के छ युरोपमा ?, जहाँ जान ज्यानै जोखिममा राख्छन् नेपाली युवा
‘क्रोएसियाको सीमा पार गरी स्लोभानिया छिर्ने क्रममा कैयौंपटक मैले मृत्यु संग मुकाविला गरेको छु । प्यासले स्वास रोकिनै लाग्दा खाल्डाखुल्डीमा जमेको पानी पिएको छु । कयौं रात आँशु पिएर सुतेको छु’, उनी युरोप पस्दाको दुःखबारे भन्दै थिए, ‘जंगली जनावरको त्रास उतिकै, सम्झँदा पनि आङ जिरिङ्ग हुन्छ ।’
उनको यात्रानुभूतिले मलाई धेरैपटक भावुक बनायो । अनेक दुख गरेर युरोप आए पनि उनको दुःख सकिएन । इटली, स्पेन, फ्रान्सहुँदै पोर्चुगल आउनु थियो उनलाई ।
उनी अर्थात् लमजुङका दयाराम थापा । केही दिनको इटली बसाइँका क्रममा बँचेखुचेको पैसा पनि सकियो । फ्रान्स छिर्नका लागि दलाल दिन घरसँग पैसा मागे । नेपालबाट पैसा पठाए पनि फ्रान्स छिर्न सजिलो थिएन ।
कोरोना कहरले थिलथिलो भएको युरोपका हरेक देशले सीमा नाकाहरु कडाइ गरेका थिए । त्यसमा पनि अवैद्यरुपमा अर्को देश छिर्न आप्रावासीलाई फलामको चिउरा चपाएसरह थियो ।
‘इटली आएपछि कहिले अफ्रिकन त कहिले पाकिस्तानी दलालको पछि लागेर फ्रान्स छिर्ने बाटो खोज्यौं । कहिले पहाडको उकाली चढ्यौं त कहिले लुकिछिपी कन्टेनर छिरेर सीमा पार गर्ने कोसिस गर्यौं’, उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘बस या रेल मार्गबाट सीमा पार गर्न खोज्दा प्रहरीको फन्दामा परिने त्रास थियो । हामी अघिका केही साथीहरुलाई फ्रान्सेली प्रहरीले भेटेर फर्काएको थियो । हामी सकेसम्म प्रहरीको आँखा छल्न चाहन्थ्यौं ।’
उनले थप्दै गए– यही लुकामारीबीच एक दिन भाग्य या दुर्भाग्य के भनौं, इटलीको बोर्डर पार गर्न दलालहरुले कन्टेनरभित्र त छिराए, तर त्यहाँ पनि फेरि अर्को पटक मृत्युसँग मुकाविला गर्नुको विकल्प रहेन । आवाज निकाल्दा कन्टेनर चालकले थाहा पाउने हो कि भन्ने त्रास । खोक्न पनि नपाइने । विनाहावा हामीले त्यो समय कसरी पार गर्यौं, सम्झँदासमेत अत्यास लागेर आउँछ । तुलनात्मक रुपमा पेरिसदेखि लिस्वनसम्मको यात्रा भने सहज नै थियो । किनकि फ्रान्स, स्पेन र पोर्चुगलका सीमा केही खकुलो थियो ।
सम्झँदा नै डर लागेर आउँछ । यसरी यात्रा गर्दा हिँड्न नसकेर, बिरामी परेर अलपत्र पर्नेहरु धेरै हुन्छन् । कतिको बाटोमै मृत्यु हुन्छ । कति लुटिन्छन । कोही बिरामी वा घाइते भए छाडेर हिँड्नुको विकल्प हुँदैन यो त मृत्युलाई साथसाथै लिएर गर्ने यात्रा रहेछ ।
उनका भनाइ सुन्दा लाग्थ्यो– त्यसरी यात्रा गर्नेहरुलाई जीवनको कुनै प्रवाह नहुने रहेछ । सुन्दर भविष्यको सपना साँचेर ज्यानबाजी राखेर यात्रा गर्ने उनीहरुको कथा दर्दनाक छ ।
युरोप, अमेरिका छिर्ने नाममा निकारगुवा र हण्डुरसका जंगल, कालम्बीयाको समुन्द्र र मेक्सिकोको सीमामा कतिको इहलिला समाप्त भएको रहेछ । कति इरान, इराक पार गरेर युरोप आउन खोज्दा लुटेरा र आतंककारीहरुको सिकार बनेका छन् ।
उनी नेपालमा फार्मेसी व्यवसाय गर्ने रहेछन् । मासिक ६०–७० हजार कमाइ हुने रहेछ । तीनजनाको परिवार राम्रै चलिरहेको रहेछ । छिटै धेरै कमाउने लोभले उनी अवैध बाटो हुँदै युरोप आएका रहेका रहेछन् । ‘यस्तो दुख पाइन्छ भन्ने थाहा भएको भए म युरोप आउनै चाहन्नथें’ उनले भने, ‘बल्ल बल्ल आइयो । आएपछि पनि दुख उस्तै, कमाइ कम ! अहिले त ब्यर्थै यता आइएछ जस्तो लागिरहेको छ ।’
नैराश्यता र पीडाको बोझ बोकेर असिमित सपनाका साथ युरोप र अमेरिका भासिएका धेरै दयारामहरु दयाको पात्र बनिरहेका छन् । न्युयोर्क र बोस्टनका गल्लीहरु अनि युरोपका पार्कहरु र अष्ट्रेलियाका चोकहरुमा जान–अन्जानमा धेरै दयारामहरु कृत्रिम हासिरहेका छन् ।
पोर्चुगलका पार्कहरुमा दैनिकजसो यस्तै पीडाको पोको बोकेर अनेक सास्ती र हण्डर खाएर युरोप छिरेका नेपाली, बंगालादेशी तथा इण्डियनहरुको कहानी यसअघि नै धेरैपटक सुनिसकेकाले मलाई नौलो भने लागेन ।
प्रश्न यो हो कि, स्वदेशमा राम्रै जीवन चल्दाचल्दै युवाहरु किन यसरी विदेशिन चाहन्छन् ? स्वादेशका अवसरलाई कम आँकेर विदेश नै ताक्नुपर्ने कारण के हो ?
दयाराम भन्छन्– यति दुख र मेहनत नेपालमै गरेको भए जीवन सुखमय हुने रहेछ । विदेशको भूतले नराम्ररी सतायो । खासमा मलाई अहिले पनि यहाँ बस्न मन छैन । तर, परिवारको दबाबले फर्कन पनि सकेको छैन । किनकि, परिवारको ऋण स्वादेश गएर तिर्न नसकिने सबैलाई लागेको छ ।
जीवनको ऊर्जाशील समय विदेशमा श्रम गरेर बिताउनु परेकामा उनी दुखी छन् । उमेर, जोश, जाँगर र पसिना युरोपमा बगाएर बुढेसकालमा देश फर्कनुपर्ने बाध्यता छ । देशलाई वृद्धाश्रम बनाएर कहिले पो समृद्धि आउला र ?
फरक देश, संस्कृति, भाषा, परिवेशका कारण युरोप आएका धेरै नेपालमा मानसिक समस्या समेत छ । कतिले यतै आत्महत्या गरिरहेका छन् । भौतिकरुपमा युरोप अमेरिका विकसित होला, तर यहाँको आफ्नै दुःख छ ।
स्वदेशका सुन्दर अवसर नदेखेर विदेशिएका धेरै नेपाली अहिले पछुताइरहेका छन् । ज्यानै जोखिममा राखेर श्रम गर्नकै लागि विदेश आउनुको कुनै अर्थ छैन ।
नेपालबाट जति सुन्दर देखिन्छ युरोप अमेरिका, यहाँको खास स्थिति त्यस्तो छैन । त्यसैले सकेसम्म स्वदेशमै संघर्ष गरौं ।
Ramro sallaha sahit ko lekh. Janakarimulak