बुटवलका मेयरमाथि हातपात गरेका पंगेनीविरुद्ध सार्वजनिक अपराधको मुद्दा – Nepal Press

बुटवलका मेयरमाथि हातपात गरेका पंगेनीविरुद्ध सार्वजनिक अपराधको मुद्दा

रुपन्देही । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि आक्रमण गर्ने बुटवल ३ का युवा गणेश पंगेनीविरुद्ध रुपन्देही प्रहरीले सार्वजनिक अपराधको मुद्दा चलाएको छ ।

प्रमुख सुवेदीमाथि हातपात गर्ने प्रगेनीलाई आज सार्वजनिक अपराधको मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरीले जनाएको छ । सुवेदीले उनलाई कुनै कारबाही अगाडि नबढाउन सार्वजनिक अपील गरेका थिए ।

सोमबार बिहान बुटवल–३ ज्योतिनगरको पहिरो अवलोकन गर्ने क्रममा उपमहानगर प्रमुख सुवेदीलाई पंगेनीले एक्कासी आक्रमण प्रयास गरेका थिए । घटनाको चौतर्फी विरोध भएपछि प्रहरीले पंगेनीलाई पक्राउ गरेको थियो । उनलाई थप अनुसन्धानका लागि मंगलबार ५ दिनको म्याद थप गरिएको बुटवल इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक मनोज कुँवरले जानकारी दिए ।

उपमहानगरका प्रमुख सुवेदीले आफूमाथि आक्रमण गर्ने युवालाई कुनै पनि मुद्दा नचलाउन र हिरासतमा नराख्नका लागि प्रहरीलाई आग्रह गरेपनि प्हरीले स्थलगत मुचुल्का र प्रतिवेदनका आधारमा मुद्दा चलाएको डीएसपी कुँवरले बताए ।

उपमहानगर प्रमुख सुबेदीले बाढी तथा पहिरो पीडितहरुको आक्रोशलाई स्वभाविक भएको बताउँदै आफ्नो कसैप्रति आग्रह–पूर्वाग्रह नरहेको उल्लेख गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर