सहरमा रिसाइकल लुगाको ट्रेन्ड : १० देखि १०० रुपैयाँमा छानीछानी !
काठमाडौं । घरमा थुप्रिएका पुराना लुगाहरुको व्यवस्थापन सहरीया घरपरिवारको साझा समस्या बन्दै गएको छ । फेसनेवल युवायुवतीहरु त पुराना लुगाहरु सद्दे नै भए पनि लगाउन रुचाउँदैनन् । तर, समस्या पर्छ यतिका लुगा कहाँ थन्क्याउने ?
अनि यही समाजभित्र त्यस्ता घरपरिवार पनि उत्तिकै छन्, जसलाई एकजोर नयाँ कपडा किन्न पनि दशैं पर्खिनुपर्छ । उनीहरुका लागि जिउ ढाक्नु नै ठूलो कुरा हुन्छ । त्यसैले फाटेका, च्यातिएका र थोत्रिएका लुगाले नै काम चलाउँछन् । पुराना लुगा थन्क्याउन समस्या भोगिरहेका र नयाँ लुगा किन्ने क्षमता नभएका मानिसहरुबीच पुलको काम किन नगर्ने ? यही सोचले सुरु भयो, रिसाइकल लुगाको व्यवसाय ।
संसारका विभिन्न सहरमा पुराना लुगाहरु संकलन गरेर सस्तो मूल्यमा बेच्ने पसलहरु धेरै भेटिन्छन् । पेरिस र मिलानजस्ता युरोपका फेसन सहरदेखि सुरु भएको यस्तो अवधारणा अहिले नेपालमा पनि मौलाउँदो छ । केही व्यवसायीले काठमाडौंमै यस्ता पसलहरु सञ्चालन गरिरहेका छन् ।
अघिल्लो लकडाउनअघि काठमाडौंको अनामनगर, बानेश्वर र ललितपुरको जावलाखेल क्षेत्रमा केही फेसन डिजाइनरले पुराना लुगाको संकलन थालेका थिए । संकलित ती लुगालाई पुनः प्रयोगमा आउने किसिमले सफा र चिटिक्क तुल्याएर विक्री गर्ने आउटलेट पनि उनीहरुले खुलाए । अहिले काठमाडौंमा यस्ता आउटलेटको संख्या एक दर्जन पुगेको छ ।
सहर बजारका घरबाट संकलन गरिएका सेकेन्ड-ह्यान्ड लुगालाई पुनः लगाउन मिल्ने गरी धोएर र आइरन गरेर यस्ता आउटलेटमा लुगाहरु बेच्न राखिएको हुन्छ । बिपन्न ग्राहकले खरिद गर्न सक्ने गरी १० देखि ५०० रुपैयाँसम्म छानेर लुगाहरु यी आउटलेटमा किन्न पाइन्छ । प्रायः सुकुम्बासी बस्ती र निम्न वर्गका मानिस यस्ता पसलका ग्राहक हुने गरेका छन् । वातावरणीय, आर्थिकरुपमा मितव्ययी, सामाजिकजस्ता धेरै कोणबाट लुगाहरुको पुनःप्रयोग स्वागतयोग्य कुरा रहेको फेसन डिजाइनर बताउँछन् ।
फास्ट फेसनले बढायो चुनौति
बजार ट्रेन्डअनुसार अघि बढ्ने फेसनको प्रवृत्तिलाई आमरुपमा फास्ट फेसनको रुपमा बुझने गरिन्छ । तीव्ररुपमा बदलिने फास्ट फेसनले गर्दा कुनै एउटा स्टाइल लामो समय रहँदैन । जसले गर्दा एउटा ट्रेन्ड हेरेर किनिएको लुगा अर्को महीना पुरानो हुनसक्छ । फेसनअनुसार नयाँ नयाँ लुगा किन्दै जाँदा पुराना लुगा थुप्रिने समस्या बढी हुने गर्छ ।
नेपाली फेसन बजार फास्ट फेसनमा आधारित छ । नेपालको फास्ट फेसन हङकङ, चीन र थाइल्यान्डजस्ता बजारमा निर्भर छ । युरोपबाट एसियामा भित्रिएको फेसनको यो प्रवृत्तिले एकातर्फ आर्थिकरुपमा चुनौति सिर्जना गरेको छ भने अर्कोतर्फ वातावरणीयरुपमा । फेसन डिजाइनर यस्तो बेला फास्ट फेसनसँगै लुगाको पुनः प्रयोग हुनु वातावरणीयरुपमा महत्वपूर्ण हुने बताउँछन ।
थुप्रिएर बसेका लुगालाई पुनः प्रयोगमा ल्याउन खुलेका यस्ता पसलमा सर्वसाधारणले निकै कम मूल्यमा छानीछानी लुगा किन्ने गर्छन् । नेपालमा पनि सेकेन्ड ह्यान्ड कपडाको बिक्री-वितरण गरिदै आएको छ । यसरी लगाइने लुगाको फाइदा धेरै हुने जानकार बताउँछन् । उनीहरुको बुझाइमा पुराना कपडाको पुनःप्रयोग हुँदा खर्चमा पनि बचत हुन्छ र लुगाको मूल्य पनि सस्तो हुँदा विपन्न मानिसलाई फाइदा पुग्छ ।
साथै, सँधै पानीको अभाव हुने काठमाडौंजस्ता ठूला सहरमा लुगाको पुनःप्रयोगले पानीको बचत हुने र लुगा धुन प्रयोग हुने रसायनमा पनि कमी आउने उनीहरुको भनाई छ । यिनै कारणले गर्दा नेपालमा लुगाको पुनःप्रयोग गर्ने ट्रेन्डमा वृद्धि भएको देखिन्छ ।
जसले पहिलोपटक यस्तो अवधारणा ल्याए
लुगाको रिसाइकल अवधारणा ल्याएर पहिलोपटक नेपालमा थ्रीप्ट पसल संचालन गर्ने व्यक्ति हुन् चिजमान गुरुङ । चिजमान गुरुङले सन् २०१४ देखि काठमाडौंकाे सामाखुशीमा यस्तो आउलेट सञ्चालनमा ल्याएका थिए । उनले थन्किएर बसेका लुगाहरुलाई संकलन गरेर पुनः प्रयोगमा ल्याउने व्यवसाय संचालन गरेका थिए । सुरुमा लुगाहरु दान गर्न रुची राख्ने उनले लुगाहरु बेच्ने सोच बनाएर थ्रीप्ट पसल चलाउन थालेका हुन् ।
‘पुनः प्रयोगको फाइदा बुझेपछि मैले पसल नै संचालन गर्ने सोच बनाएको हुँ । अहिले राम्रैसँग चलिरहेको छ’ नेपाल प्रेससँग उनले भने । सुरुमा बसुन्धारा, बसपार्क, टुँडिखेल र महोत्सवमा गएर लुगा बेच्ने उनी अहिले सामाखुशिमा ‘सुखावती स्टोर’ संचालन गरिरहेका छन् । सुरुमा साथीहरुसँग लुगा संकलन गरेर व्यवसाय थालेका उनलाई अहिले लुगा डोनेसन गर्नेको घुइँचो छ । संकलन भएका लुगालाई धोएर तथा रिसाइकल गरेर पुनः प्रयोग गर्न मिल्ने रुपमा उनले पसलमा राखेका छन् ।
अहिले उनको व्यवसायलाई ९ जनाले सहयोग गरिरहेका छन् जसमा ६ जना महिलाहरु छन् । उनको एक सहयोगीले भनिन् ‘सुरुमा समाजसेवा गर्ने तरिकाले व्यापार गरेका थियौं । पैसा नपरेको सामानको महत्व हुँदैन भनेर सस्तोमा दिने भनेर पसल खोल्ने निर्णय भएको हो ।’ लुगा अभाव भएका निम्न वर्गको मानिसहरुलाई लक्षित गर्दै खोलिएको उक्त स्टोरमा अहिले १० रुपैयाँदेखि ५०० रुपैयाँसम्म लुगा किन्न पाइन्छ । ‘दैनिक श्रम गरेर खानेहरुले दिनहुँ लुगा फेर्न खोज्छन्, काठमाडौंमा पानीको अभाव भएकाले दिनहुँ कपडा फेरेर लगाउन खोज्नेहरुको लागि लक्षित गरेर खोलेका हौ’ उनले भनिन् ।
पसल सुरु गर्दा दैनिक ३०० देखि ५०० रुपैयाँ व्यापार गर्ने उक्त पसलले अहिले भने दैनिक पाँच हजारसम्मको व्यापार गर्छ । ‘एउटा कपडाको लाइफ साइकल बढ्नु भनेको वातावरणको लागि पनि धेरै राम्रो कुरा हो,’ उनी भन्छिन्, ‘सस्तोमा कपडा पाउनु भनेको पैसा बचत हुनु पनि हो ।’
यो संस्थाले संचालनमा आएको ६ वर्षमा ३० हजार टनभन्दा बढी लुगालाई पुनः प्रयोग गरेको छ । ‘यी सबै लुगा ल्यान्डफिलमा जाने थियो । कपडा कुहिने वस्तु नभएकाले वातावरण प्रदुषण त गथ्र्यो नै’ उनको कथन छ । उनीहरुले व्यापार मात्र गर्दैनन् । यहाँबाट संकलन भएको रकम गरिबलाई खुवाउने काम पनि गर्दै आएका छन् ।’
पसल सुरु गर्दा दैनिक ३०० देखि ५०० रुपैयाँ व्यापार गर्ने उक्त पसलले अहिले भने दैनिक पाँच हजारसम्मको व्यापार गर्छ । ‘एउटा कपडाको लाइफ साइकल बढ्नु भनेको वातावरणको लागि पनि धेरै राम्रो कुरा हो,’ उनी भन्छिन्, ‘सस्तोमा कपडा पाउनु भनेको पैसा बचत हुनु पनि हो ।’
दैनिक ज्यालादारीमा काम गर्ने र आर्थिक स्थिती कमजोर भएका ग्राहक पसलमा जान्छन् । ‘कपडा रियुज गर्दाको फाइदा बुझ्ने र पैसाको बचत गर्न चाहने ग्राहक आइरहेका छन्’ उनी भन्छिन्, ‘४/५ वर्ष अघि निम्न वर्गका मानिस मात्र आउने गर्दथे भने अहिले हुनेखाने युवा पनि आउने गर्छन् ।’
यति मात्र हैन, यो स्टोरले सातजनालाई रोजगारी दिएको छ । ‘यहाँ काम गर्नेहरु सीप पनि सिकिरहेका छन्,’ उनी भन्छिन् ।
अहिले सुखावती स्टोरले लुगाको विक्रीबाट हुने आम्दानीबाट निम्न वर्गाका २३ जना बालबालिकालाई तीन वर्षदेखि पढाइरहेको छ । २ जना बच्चालाई भुकम्पदेखि पढाउने र खुवाउने काम पनि स्टोरले गरिरहेको छ । साथै, विद्यालय र कलेजमा पुगेर गुरुङसहितका व्यवसायीले लुगाको पुनःप्रयोगबारे चेतना जगाउने काम पनि गरिरहेका छन् ।
दशैं आउन लाग्यो, थ्रीप्ट स्टोर जानूस
फेसन डिजाइनर अलिया गिरी
यस्तो शैली वातावरणदेखि लिएर सबै पक्षलाई राम्रो हो । नेपालमा अरुले लगाएको लुगा लगाउन मान्दैनन्, तर लुगा एकचोटी रिसाइकल गर्यो भने त्यो नयाँ नै हुन्छ । आफूले युज नगरेको लुगा अरुले नै प्रयोग गर्न पाउँछ ।
आर्थिक स्थिती न्यून भएकाले थ्रिप्ट स्टोरमा गएर किन्न सक्छन् । हामीले प्रयोग गर्न नमिल्ने कपडा भयो भने त्यसलाई रिसाइकल गरेर व्यागहरु बनाउन विभिन्न काममा प्रयोग गर्न सकिन्छ । नेपालमा मात्र होइन यो फास्ट फेसनको ट्रेन्ड जुन चलिरा’को छ, त्यो एकदम राम्रो हो । फास्ट फेसनले थ्रिप्ट स्टोरहरु खुल्ने क्रम बढिरहेको छ । लुगा अभाव हुनेलाई एकदमै राम्रो हुन्छ ।
हामीले प्रयोग गरेका कपडा ल्याण्डफिल हुन धेरै समय लाग्छ । यसले वातावरणमा असर गर्दछ । फेसन ट्रेन्ड भन्ने कुरा एक ठाउँमा सीमित हुँदैन । जमानामा चलेका फेसन अहिले नेपालमा फास्ट फेसनले ट्रेन्ड भइरहेको छ । फास्ट फेसनले धेरै छिटो डिजाइन चेन्ज गर्छ त्यसले गर्दा थ्रिप्ट स्टोर एकदमै प्रभावकारी हुन्छ ।
यस्तो लुगाहरु सबैले किन्न सक्छन् । हामीले लुगा धुन धेरै पानी र केमिकल खर्च हुन्छ । बिजुली खर्च हुन्छ । त्यसको लागि पनि फाइदा हुन्छ । ल्याण्डफिलमा कपडाहरु धेरै गैरहेको हुन्छ । हामीले लुगा फाल्नै पर्यो भने कहीँ न कहीँ फाल्नैपर्ने हुन्छ । थ्रिप्ट स्टोर भन्ने बित्तिकै पुराना लुगा मात्र पाइने होइन, कतिपय ब्रान्डेड लुगाहरु पनि पाइन्छ ।
आर्थिकरुपमा हेर्दा मैले कुनै एउटा लुगा २ हजार रुपैयाँमा किनेँ भने थ्रीप्ट स्टोरमा त्यति मूल्य पर्दैन । बजारमा नभेटिएका कुरा थ्रीप्ट स्टोरमा भेटिन्छन् । चाडबाड आउन लागेको छ । सस्तोमा लुगा किन्नुपरेको छ भने थ्रिप्ट स्टोरमा जाँदा राम्रो हुन्छ । आर्थिक अवस्था कमजोर भएका मानिसहरुको लागि यो सर्वोत्तम विकल्प हो ।