कांग्रेसका संस्थापक सभापति देवीप्रसाद, जसको सर्वस्व आजसम्म फिर्ता भएन – Nepal Press

कांग्रेसका संस्थापक सभापति देवीप्रसाद, जसको सर्वस्व आजसम्म फिर्ता भएन

प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे भनेपनि नेपालमा ‘डेमोक्रेसी’ को बिउ रोप्ने सुब्बा देवीप्रसाद सापकोटा प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस र गणतन्त्र दिवसमा सम्झिने मान्छेमा परेनन् । अचम्म लाग्छ, कति चाँडै नेपालीहरुले बिर्सिएछन् उनलाई !

देवीप्रसाद सापकोटा बहुआयामिक व्यक्तित्वका धनी थिए । उनको व्यक्तित्वका चार पक्ष थिए– राष्ट्रवादी चिन्तक, राजनीतिज्ञ, पत्रकार र कवि । तिब्बतमाथि हमला गर्ने कार्यमा ब्रिटिस सेनालाई नेपालले सहयोग गर्न हुँदैन भन्ने अडानले उनलाई राष्ट्रवादी चिन्तक देखायो ।

उनी नेपाली कांग्रेसका आद्यसंस्थापक र नेपालमा निरङ्कुश शासनको अन्त्य गर्न काठमाडौं उपत्यकाभन्दा बाहिरबाट राजनीतिक संगठन खोल्ने प्रथम नेपाली थिए । नेपालमा लोकतन्त्रको स्थापनाका लागि जनचेतना जगाउन नेपाली भाषामा ‘गोरखाली’ साप्ताहिक पत्रिकाको सम्पादन–प्रकाशन गर्ने पहिलो नेपाली पनि उनी नै थिए । ‘सावित्री चरित्र’ लघुकाव्य लेखी १९७० सालमा प्रकाशन गराएर उनले नेपाली भाषा साहित्यलाई पनि गुन लगाएका थिए ।

देवीप्रसादका पिता काभ्रे जिल्लाका श्यामलाल शर्मा भोटसंग नेपालको युद्ध हुँदा भोटका विरुद्ध नेपाली सैनिकका रुपमा लडेका थिए । सैनिक जीवनबाट अवकाश पाएपछि उनी भारतको बिहार पूर्णियाकी मैथिल ब्राह्मण कन्यासंग विवाह गरी उतै बसोबास गर्न थाले । उनी पूर्णियामा नै बसोबास गरिरहेको अवस्थामा १९२५ सालमा देवीप्रसादको जन्म भएको थियो ।

देवीप्रसादको प्रारम्भिक शिक्षा पूर्णियाकै विद्यालयमा भएको थियो । उनले पूर्णियामै कक्षा १० को अध्ययन गरिरहेको अवस्थामा उनका पिताको मृत्यु भयो । त्यसपछि परिवार चलाउन उनी लकडीको व्यापारतर्फ आकर्षित भए । तर एक दिन नेपालबाट भारत निकासी हुन लागेका लकडीहरु सरकारी इजाजतविनाका हुन् भनेर उनलाई पक्राउ गरी थुनामा राखियो ।

उनको चलाखी, सुन्दर अक्षर र पढाइबारे थाहा पाएर बडाहाकिमकहाँ खबर पुर्याइयो । बडाहाकिमले उनलाई सरकारका लागि र आफ्नै लागि पनि काम लाग्ने ठानेर पियनसरहको लेखनदास सिपाही पदमा जागिर दिए । त्यसपछि उनी जागिरेको रुपमा मोरङको सदरमुकाम रंगेलीमा बसोबास गर्न थाले । उनको गुणको बयान फैलिँदै गएपछि परराष्ट्र मन्त्रालयका रुपमा काम गर्ने मुन्सीखाना अड्डामा उनलाई सरुवा गरी काठमाडौं झिकाइयो र उनी रंगेलीबाट काठमाडौं पुगे ।

काठमाडौंमा जागिर खाँदा देवीप्रसादले निकै सम्पत्ति जोडेका थिए । काठमाडौं ठमेलमा उनको पक्की घर थियो भने नरदेवीलगायतका विभिन्न स्थानहरुमा उनले घडेरीहरु जोडेका थिए । मोरङ, काभ्रे, नुवाकोट, रामेछाप र सिन्धुलीमा पनि उनका खेतीयोग्य जग्गाहरु थिए ।

काठमाडौंको मुन्सीखानामा काम गर्दा देवीप्रसादको पदोन्नति हुँदै गयो । उनको कामबाट चन्द्रशमशेर खुसी भई उनलाई सुब्बा पदमा पदोन्नति गरियो । मुन्सीखानामा काम गर्दा छिमेकी राष्ट्र तथा अरु राष्ट्रहरुसंग सन्धि–सम्झौता गर्ने क्रममा उनले मुख्य भूमिका निर्वाह गरेका थिए । १९५६ सालतिर उनलाई बडाहाकिममा पदोन्नति गरी पुनः मोरङको रंगेलीमा पठाइयो ।

काठमाडौंमा जागिर खाँदा देवीप्रसादले निकै सम्पत्ति जोडेका थिए । काठमाडौं ठमेलमा उनको पक्की घर थियो भने नरदेवीलगायतका विभिन्न स्थानहरुमा उनले घडेरीहरु जोडेका थिए । मोरङ, काभ्रे, नुवाकोट, रामेछाप र सिन्धुलीमा पनि उनका खेतीयोग्य जग्गाहरु थिए ।

देवीप्रसाद मुन्सीखानामा कार्यरत रहँदा नेपालस्थित ब्रिटिस सरकारको योङ हजबेन्ड मिसनले भोटसंग युद्ध गर्न नेपालको बाटो तथा सैनिक सहायता माग गर्यो । देवीप्रसादले ‘नेपाल र भोटको पुरानो सन्धिका कारणले गर्दा भोटसँग युद्ध गर्न नेपालको बाटो र सैनिक सहायता गर्नु हुँदैन, सन्धिले निषेध गर्छ, नेपालका लागि ब्रिटेन र भोट दुवै समान छिमेकी मुलुक हुन्, दुवैसँग नेपालको समान मित्रवत व्यवहार हुनुपर्छ , एकतर्फी रुपमा मात्र अङ्ग्रेजलाई सहयोग गर्नु हुँदैन’ भन्ने विचार प्रकट गरे । त्यसबाट चन्द्रशमशेर रिसाए । किनभने ब्रिटिस सरकारलाई खुसी पारी आफ्नो शासन–व्यवस्था लामो पार्न चन्द्रशमशेरले योङ हज्बेन्ड मिसनलाई समर्थन गरेका थिए ।

त्यसैले चन्द्रशमशेरले उनलाई अङग्रेजले भनेअनुसार काम गर्न दबाब दिए । दबाबमा काम गर्न उनलाई मन परेन र घरायसी काम देखाई बिदामा बसे । पछि चन्द्रशमशेरलाई भेट्न खोज्दा ज्यादै रिसाएका छन् भन्ने थाहा पाएपछि आफ्नो जीउज्यान जोगाउन उनी गोप्य रुपले छिमेकी राष्ट्र भारतको बनारसतिर पलायन भए र उनले राणाशासनका विरुद्ध अभियान चलाउने संकल्प गरे ।

इतिहासअनुसार ‘कर्नल फ्रान्सिस योङ हज्बेन्डको नेतृत्वमा एउटा ब्रिटिस टोली व्यापारसन्धिको प्रस्ताव लिएर ल्हासा जान ग्याङटोक पुगिसकेको थिए । तर पोटाला दरबारले त्यसलाई ल्हासा प्रवेशको अनुमति दिएन । यसबाट ब्रिटिस र तिब्बतका बीच युद्धको सम्भावना बढ्दै गयो ।

त्यसमा चन्द्रशमशेर निःसंकोच ब्रिटिसलाई सहयोग गर्न तयार थिए । उनले आवश्यक जनशक्ति र उच्च पहाडी शिखरमा सामान ढुवानी गर्न चार हजारजति याकसहितको एउटा टोलीलाई पूर्वी नेपालबाट योङ हज्बेन्डको क्याम्पमा पठाउन लागे ।’ तर देवीप्रसाद सापकोटाले असहमति प्रकट गर्दै थापाथली सन्धिअनुसार नेपालले तिब्बतविरुद्ध ब्रिटिसलाई सहयोग गर्न मिल्दैन भन्ने धारणा राखेपछि चन्द्रशमशेर उनलाई कडा कारवाही गर्ने स्थितिमा पुगेको थाहा पाएर १९६१ देखि उनी निर्वासित भएर बनारस गएका थिए ।

त्यस बेला बनारस राजनीतिक, शैक्षिक, व्यापारित र धार्मिक रुपमा नेपालीहरुका लागि परिचित थियो । त्यसैले निर्वाचित जस्वन बिताउँदै राणाविरोधी अभियान सञ्चालन गर्न देवीप्रसादले बनारसलाई रोजेका थिए । त्यसपछि चन्द्रशमशेरले उनलाई राज्यविरुद्धको अभियोग लगाई सर्वस्वहरण गरे ।

उनले छोरीलाई दाइजोका रुपमा दिएको काठमाडौंको खेती र घडेरीका साथै घरपट्टीको सम्पत्तिसमेत हरण गरिएको थियो । हरण भएका सम्पत्तिहरु चन्द्रशमशेरले उनैका सरदार र मीरसुब्बालाई बसक दिए । देवीप्रसाद निर्वासित भएको केही समयपछि उनकी श्रीमती पनि काठमाडौंबाट भागिन् ।

त्यस बेला केही सुनचाँदी, गहना र रुपियाँ–पैसाहरु लुकाएर लगिन् । त्यही रुपियाँ–पैसाबाट र गरगहना बेचेर केही दिनसम्म उनले राणाशासनविरुद्ध अभियान सञ्चालन गर्न बनारसमै छापाखाना खोली ‘गोरखाली’ पत्रिकाको प्रकाशन गरे । ‘गोरखाली पत्रिकासँग सूर्यविक्रम ज्ञवाली र धरणीधर कोइराला पनि सम्बन्धित थिए ।

उनले छोरीलाई दाइजोका रुपमा दिएको काठमाडौंको खेती र घडेरीका साथै घरपट्टीको सम्पत्तिसमेत हरण गरिएको थियो । हरण भएका सम्पत्तिहरु चन्द्रशमशेरले उनैका सरदार र मीरसुब्बालाई बसक दिए । देवीप्रसाद निर्वासित भएको केही समयपछि उनकी श्रीमती पनि काठमाडौंबाट भागिन् ।

त्यस पत्रिकाको प्रकाशन ठूलो र महत्वपूर्ण कार्य थियो । त्यसले भारतमा छरिएर बसेका नेपाली युवाहरुलाई ठूलो प्रेरणा दिएकाले त्यो पत्रिका उनीहरुको मुखपत्र नै भयो । त्यसै पत्रिकाका कारणले त्यहाँ सशक्त युवा समाज बन्यो र नेपालमा सामाजिक सुधार र प्रजातान्त्रिक व्यवस्थाको स्थापना गर्न सक्रिय बन्यो । त्यस समाजको नेतृत्व देवीप्रसादले दिएका थिए । अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको जग त्यही थियो ।

देवीप्रसाद कवि पनि थिए । उनले धेरै फुटकर कविता लेखेका थिए । उनले बनारसमा हुँदा १९७० सालमा ‘सावित्री चरित्र’ लघुकाव्य छपाएका थिए । त्यो काव्य हरि मञ्जुश्रीको सम्पादनमा १ सय १ वर्षपछि शब्दयात्रा प्रकाशनबाट पुनः छानिएको छ । उनी कविताका माध्यमबाट राणाशासनको विरोध गर्न र नेपालमा पुनर्जागरण ल्याउन बनारसबाट निस्कने पत्रपत्रिकामा फुटकर कविता प्रकाशन गराइरहन्थे ।

बनारसमा बस्दा देवीप्रसादको भेट कृष्णप्रसाद कोइरालासँग भयो । उनी पनि निर्वासित जीवन बिताउन बनारस पुगेका थिए । केही दिनसम्म देवीप्रसादले आफ्नै डेराको छेउमा राखी उनलाई सहयोग गरे । उनी राणाहरु नहटाई नेपाल छिर्दिनँ भनी बनारसमै बसे र राणविरोधी अभियानमा लागिरहे । २००७ सालमा क्रान्तिले जहानियाँ शासनको अन्त्य गरेपछि मात्र उनी नेपाल छिरे ।

चार वर्षसम्म प्रकाशनमा रहेको देवीप्रसादको ‘गोरखाली’ पत्रिकामाथि अङ्ग्रेज सरकारले चन्द्रशमशेरको अनुरोधमा प्रतिबन्ध लगायो र प्रेस जफत गर्यो ।

त्यसपछि २००३ साल कार्तिक १५ गते मंगलबार नेपाली छात्रसंघको प्रयास र देवीप्रसाद सापकोटाको सक्रियतामा बनारसको दूधविनायकमा ‘अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस’ नामक राजनीतिक दलको जन्म भयो ।  त्यसका सभापति देवीप्रसाद बने, उपसभापति बालचन्द्र शर्मा, महामन्त्री कृष्णप्रसाद भट्टराई र प्रचारमन्त्री गोपलाप्रसाद भट्टराई थिए । कार्यसमितिका सदस्यहरुमा बटुकप्रसाद भट्टराई, नरेन्द्र रेग्मी र देवीप्रसादका छोराहरु लक्ष्मीप्रसाद सापकोटा र दीनानाथ सापकोटा रहे भने कार्यालय सचिव ईश्वर बराल बने । त्यो दल नेपाली राष्ट्रिय कांग्रेसको प्रारुप थियो । पछि मात्र नेपाली राष्ट्रिय कांग्रेसको गठन भयो ।

नेपाली राष्ट्रिय कांग्रेसको प्रथम अधिवेशन भारतको कलकत्तामा बोलाउने निर्णय भयो । भावनीपुरस्थित खाल्सा स्कुलमा अधिवेशन भयो । देवीप्रसादकै चिन्तनअनुसार निर्मित सेतो, हरियो र पहेँलो रङको सम्मिश्रणमा बायाँ भागमा रातो रङमा उदाइरहेको सूर्य अंकित झण्डा नै पार्टीको झण्डा स्वीकार गरियो ।

अधिवेशनपछि कार्यसमितिको पहिलो बैठक बसी अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस र कलकत्ताको गोर्खा कांग्रेस नेपाली राष्ट्रिय कांग्रेसमा मिल्ने निर्णय भयो । त्यपछि बनारस शाखाको सभापतिमा देवीप्रसादलाई र कलकत्ता शाखाको सभापतिमा डीएन प्रधानलाई चयन गरी पार्टीका दुई वटा शाखाहरु खोल्ने निर्णय गरियो ।

नेपाली राष्ट्रिय कांग्रेसको उद्देश्य, नीति तथा कार्यक्रमलाई भारतमा बसोबास गर्नेहरु र त्यहाँ अध्ययन गर्ने नेपाली विद्यार्थीहरुलाई अवगत गराउन बनारसको ब्रह्मघाटमा २००३ साल फागुन ३ गते शुक्रबार वृहत् आमसभाको आयोजना गरियो ।

बनारसमा बस्दा देवीप्रसादको भेट कृष्णप्रसाद कोइरालासँग भयो । उनी पनि निर्वासित जीवन बिताउन बनारस पुगेका थिए । केही दिनसम्म देवीप्रसादले आफ्नै डेराको छेउमा राखी उनलाई सहयोग गरे । उनी राणाहरु नहटाई नेपाल छिर्दिनँ भनी बनारसमै बसे र राणविरोधी अभियानमा लागिरहे । २००७ सालमा क्रान्तिले जहानियाँ शासनको अन्त्य गरेपछि मात्र उनी नेपाल छिरे ।

देवीप्रसादकै अध्यक्षतामा सम्पन्न भएको उक्त आमसभामा वीपी कोइराला, डिल्लीरमण रेग्मी, बालचन्द्र शर्मा, कृष्णप्रसाद भट्टराई, ईश्वर बराल र डीएन प्रधानले सम्बोधन गरेका थिए । नेपाली राष्ट्रिय कांग्रेस फुटी कोइराला समूह र रेग्मी समूह हुँदा देवीप्रसादले दुवै समूहका नेताहरुलाई मिलाउने प्रयास गरेका थिए ।

देवीप्रसाद २००८–९ सालतिर ८४–८५ वर्षका बूढा, दुब्ला, कमजोर, अस्वस्थ भएका थिए । २००८ मंसिर १ गते मातृकाप्रसाद कोइरालाको प्रधानमन्त्रित्वमा मन्त्रिमण्डल गठन भएपछि उनले आफ्नो सर्वस्वहरण भएको सम्पत्ति पाउन निकै दौडधुप गरे ।

महिनौंसम्म काठमाडौंको जैसीदेवलस्थित छोरीको घरमा बसी सर्वस्वहरण भएको सम्पत्ति फिर्ता पाउन बिन्ती गरे र राजाबाट फिर्ता पाउने वा उचित मुआब्जा दिलाइदिने आश्वासन पनि पाए । प्रधानमन्त्री, मन्त्रीहरु र कांग्रेसका नेताहरुसँग सम्पर्क गरी सहयोगका लागि अनुरोध गरे । तर कसैले उनलाई सहयोग गरेनन् । पछि राजा त्रिभुवनको मृत्यु भयो ।

नेपाली कांग्रेसभित्र मातृका र वीपीमा कलह उत्पन्न भयो । पार्टी फुट्यो । सैबजना सत्तास्वार्थमा लागे । उनलाई सबैले आश्वासन दिए, तर कसैले पनि उनको कामलाई गम्भीरतापूर्वक लिएनन् । कसैले सहयोग नगरेपछि उनले सर्वोच्च अदालतमा अपहरित सम्पत्ति फिर्ता पाउन मुद्दा दर्ता गरे । त्यसको केही महिनापछि २०११ सालमा उनको स्वर्गारोहण भयो । मुद्दा मुल्तबमिा रह्यो । हालसम्म पनि उनको मुद्दा थन्किएको छँदैछ ।

नेपाली समाजको रुपान्तरणमा देवीप्रसाद सापकोटाले पुर्याएको योगदान अत्यन्त महत्वपूर्ण छ । यस्ता प्रजातन्त्रसेनानी र इतिहास पुरुषको योगदानको कदर गर्न लोकतन्त्रवादीहरुले अहम् भूमिका खेल्नुपर्ने कुरामा कसैमा पनि द्विविधा हुन सक्तैन ।

(शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीद्वारा प्रस्तुत जीवनी तरुण प्रकाशन प्रा.लि.द्वारा प्रकाशित ‘नेपाली काँग्रेस महाधिवेशन विशेष’ पुस्तकबाट साभार गरिएको हो । )


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर