मेगा बैंक र भोजपुर नगरपालिकाबीच किसान र व्यवसायीलाई सहुलियत कर्जा दिने सम्झौता – Nepal Press

मेगा बैंक र भोजपुर नगरपालिकाबीच किसान र व्यवसायीलाई सहुलियत कर्जा दिने सम्झौता

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले साना कृषक तथा उद्यमीहरुको कृषि तथा उद्यम व्यवसायलाई प्रबद्र्धन गर्ने उद्देश्यले भोजपुर नगरपालिकासँग सम्झौता गरेको छ ।

सम्झौता पत्रमा मेगा बैंकका माइक्रो फाइनान्सिङ्ग विभागका प्रमुख पुण्यप्रसाद खनियाँ र भोजपुर नगरपालिका मेयर कैलाश आलेले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा बोल्दै बैंकका विभागीय प्रमुख खनियाँले कृषकहरुलाई आधुनिक ढंगले कृषि कार्यलाई व्यवसायीकरण गर्न बैंकको शाखा कार्यालय मार्फत छिटो छरितो ढंगले प्राथमिकताका साथ कर्जा दिने प्रतिबद्धता ब्यक्त गरे ।

भोजपुर नगरपालिकाका मेयर आलेले मेगा बैंकसँगको सम्झौतापश्चात नगरपालिकाभित्र रहेका साना किसान तथा उद्यम व्यवसायीहरुले सहुलियत ब्याजदरमा कर्जा लिई आफ्ना व्यवसायलाई बृद्धि गरी उत्पादकत्व बढाउन सहयोग पुग्ने बताए ।

भोजपुर नगरपालिकासँगको सम्झौतापश्चात मेगा बैंकले नगरपालिकाका किसानहरुलाई कृषि उत्पादनमा आवश्यक कर्जा लगानी गर्नको लागि नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण व्यवसायिक कृषि तथा पशुपालन कर्जा प्रदान गर्नेछ । साथै, बैंकले उक्त कृषकहरुलाई मेगा किसान कार्ड समेत उपलब्ध गराउने बैंकले जनाएको छ ।

उक्त कार्डमार्फत कृषकहरुले आफुलाई आवश्यक परेको कृषि सामग्रीहरु, बीऊ, मल, किटनाशक औषधी लगायतका सामानहरु नजिकको पसलबाट खरिद गर्न सक्नेछन् ।

मेगा किसान कार्ड मेगा बैंकले कृषकहरुलाई जारी गरेको पहिलो आधुनिक बैंकिङ्ग सेवा हो । यसले किसानहरुलाई कृषि कर्जाको सदुपयोग गर्दै बैंकिङ कारोबार सहज र सरल तरिकाले गर्न सहयोग पुर्याउने बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर