दिगो विकास लक्ष्य प्राप्तिमा अग्रसर भक्तपुरका नगरपालिका – Nepal Press

दिगो विकास लक्ष्य प्राप्तिमा अग्रसर भक्तपुरका नगरपालिका

तीन सय युवा दिगो पर्यटन परियोजनामा सहभागी

भक्तपुर । कोभिड १९ महामारी सुरु भएसंगै नियन्त्रण, रोकथाम तथा उपचारका लागि संघ तथा स्थानीय सरकारहरुले गरेको बन्दाबन्दीका कारण भक्तपुरका अधिकांश होटलहरुमा ताला लागेको डेढ बर्ष पुगिसक्यो ।

होटल सञ्चालक साना हस्तकलाका सामान उत्पादन गर्ने, किसान, सडक छेउमा नाङ्लो पसल राख्ने र चटपटे बेच्नेदेखि दैनिक ज्याला मजदुरी गर्नेहरुलाई पनि यसको ठूलो असर पर्यो ।

बास्तोला गाउँमा होम स्टे संचालन गर्दै आएका राजकुमार लामिछानेको व्यापार व्यवसाय पनि नराम्रोसँग प्रभावित भयो ।

आफ्नै घर छेउको बारीका पाटामा तरकारी उब्जाएर गाउँमा संचालित होमस्टेमा प्रयोग गर्दै गाउँलेको जिवनस्तर उकासिएको थियो । तर कोभिड १९ महामारीले निम्त्याएको जटिलतासंगै उनको आम्दानी बाटो पनि बन्द भयो ।

भक्तपुरमा मात्रै लामिछानेले भोगेको जस्तै समस्या भोग्ने सयौं व्यवसायी छन् । कसरी दुई छाक कसरी टार्ने भन्ने नै उनीहरुको आजको आवश्यकता अनि समस्या बनेको छ । समस्यामा परेकालाई एक दुई छाकको जोहो गरिदिनुभन्दा पनि दीगो पर्यटनको विकास गर्नेबारे स्थायी व्यवस्था गर्नुपर्ने विचार लामिछानेको छ ।

व्यवसाय ठप्प भएसंगै वैैकल्पिक काम नभेटिएपछि लामिछाने जस्तै सयौ व्यवसायीलाई दैनिक गुजारा चलाउन मुस्किल परेको छ ।

‘आज राम्रो होला भन्यो, हुँदैन, भोलि त होला नि भन्यो, भएन, कोरोना बढेको बढ्यै छ,’ लामिछानेले दुख पोखे ।

व्यवसाय नतंग्रिए पनि आफू तंग्रिन खोजिरहेका लामिछाने जस्तै ३०० युवा चाँगुनारायण नगरपालिका र जिविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजनामा सहभागी भएका छन् ।

यस्तै, सूर्यविनायक नगरपालिकाले दीगो पर्यटन विकासको अवधारणाअनुसार मुहान पोखरीदेखि नगरकोटसम्म प्राकृतिक पदमार्ग निर्माण थालनी गरेको छ ।

कृषिलाई पर्यटनसँग जोड्दै नगरमा भएका धार्मिक स्थलहरुको प्रचारप्रसार एंव पदमार्ग सहितको सर्किट नै विकास गर्ने लक्ष्यसहित काम सुरु भएको नगरपालिकाकाले जनाएको छ ।

सूर्यविनायक नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष किरण थापाले दिगो पर्यटन विकासका लागि १४ भन्दा बढी शिवालयलाई जोड्ने एउटै सर्किट मार्ग निर्माण गर्न लागिएको बताए । उनले भने ‘सूर्यविनायक नगरपालिकामा १४ भन्दा बढी शिवालय रहेका छन्, ती शिवालय एकै लाइनमा ल्याउन नगरपालिकाले शिव सर्कीटको विकास गर्न लागेको हो । त्यसमा विभिन्न पूर्वाधार निर्माणसहित पर्यटन प्रवद्र्धनका विविध पक्ष समावेश गरिनेछ । ’

शिव सर्किट निर्माण भएपछि रोजगारी सिर्जना हुने र स्थानीय उत्पादनले पनि स्वतः बजार पाउने भएकाले साना किसान साना लगानीकर्ताहरु लाभान्वित हुने विश्वास नगरपालिकाले लिएको छ ।

चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले नगरपालिकाले १ वर्षमा ३ सय युवालाई उद्यमी बनाउने लक्ष्यका साथ मेयर उद्यमशीलता कार्यक्रम लागू गरिएको जानकारी दिए ।

जीविकोपार्जनमा कठिनाइ भएपछि मुलुकको युवा जनशक्ति विदेशिनुभन्दा देशमै बसेर उद्यमशीलता विकास गरुन् भन्ने उद्देश्यले नगरपालिकाले विनाधितो ३ लाख रुपैयाँसम्म उद्यमीकर्जा उपलब्ध गराएको छ । यस काममा नगरपालिकाले नेपाल बैंकसँग सहकार्य गरेको छ ।

ती उद्यमी युवाका उत्पादनको बजारीकरणको नेतृत्व पनि नगरपालिकाले नै लिने भएको छ ।

‘मेड इन चाँगु ब्राण्ड’को नाममा यहाँका उत्पादन विदेशसम्म बिक्रीको व्यवस्था मिलाउने कार्यमा पनि नगरपालिकाकाले सहजीकरणको भूमिका खेलेको मेयर मिश्रले बताए ।

मिश्रले दीगो विकास लक्ष्य प्राप्तीका लागि राजधानीका ठूला होटलमा सभा सम्मेलन भएपनि सरकारले अहिलेसम्म दीगो पर्यटन विकासका लागि भक्तपुरमा कुनै पनि किसिमको लगानी नगरेको गुनासो गरे ।

भक्तपुर नगरमा ऐतिहासिक र प्राकृतिक सम्पदा अवलोकन गर्ने एकदिने बसाइका पर्यटक मात्र आउने गरेकाले पर्यटकलाई लामो बसाइ गराउने, विदेशी सँगसँगै स्वदेशी पर्यटकका लागि आकर्षण विस्तार गर्ने किसिमका दीगो पर्यटन विकासका योजना बनाउनुपर्ने तर्क उनले गरे ।

दिगो विकासका लक्ष्य प्राप्ति गर्ने हो भने भक्तपुरको पर्यटन विस्तार मुख्य आधार हो । दिगो पर्यटन विस्तारसंग श्रम, रोजगारी आयआर्जन सबै विषय जोडिएर आउने हुँदा त्यसले दिगो विकासका विभिन्न लक्ष्यहरु पूरा गर्न सार्थक भूमिका निर्वाह गर्न सक्छ । गरिबी निवारण, रोजगारी वृद्धिसंगै दिगो विकासको बाटोमा अघि बढ्नका लागि स्थानीय उत्पादनलाई तथा प्रचार प्रसारमा आफुहरुले नै विशेष पहल गर्नुपर्छ भन्ने बुझाइ स्थानीय सरकारको रहेको छ ।

त्यसैले नगरपालिकाले प्राकृतिक सम्पदाको संरक्षण, प्राकृतिक सौन्दर्यलाई नकिकबाट नियाल्नकाका लागि विभिन्न प्राकृतिक पदमार्गको विकास, पार्कहरु, धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्ने काममा नगरपालिकाकाले सक्रियता देखाउँदै आएको छ । नगरपालिकाले वार्षिक नीति तथा कार्यक्रममा दिगो विकासका लक्ष्यलाई प्राथमिकतामा राखेर सोहीअनुसार बजेट विनियोजन गर्ने गरेको छ ।

साना तथा घरेलु संघका निर्वतमान अध्यक्ष विरेन्द्र जतीले साना तथा घरेलु उद्योगलाई स्थानीय तहले प्राथमिकताका साथ अगाडि बढाउन सके दिगो पर्यटन विकासमा सहयोग पुग्ने बताए ।

हिजोआज भक्तपुरको प्रख्यात मानिएको भादगाउँले टोपी नै भक्तपुरमा उत्पादन हुन छोडेको छ । यसको ठूलो असर यहाँका साना उद्यमी मजदुर अनि यसका व्यवसायीलाई परेको छ । यस्ता उत्पादनमा स्थनीय तहले कर छुटदेखि नयाँ प्रविधि भित्राउनसमेत सहजीकरण गर्ने हो भने पर्यटन सँगसँगै सरकारले अघि सारेको दिगो विकास लक्ष्य प्राप्ति गर्न सहज हुने देखिन्छ ।

नेपालमा सम्भाव्यता भएको पर्यटन व्यवसायलाई प्राथमिकतामा राखेर संरक्षण र प्रवद्र्धन गर्ने हो भने आन्तरिक पर्यटन नै पर्याप्त बढ्ने निश्चित छ । दश लाख पर्यटक भित्र्याउन पनि भिजिट नेपाल जस्ता कार्यक्रम गर्नुपर्नेे बिडम्वना हामी कहाँ छ । तर स्थानीय सरकारले आफ्नो क्षेत्रको संभावित पर्यटकीय स्थानको पहिचान गरी त्यसमा जोड दिन सके विश्वका अन्य साना मुलुकले जस्तै लाखौंको संख्यामा पर्यटक भित्र्याउन सकिन्छ ।

दिगो विकासमा नाममा बाटो बनाउनु, कुलो बनाउने कुरालाई मात्रै बुझ्ने गरेकाले दिगो विकासका लक्ष्य प्राप्तिका लागि योजनावद्ध ढंगको काम हुन नसकेको बुझाइ छ भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलको ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर