आगलागीबाट बन्द भएको नेबिको बिस्कुटले पुन: थाल्यो उत्पादन
काठमाडौं । नेबिको बिस्कुट आजबाट पुनः सञ्चालनमा आएको छ । १ महिना १४ दिनपछि उद्योगले आफ्नो उत्पादन पुनः सुरु गरेको हो ।
बालाजुमा रहेको नेबिको बिस्कुट उद्योग डेढ महिनाअघि आगलागीबाट बन्द भएको थियो । बिस्कुटको प्लान्ट पुनर्निर्माण गरी उद्योग पुनः सञ्चालनमा आएको हो ।
उद्योगले छोटो अवधिमै उद्योगको भवन संरचना पुनःनिर्माण र मेसिनरी मर्मत सम्पन्न गरेर पुनः उत्पादन सुरु गरेको हो । नेबिको बिस्कुटका प्रमुख कार्यकारी अधिकृत केशव भट्टराईले आजदेखि उद्योगले उत्पादन सुरु गरेको बताए ।
भट्टराईले भने, ‘पहिले दईवटा प्लान्ट सञ्चालनमा थियो । अहिले विद्युतीय र डिजेल प्लान्ट मध्ये डिजेल प्लान्ट मात्रै सञ्चालनमा आएको छ । आगलागीभन्दा पहिले उद्योगबाट दैनिक २० टनभन्दा बढी उत्पानदन गरेको थियो । आजबाट भने दैनिक १५ टनको हाराहारीमा उत्पादन सुरु भएको छ ।’
उद्योगमा आगलागी हुँदा १५ करोडको क्षति विवरण आएको छ । भने, भवनको क्षती विवारण आउन बाँकी रहेको उद्योगले बताएको छ । आगलागी हुँदा उद्योगको भवनमा करिब ७० प्रतिशतसम्म क्षती भएको थियो ।
नेबिकोको बालाजु प्लान्ट आगलागी भए पनि भैरहवास्थित प्लान्टबाट उत्पादन भइरहेको थियो । अब हेटौंडा र दाङबाट पनि नेबिको बिस्कुट उत्पादन केही महिनापछिबाट सुरु हुने छ ।