शेखरको आरोप- पार्टी कब्जा गर्न देउवाले गुण्डागर्दी शैली अपनाए
काठमाडौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाले पार्टी कब्जा गर्न ‘गुण्डागर्दी’ शैली अपनाएको आरोप लगाएका छन् ।
सर्लाहीको क्रियाशील विवादबारे धर्नामा रहेका कार्यकर्तामाथि प्रदेश २ का युवा मन्त्री सुरेन्द्र सिंहले ‘हातपात’ गरेको भन्दै कांग्रेस कार्यालयमा गरिएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेता कोइरालाले अहिलेजस्तो अराजकता कांग्रेसको ७५ वर्षको इतिहासमा कहिल्यै नभएको बताए ।
‘पार्टी कब्जा गर्न सभापतिजीले बल प्रयोग गर्नुभएको छ । डडेल्धुरामा प्रहरी प्रशासन लगाएर अधिवेशन गरिएको छ । यहाँ धर्नामा बसेका कार्यकर्तामाथि हातपात भएको छ । यस्तो गुण्डागर्दी कांग्रेसमा आजसम्म चलेको थिएन’, कोइरालाले भने ।
उनले क्रियाशील सदस्यतामा संस्थापन पक्षले मनोमानी गरेको भन्दै आफ्नै पार्टी कार्यालयमा धर्ना बस्नुपर्ने अवस्था दुःखद रहेको बताए ।