लुम्बिनीका पहाडी जिल्लामा सेतो पुतलीबाट हुने सापू रोगको जोखिम बढ्दो
समयमै उपचार नपाए आँखाको ज्योति गुम्ने खतरा:
रूपन्देही । लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सेतो पुतलीबाट आँखामा लाग्ने सापू रोगका बिरामी बढ्न थालेका छन् । पहाडी जिल्लामा यो रोगको उपचार सबै ठाउँमा हुननसक्ने भएपछि रूपन्देहीको भैरहवास्थित लुम्बिनी आँखा अस्पताल, दाङ्गको राप्ती आँखा अस्पताल, कपिलवस्तुको छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल र बाँकेस्थित फत्तेमान आँखा अस्पतालमामा यसको उपचारका लागि पठाउन थालिएको छ । यहाँका आँखा अस्पतालहरूमा उपचारका लागि पहाडी जिल्लाबाट सापू रोग लागेका बिरामी आउने क्रम बढ्न थालेको छ ।
बुटवलस्थित लायन्स आँखा अस्पतालका डा. उपेन्द्रदेव भारीका अनुसार यो रोग लागेका बिरामीका लागि तुरुन्त सर्जरी गर्न आवश्यक पर्ने भएकाले सबै ठाउँमा सम्भव नभएको र आफ्नो अस्पतालमा आएका यस्ता बिरामीलाई लुम्बिनी आँखा अस्पताल भैरहवा पठाएको बताए । कपिलवस्तुको छन्द(कालेबाबु) नारायणी आँखा अस्पतालका डा. शुभलक्ष्मी कटुवालका अनुसार केही दिनअघि अर्घाखाँचीबाट सापु रोगबाट प्रभावित बिरामीलाई उपचार गरिएको थियो ।
‘सेतो पुतलीको झुसले आँखामा छिट्टै रियाक्सन गरी आँखा बिगार्ने भएकाले तुरुन्तै विशेषज्ञ अस्पतालमा उपचार गर्न आवश्यक हुन्छ,’ उनले भनिन् । गण्डक क्षेत्रमा साउनदेखि कार्तिकसम्म यो खालको समस्या बढी देखिएको र एक वर्ष बिराएर यसले प्रभाव देखाउने भएकाले यसबाट सचेतना अपनाउन पर्ने डा. कटुवालको सुझाव छ । सो अस्पतालका प्रशासन प्रमुख जसराज बिकले सापु रोगको उपचारका लागि अस्पतालमा तयारी रहेकाले यस्ता लक्षण देखिएमा तुरुन्त अस्पतालमा पठाउन सबैलाई आग्रह गरिएको बताए ।
रूपन्देहीको भैरहवास्थित लुम्बिनी आँखा अस्पताल भैरहवामा एकहप्ताको अन्तरालमा ७ जना सापू रोगीको उपचार भएको सो अस्पतालले जनाएको छ । एक जनाबाहेक अन्य सबै १० वर्षमुनीका बालबालिका छन् । केहीको आँखा बच्ने सम्भावना निकै न्यून छ । सन् १९७५ मा नेपालमा पहिलोपल्ट देखिएको सापू रोग प्रत्येक दुई–दुई वर्षमा देखिने गरेको छ । खासगरी अहिलेको सिजनमा सेतो पुतली बढी सक्रिय हुने भएकाले सापू रोगी बढी रहेका छन् । लुम्बिनी प्रदेशका प्यूठान, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीमा यो रोग बढी देखिएको चिकित्सकले बताएका छन् ।
ग्याजालिना जेनस अन्तर्गतको क्राइसोलोफा प्रजातिको निसाचर पुतलीबाट यो रोग लाग्ने र समयमै उपचार नपाए आँखाको ज्योति नै गुम्ने खतरा हुने यसका विज्ञ डक्टरहरूको भनाइ छ । डा. उपेन्द्रदेव भारीका अनुसार आँखामा देखिने यस्तो समस्यालाई समाधान गर्न तुरुन्त अपे्रेसन गर्नुपर्ने भएकाले सचेत रहनुपर्दछ ।
रूपन्देही भैरहवास्थित आँखा अस्पताल आएकी बाग्लुङको निसिखोला गाउँपालिका–७, राजपुतकी निरमाया शाही चार दिनअघि छोराले विदेशबाट पठाएको पैसा लिन बुर्तिवाङ पुगेर पैसा लिएर घर फर्किएकी थिइन् । साँझ बलिरहेको बत्तिको वरिपरी सेतो पुतली घुमिरहेको थियो । प्लास्टिकले पुतली समातेर फ्याँकिन् । भोलिपल्ट बिहान उठ्दा आँखा रातो भयो, डिल सुन्निएको थियो । मेडिकल पुगिन् आइड्रप ल्याएर आँखामा राखिन् । सबैले आँखा पाक्ने रोग लागेको बताए । विस्तारै आँखाको नानीमा सेतो टल्किनेजस्ता लक्षण देखिए । त्यसपछि सापू लागेको आशंका गरियो । अहिले उनको आँखाको शल्यक्रिया भएको छ ।
चिकित्सकले शाही ढिलो गरी अस्पताल आएकाले आँखाको ज्योति बचाउन कठिन रहेको जनाएका छन् । ‘सेतो पुतलीबाट लाग्ने सापू आँखाका लागि खतरानाक रोग हो । चिकित्सकहरूका अनुसार सापूको शल्यक्रिया गरेपछि सुधार आउन ३–४ दिन लाग्नसक्छ तर आँखा नदेख्ने सम्भावना प्रबल हुन्छ । सेतो पुतलीको झुस आँखामा परेमा रोग लाग्छ,’ उनले भने, ‘सापूले आँखामा कचरा जम्ने, रातो हुने, सुन्निने र विस्तारै आँखा सेतो बन्दै जान्छ । उपचार नपाए आँखा सुक्दै जान्छ र ज्योति गुम्ने खतरा हुन्छ । खासगरी बच्चाहरूमा यो रोग बढी देखिने गरेको छ । रातिमा बढी मात्रामा सेतो पुतली सक्रिए हुने गर्छ । यस्तो अवस्थामा घरको बत्ति निभाउने, झुल लगाएर सुत्ने, घर वरिपरीको झाडी सफा गर्नुपर्छ । सापू देखिएको २४ देखि ४८ घण्टाभित्रै उपचार नपाएमा आँखा गुम्ने सम्भावना हुन्छ ।’
समयमै उपचार गर्नसके आँखा बचाउन सकिने लुम्बिनी आँखा अस्पताल भैरहवाका रेटिना रोग विशेषज्ञ डा. ज्ञानेन्द्र लामिछानेले बताउँछन् ।
बाँकेको फत्तेमान आँखा अस्पतालका प्रबन्धक डा. कौशलकुमार बर्माले अहिलेसम्म आफ्नो अस्पतालमा यसका बिरामी नआएको बताए । ‘सेतो पुतलीबाट आउने यो प्रायः पहाडी जिल्लामा देखिन्छ, हामीकहाँ यसको उपचारको सबै व्यवस्था छ, तर आएको अवस्था छैन,’ उनले भने ।
स्वास्थ्यकर्मीले यस्तो समस्या देखिए तुरुन्त सम्बन्धित अस्पतालमा पुग्न आग्रह गरेपनि सर्वसाधारण स्थानीय मेडिकलबाट सामान्य औषधि किनेर प्रयोग गर्ने, केही त झारफुकमा लाग्ने अनि अन्तिम अवस्थामा अस्पताल आउने गरेका कारण समस्या बढेकाले सबैले सचेतना बढाउन आग्रह गरेका छन् ।
कपिलवस्तुको छन्द(कालेबाबु) नारायणी आँखा अस्पतालका डा. शुभलक्ष्मी कटुवालले आफू राप्ती आँखा अस्पतालमा रहँदा रोल्पाका यस्तै बिरामी ढिलो गरी आएका कारण आँखाको ज्योति गुमाएको उदाहरण भएकाले र यसको बढी जोखिम बच्चाबच्चीहरूमा भएकाले तथा एकजनाबाट अर्कोमा नसर्ने भएकाले सचेतनामै ध्यान दिन आग्रह गरेकी छन् ।