पक्कै ओमानलाई अप्ठेरोमा पार्न सक्थे ।

आसिफले धानेको ब्याटिङ

नेपालले टस जितेर ब्याटिङ रोजेको थियो । पछिल्लो समय सुधारको बाटोमा रहेको नेपाली ब्याटिङ हिजोको म्याचमा भने राम्ररी चलेन ।

ओपनर आसिफ सेखको इनिङलाई बिर्सने हो भने बाँकी ९ जना ब्याट्सम्यानले ९९ रन मात्रै जोड्न सकेका छन् । आसिफले भने आफ्नो करिअरकै उत्कृष्ट इनिङ खेले । उनको ९० रन मद्दतमा नै नेपालको स्कोर दुई सय नजिक पुगेको थियो । १ सय १२ बल खेलेका आसिफले ७ चौका र १ छक्का प्रहार गरेका थिए । उनी शतक बनाउन चुके ।

अमेरिकाविरुद्धको म्याचमा शानदार ब्याटिङ गरेका कुशल भुर्तेल हिजो शुन्यमै आउट भए । कप्तान ज्ञानेन्द्र मल्ल र इन फर्म ब्याट्सम्यान रोहित पौडेलले आसिफसँग राम्रो साझेदारी गरे । उनीहरू आउट भएपछि भने नेपालको ब्याटिङ धराशयी बन्यो । विनोद भण्डारी, कुशल मल्ल र सोमपाल कामी सस्तोमा आउट भए । पुछारमा करण केसी र सन्दीप लामिछानेले केही राहत दिए ।

नेपालले बनाएको १ सय ९७ रन कमजोर भए पनि बलिङ प्रभावकारी भएको भए जित असम्भव थिएन । विगतमा नेपालले योभन्दा धेरै कम स्कोरहरू पनि रक्षा गरेको छ । तर, हिजो बलरहरुको दिन थिएन ।

सम्भावित फेरबदल

ओमानविरुद्धको म्याचबाट नेपालको फास्ट बलिङमा गम्भीर प्रश्न उठेको छ । सोमपाल र करणको प्रदर्शन विगतमा पनि एकरूपता भेटिँदैन । बलिया टिमसँग उनीहरू दुवै सहजै डग्मगाउँछन् । यसै भ्रमणमार्फत् टिममा स्थान बनाएका विक्रम सोबले सुरुआत खेलहरूमा प्रभावित तुल्याए पनि उनले आफूलाई प्रमाणित गर्न बाँकी नै छ ।

नेपालसँग फास्ट बलिङमा धेरै ‘अप्सन’ पनि छैन । एक्स्ट्रा फास्ट बलरका रूपमा अविनाश बोहरा र गुलशन झा छन् । अविनाशको विगतको प्रदर्शन मध्यमस्तरको मात्रै छ । गुलशन झा भने पहिलोपटक राष्ट्रिय टिममा परेको हुँदा ‘अनटेस्टेड’ हुन् । प्रशिक्षकले भोलि अमेरिकाविरुद्धको म्याचमा अविनाश र गुलसनमध्ये एक जनालाई मौका दिन सक्छन् ।

यता ब्याटिङतर्फ पनि फेरबदल आवश्यक देखिएको छ । कुशल मल्ल खराब ब्याटिङ फर्ममा देखिएका छन् । उनको स्थानमा आरिफ शेख वा शरद भेषवाकरलाई ल्याइने सम्भावना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *