परराष्ट्रमन्त्रीमा खड्का- आजै शपथ, आजै पदभार ग्रहण, आजै अमेरिका प्रस्थान – Nepal Press

परराष्ट्रमन्त्रीमा खड्का- आजै शपथ, आजै पदभार ग्रहण, आजै अमेरिका प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.नारायण खड्काले आजै परराष्ट्रमन्त्रीको शपथ लिएर आजै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गर्ने भएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै खड्का आज बेलुकी साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट न्यूयोर्क प्रस्थान गर्नेछन् ।

सत्तारुढ गठबन्धनको हिजोको बैठकमा परराष्ट्रमन्त्री कांग्रेसले लिने सहमति भएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रको जिम्मेवारी खड्कालाई दिने बताएका थिए ।

शपथका लागि खड्कालाई तयार अवस्थामा रहन प्रधानमन्त्रीको सचिवालयले भनिसकेको छ । ‘आज ११–१२ बजेतिर शपथ हुन्छ । आजै पदभार सम्हाल्नुहुन्छ र आजै राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जानुहुन्छ’, खड्काका राजनीतिक सहयोगीले नेपाल प्रेससँग भने ।

उदयपूर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य खड्का यसअघि सुशील कोइराला नेतृत्वको सरकारमा सहरी विकास मन्त्री थिए । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार रहेका खड्का योजना आयोगको पूर्व उपाध्यक्षसमेत हुन् ।

हाल उनी कांग्रेसको विदेश विभाग प्रमुखसमेत रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर