१२:४० को रौनक: जब बाबुआमासँग लुट्पुटिँदै खाजा खान्छन् विद्यार्थी
लहान । विद्यालय खुलेको दिन घडीमा दिउँसोको साढे १२ बज्न पाउँदैन धनगढीमाई नगरपालिका– ३ छपराडी चोक वरपरका बस्तीको घरघरबाट एक-एक जना अभिभावक हात–हातमा झोला (पोको) बोकेर नजिकै रहेको नाइटिङ्गेल एकेडेमी बोर्डिङ स्कुलतर्फ लम्किरहेका देखिन्छन् ।
विद्यालयले प्रत्येक दिन १२ बजेर ४० मिनेटमा आफ्ना बालबालिकालाई खाजा खुवाउने समय तोकिदिएकोले सबै अभिभावक हतार हतार लम्किँदै खाजाको पोको बोकेर गएका हुन् ।
छपराडी वरपरका अभिभावक मात्र होइनन्, लगभग सोही समयमा धनगढीमाई नगरपालिका र लहान नगरपालिका क्षेत्रमा सञ्चालित ६८ बटा निजी विद्यालयमा पाँच कक्षासम्म पढिरहेका बालबालिकाका अभिभावकहरु यसरी नै हतारिँदै खाजाका पोका बोकेर विद्यालयतर्फ जाने गर्दछन् ।
विद्यालयको घडीमा १२ बजेर ४० मिनेट हुनेबित्तिकै टिङ्–टिङ्–टिङ–टिङ् घन्टी बज्छ । घण्टीकै तालमा विद्यार्थीहरु मूलगेटबाट लामबद्ध लागेर बाहिरिन्छन् । बाहिर गेटैमा नानीबाबुहरुलाई खाजा लिएर बसेका अभिभावक आ–आफ्नो नानीहरुको हात समाउँदै सुम्सुमाउँदै विद्यालयले खाजा खान तोकिदिएको ठाउँमा लगेर टिफिनको खाजा खोलेर खान दिन्छन् ।
प्रायः निजी विद्यालयहरुले कक्षा पाँचसम्म अध्ययनरत बालबालिकाहरुको स्वास्थ्य स्थितिलाई ख्याल गरेर अभिभावकलाई ताजा खाजा ल्याएर आफैंले खुवाउन अनुरोध गर्ने गरेका छन् । विद्यालय परिवार र अभिभावकहरुबीचको सहमतिबाट शुरु गरिएको यो अभियानको अनुशरण गर्ने विद्यालयहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
खाजाको नयाँ नियम लागू भएपछि अभिभावकहरु अनिवार्यरुपमा घरमा पकाएको खाजा पुर्याउन विद्यालय जाने गरेका छन् । विद्यालय समयमा नानीबाबुहरुलाई अभिभावक आफैं बसेर खुवाउने खाजाले बालबालिकाको स्वास्थ्यलाई राम्रो गरेको त छ नै अझ यो अभियान बालबालिकाको लागि पढाइप्रति अभिरुचि जगाउने र सकारात्मक बानी व्यवहार सिक्ने माध्यम समेत बनेको छ ।
नाइटिङ्गेल एकेडेमीमा खाजा बोकेर आएका अभिभावकलाई भेटेर उनीहरुकै हातबाट ताजा खाजा खान पाउँदा विद्यार्थीहरु हर्षित छन् । खाजा बोकेको टिफिन र झोला खोतल्न बालबालिकाहरु हतारिरहेका छन् ।
विद्यार्थीहरुको खुशी हेर्दा घरबाट आएको खानाको त्यो टिफिन बक्साबाट ममताको कोसेली फुकाए जस्तै लागिरहेको छ । विद्यार्थी मध्येकै एकले ‘अण्डा कहाँ आन्लिहि माई ? (अन्डा खोई ल्याउनु भयो आमा ?)’ भन्दै छन् ।
धेरैजसोले खाजाको डब्बातर्फ ठूलाठूला आँखा पार्दै ‘के ल्याउनु भयो ? के ल्याउनु भयो ? मम्मी’ भन्दै हत्तपत्त टिफिन आफैं खोल्न हतारिएका छन् । १० मिनेटमा खाइसक्नु पर्ने नियमले गर्दा सबै भकाभक खान लागे ।
कम समय भएकोले खाजा खाने काम छिटोछिटो भइरहेको छ । विद्यार्थीहरुको हात टिफिनमा र आँखा अभिभावकतिर नै छ । उनीहरुको हेराइमा अधिकार छ, भावनामा ममता र आत्मीयता छ ।
अभिभावकको उपस्थितिले केही मिनेट भएपनि घरेलु वातावरण पाएका छन् । अभिभावकसंग मन खोलेर बोल्न पाएका छन् । घुक्र्याउन पाएका छन् । लाग्छ सबै अभिभावकहरुसंग झुण्ड झुण्डमा बसेर खाजा खाइरहेको अवस्थामा उनीहरुको हाउभाऊ, मुखबाट निस्किएका बोलीहरु, अभिभावक र विद्यार्थीबीचको आपसी अकार्षणले कतै काम गरेर हतारिँदै आएका स्वयं अभिभावकमा पुनर्ताजगी थपिदिएको छ ।
विद्यार्थीमा पनि उत्साह र उमङ्ग थपिदिएको छ । खाजा लिएर कसैका आमा, कसैका हजुर आमा, त कसैका बुबा, काका आएका छन् । खाजा खुवाउने बेलामा सानोतिनो मेला लागेजस्तै अनुभुति हुन्छ । बाटो हिँड्ने बटुवाहरु पनि एकपटक टक्क अडिएर अभिभावक र विद्यार्थीको ममता साटासाटको दृश्य हेरेर आफ्ना लालाबाला सम्झन बाध्य हुन्छन् ।
०००
लहान नगरपालिका वडा नंम्बर १ मा रहेको मोर्डन आदर्श ईङ्लिस बोर्डिङ स्कूलको कक्षा ७ मा पढ्दै गरेकी प्रिया कुमारी रामका दुई भाइ बहिनी त्यही स्कुलमा पढ्छन् । तीनैजना छोराछोरीलाई खाजा खुवाउन प्रियाकी आमा प्रत्येक दिन विद्यालय पुग्छिन् ।
आमाले घरबाट खाजा लगिदिँदा प्रियालाई सारै खुशी लाग्छ । प्रिया भन्छिन्, ‘हामी सबै साथी गेटसम्म आमाले ल्याएको खाजा लिन जान्छौ, क्लासमा लगेर खान्छौ ।’ आमालाई देखेपछि दिनभरी पढाइको थकान एकछिन बिर्सिने गरेको उनको अनुभव छ ।
‘सबै जनाको आमा आउनु भएको हुन्छ झन् रमाइलो हुन्छ ’ उनले सुनाइन । शुक्रबार अतिरिक्त कृयाकलापअन्तर्गत नाचगान हुन्छ । सबै बालबालिकाले मिलेर आमा र अभिभावकहरुलाई नाचेर देखाउँछन् ।
स्कुल नजिकै घर भएका विद्यार्थीहरु पहिला पहिला टिफिन खान घरैमा नै जान्थे । तर घर गएका धेरैजसो बालबालिका फर्केर स्कूल आउन छोडेपछि अभिभावकले खाजा ल्याउनु पर्ने नियम स्कुलले बनाएको हो ।
टिफिन ल्याउने अभिभावक नहुने विद्यार्थी दुखी
स्कुलमा खाजासहित अभिभावकसँग भेट्न पाएका बालबालिका खुशी देखिन्छन् । कोही भने अभिभावक स्कुलमा नआउँदा निराश देखिन्छन् ।
लहान नगरपालिका- ८ मा रहेको ईलाईट इङ्लिस् बोर्डिङ स्कूलको कक्षा चारमा पढ्ने पूर्णिमालाई यस्तै भएको छ । उनलाई आजभोलि टिफिन समय नै नभए हुन्थ्यो भन्ने लाग्ने गरेको छ ।
पूर्णिमा भन्छिन्, ‘भाइ बिरामी भएर ‘मम्मी’ हस्पिटलमा हुनुहुन्छ । अभिभावकले खाजा पुर्याउन भ्याउनु हुन्न, सबै साथी खुशी हुँदै अभिभावकसंग बस्छन् । मेरो ‘मम्मी’ नआएकोले मलाई नरमाइलो लाग्छ ।’
बोल्दाबोल्दै पूर्णिमाको आँखा रसायो । गहिरो पीडा र निराशा उनको मुहारमा देखियो । उनले मन थाम्दै भनिन्, ‘बाबाले फलफूलहरु पठाइदिनु हुन्छ । स्कूल आउन बिहान हतार हुन्छ । टिफिन नै ल्याउन पनि बिर्सिन्छु’ उनले थपिन्, ‘टिफिन नभएको बेला गुरुआमाले स्कूलमै किनिदिएको टिफिन खाने गरेको छु ।’
स्कुलमा खाजा पुर्याउन आएका आमा र हजुरआमासंग बालबालिका लुटपुटिएका देखिन्छन् । अभिभावकहरुले काखमा च्याप्दै नानीबाबु सुम्सुमाएको दृश्यले वरपरबाट हेर्नेहरुलाई पनि भावुक बनाउँछ ।
सबैलाई आफ्नो छोराछोरी सम्झन बाध्य गराउँछ । बालबालिकाहरु भने कक्षामा पढेका, सिकेका कुरा अभिभावकलाई सुनाउनसमेत हतार गरिरहेका हुन्छन् ।
आफ्ना बालबालिकाले सुनाएका कुरा अभिभावकहरु ध्यानपूर्वक सुन्न थाल्छन् । एउटा बच्चाले सुनाउन थालेपछि अरुले पनि त्यसै गर्न थाल्छन् । एकछिन अभिभावक र विद्यार्थीबीच परिवारिक मिलन जस्तै हुन्छ । यसले विद्यार्थीमा हौसला र हिम्मत थपिन्छ ।
शिक्षकहरुभन्दा अभिभावकसंग बढी खुलेर कुरा गर्न अग्रसर भएका विद्यार्थीको मनसायले उनीहरुको मुहारमा शब्दमा भन्न नसकिने खुशीको चमक देखिन्छ । बच्चाले आमाबाबुले ल्याएको खाजाले भोक मात्र मेटाउँदैनन्, ममताको अनुभुति गरेको मुस्कानबाट सहजै अनुमान लगाउन सकिन्छ ।
कक्षा एकमा पढ्ने छोराको खाजा लिएर आएकी सोनी कामत भन्छिन्, ‘स्कुलमा आमाबाबुले पुर्याउने खाजाले बालबालिकालाई पढाइमा हौसला थपेको छ, सिकाइमा ध्यान बढेको छ ।’
कामतले आफू विद्यालय आउन नभ्याउँदा छिमेकीलाई खाजा पठाइदिन्छिन् । उनले थपिन्, ‘तर खाजा लिएर आफू नगएको दिन छोरा घर फर्किएर आएपछि कसैसंग बोल्दैन, खाँदैन पनि ।’ उनी त्यसपछि छोराको खुशीको लागि घरको काम छोडेर पनि विद्यालयमा खाजा लिएर आउने गरेकी छिन् ।
उनी मात्र होइनन्, सबै अभिभावकहरु खाजा खाने समयमा छोराछोरीलाई खाजा लिएर जानु पर्दछ नत्र उनीहरुको मनमा के हुन्छ ? हामी सबै उनीहरुकै भविष्यका लागि त खटिरहेका छौं भनेर सोच्ने गरेका छन् । ‘मेरो बाबु मात्र होइन घरबाट आफ्नो अभिभावक नआउँदा बच्चाहरु उदास हुन्छन्’ कामत भन्छिन्, ‘छिमेकीहरुले नभ्याएको बेला मलाई उनीहरुको बच्चाको टिफिन दिएर पठाउँछन् । तर उनीहरुका बच्चा पनि मेरो छोरा जस्तै आफ्नो अभिभावक नआउँदा खुशी नै हुँदैनन् ।’
किन जान्छन् अभिभावक ?
बालबालिकाको स्वास्थ्य राम्रो होस् र ताजा खाने कुरा छोराछोरीले खान पाउन् भनेर नै आमाबाबु स्कूलसम्म टिफिन पुर्याउन जाने गरेका छन् । कतिपयले प्याकिङ गरेर पठाउने चलन छ ।
धनगढीमाई नगरपालिका १ बाखैरकी गीता सिंहका अनुसार पहिले नै खाजा पकाएर विद्यार्थीसंगै पठाउँदा सेलाउने भएकोले घरमै पाकेको ताजा र स्वस्थ्य खानेकुरा हुन्छ भनेर सबै काम छोडेर स्कूल पुग्ने गरेका छन् ।
नाईटिङ्गेल एकेडेमीमामा पढ्दै गरेका दुई छोरालाई खाजा लिएर उनी सधै स्कुल पुग्छिन् । ‘खाजा साथमा दिएर पठाउँदा बिहान नौ बजे बनाएर प्याकिङ गर्नु पर्छ । बनाएको चार घन्टापछि खाँदा चिसो हुने भएकोले सधैं आफैं जाने गरेको छु’ उनको तर्क छ, ‘सेलाएको खाजा मीठो पनि हुँदैन । फेरि, सबै खाने कुरा एकै ठाँउमा हालिदिँदा ढाडिन्छ पनि । त्यसैले ताजा खाने कुरा खान पाउछन् भनेर खाजा पुर्याउन आफैं आउँछु ।’
सिंहकी छिमेकी बाखैरकी रेखा महतो पनि छोरालाई टिफिन पुर्याउन सधैं आउँछिन् । उनको छोरा त्यहीं स्कुलमा कक्षा तीनमा पढ्छन् । किताब पनि धेरै हुन्छन्, त्यसमा पानी, टिफिन थपिँदा झन् भारी हुने भएकोले आफू खाजा बोकेर आउने गरेको महतोले बताइन् ।
उनले छोराछोरीलाई भोकै, प्यासै हुनु नपरोस् भनेर काम छोडेर पनि हरेक दिन विद्यालयमा आउने गरेको सुनाइन् । महतोले थपिन्, ‘घरको खाना ताजा हुन्छ । पेटभरी खान पाउछन् ।’ खाजा खुवाउन मात्रै होइन धेरैजसो अभिभावकहरु बच्चा पुर्याउन र लिन पनि सधै आउने जाने गरेका छन् ।
अभिभावक छोराछोरीले राम्ररी पढुन् भन्ने चाहन्छन् । आफूलाई जे दुःख परे पनि व्यहोरौला भन्ने धारणाले बच्चासँगै आफूपनि स्कूल धाउने गरेका देखिन्छन् ।
महतो र सिंहको एउटै धारणा छ, ‘बच्चाहरुको लागि जे गर्नु पर्छ, त्यो गर्न तयार छौ । आमाबाबुले गरेको दुःख बुझेर राम्ररी पढुन् । आफ्ना खुट्टामा उभिउन् । आमाबाबुको नाम राखुन् । कमाएर खाउन् ।’
अभिभावकले जस्तै बुझ्ने जान्ने विद्यार्थीहरुले आफ्ना आमाबुबाको मिहिनेतलाई भित्रभित्रै नियाली रहेको पाइएको छ । यसरी अभिभावकको गतिविधिलाई नजिकबाट हेरिरहेकी विद्यार्थी प्रियाले आफ्नो अभिभावकको प्रशंसा गर्दै भनिन, ‘स्कूल गएका छोरीछोरीहरुको अभिभावकले गर्ने हेरचाहले आमा बुबाको भरोसा, आशा र लगानी खेर जान दिनु हुन्नँ ।’
प्रिया भन्छिन् ‘आमा बाबु यति टाढाबाट हिँडेर खाजा पुर्याउन आउनु हुन्छ । लिन आउनु हुन्छ । फेरि उहाँहरु त बाहिर काम गर्न पनि जानु हुन्छ ।’ उनले थपिन्, ‘तरपनि हाम्रो रेखदेखमा कति पनि कमी हुन दिनुहुन्न ।’
प्रियाले आफ्नो अभिभावकलाई सम्झेजस्तै अन्य विद्यार्थीहरुले पनि आफ्ना अभिभावकलाई सम्झिरहेका छन् ।
घरको खाजाले पैसाको बचत
निजी विद्यालयले मासिक एक हजार रुपैयाँदेखि एक हजार पाँच सय रुपैंयासम्म लिएर खाजा खुवाउने गर्छन् । स्कूलमा खाजा नखानेहरुका लागि अभिभावकले आफैले खाजाको व्यवस्था गर्ने प्रचलन छ ।
यसो गर्दा आर्थिक बचत पनि हुने लहान नगरपालिका १ की बालकुमारी लिम्बुले बताइन् । ‘घरबाट खाजा लैजाँदा बालबालिकाको स्वास्थ्य राम्रो हन्छ । स्वास्थ्य राम्रो भए उपचारका लागि गर्ने खर्चको बचत हुन्छ’, उननी भन्छिन्, ‘स्कुलमा खाजा खाए हजार, १२ सय तिर्नु पर्छ । घरको खाना जे पाक्यो त्यही लग्यो । ताजा पनि हुन्छ, तीन सय रुपैयाँ जति पनि खर्च हुँदैन ।’
खाजाका परिकार र गुणस्तर
धेरैजसो घरमै पाक्ने भात, दाल, तरकारी, रोटी, अन्डा, चिउरा, तरकारी, चना, हलुवा , तरुवा, मुरी जस्ता खाना टिफिनमा ल्याएका थिए । जुन घरमै बनाएका स्वास्थ्यकर थिए ।
घरमा बनाएको खाजा ताजा र तातो पनि थियो । कतिले चिउरामा चाउचाउ मिसाएर त कतिले चाउचाउ बिस्कुट पनि ल्याउने गरेका रहेछन् । फास्टफुड स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने जानकारी नभएर पनि चाउचाउ र बिस्कुट ल्याएको देखिन्छ ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार स्वास्थ्य रहन मानिसले बिहानदेखि प्रत्येक चार–चार घन्टामा केही न केही खानुपर्दछ ।
बिहानको खानाको भरमा दिनभरी स्कूलमा बस्दा बिद्यार्थीले शरीरलाई चाहिने आवश्यक ऊर्जा नपाउने यादवको तर्क छ । स्वस्थ्य हुनका लागि समेत दिउँसोको खाजाको महत्व रहेको यादवले बताए ।
उनका अनुसार बालबालिकाको लागि ‘हरेक बार खाना चार’ भन्ने नारा नै छ । दैनिक सन्तुलित खाना चारपटक खानु आवश्यक रहेकोले स्कूलमा दिउँसो विद्यार्थीको लागि ताजा खाजा लानु आवश्यक भएको यादवको तर्क छ ।
यादवले विद्यार्थीको खानेकुरामा फलफूल, सागसब्जी, माछा मासु, अन्डा, दुध, दही, गेडागुडी भए पौष्टिक हुन्छ भने । यस्ता खाजा र खाना स्कूलले मिलाएर दिन नसक्ने भएकोले घरबाट लगिने खाजा खाना महत्वपूर्ण हुने यादव बताउछन् ।
विद्यार्थीले बिहान आफैं खाजा लिएर गएमा टिफिनको बेलासम्ममा खाजाको रसायनिक गुणमा परिवर्तन भइसकेको हुँदा ताजाजस्तो सुपाच्य र स्वास्थ्य नहुने धारणा यादवको छ । यादव भन्छन्, ‘विद्यार्थीलाई अभिभावक आफैले खाजा पुर्याउनु राम्रो प्रयास हो ।’
जङ्क फुडको फेशन
विज्ञापनका कारण बालबालिकाको पहिलो रोजाइमा ‘जङ्क फुड’ पर्ने गरेको छ । रङ्गीचङ्गी प्याकेटका तयारी खानेकुराले बालबालिकाई लोभ्याउने गरेको छ । तर, स्वास्थ्यकर्मी यादवका अनुसार त्यस्ता खानेकुरा हेर्दा जति आकर्षक हुन्छन् त्यति नै घातक छन् ।
जङ्क फुडमध्ये चाउचाउ, बिस्कुटमा मुटु रोग र क्यान्सर जस्ता प्राणघातक रोग गराउन सक्ने तत्व हुने यादवले बताए । उनको तर्क छ, ‘चाउचाउ र बिस्कुट मैदाबाट बन्छ । मैदा भनेको मन्द बिष जस्तै हो ।’
यादवका अनुसार फ्याक्ट्रीले चाउचाउ बनाउँदा एउटै तेलमा हजार प्याकेट चाउचाउ तारेको हुन्छ । पटक पटक तार्दा तेल परिवर्तन नहुँदा त्यसमा क्यान्सर, मुटुको समस्या पैदा गर्न सक्ने तत्व हुने उनको दावी छ ।
यादवले थप्दै भने, ‘हड्डी मक्काउने समस्या आउँछ र जङ्क फुडमा अत्यधिक रङ्ग प्रयोगले बालबालिकामा प्राणघातक रोगको जोखिम बढाउँछ । बच्चाले जिद्धी गर्यो भन्दैमा बिष किनेर खाने दिने त मिल्दैन नि !’
बालबालिकामा विस्तारै बानी पारेर दाल, भात, तरकारी, रोटी, अन्डा, चिउरा, चना, जाउलो, खिचडी जस्ता खाजा दिनु नै उत्तम हुने स्वास्थ्यकर्मीले बताएका छन् । लहान नगरपालिका ६ को मेरी चिल्ड्रेन एकेडेमीका प्रधानाध्यापक पाण्डव हमालका अनुसार विद्यालयले अभिभावकलाई नानी बाबुको लागि ल्याइने खाजा, खाना ताजा, स्वच्छ, सफा सुग्गर र अग्र्यानिक हुनुपर्दछ भनेर बारम्बार अनुरोध गर्ने गरेको छ ।
हमाल भन्छन्, ‘अभिभावकले बाबु नानीहरुमाथि जसरी लगानी गर्नु भएको छ, त्यसमा खानाले पनि भूमिका निर्बाह गर्ने भएकोले यस्ता कुरामा ख्याल राख्नु पर्दछ ।’ उनले आफ्नो विद्यालयमा अभिभावकले ल्याउने गरेको खाजाको गुणस्तरबारेको अनुभव सुनाउँदै भने, ‘धेरैजसो अभिभावकले घरमा बनाएका ताजा खाजा ल्याउनु हुन्छ । ‘जङ्क फुड’ ल्याउनेहरुलाई हामीले खाजा हेरेर फर्काउने गरेका छौं ।’ हिजोआज प्रायः विद्यालयमा ‘जङ्क फुड’ निषेध गरिएको हमालको दावी छ ।
खाजा कार्यक्रमको मनोविज्ञान
स्वास्थ्यका दृष्टिले मात्र होइन, बालबालिकामा मनोवैज्ञानिक रुपमा सकारात्मक परिवर्तन ल्याउनसमेत खाजा कार्यक्रमले प्रभाव पारिरहेको छ । प्रधानाध्यापक हमालको भनाइमा घरमा साना नानीलाई आमाबुबाले खुवाउँदा खाने तरिका विस्तारै सिकेको देखिन्छ भने विद्यालयमा अरु साथीहरुले आफै खाएको देखेर सबै बालबालिका देखासेखी गर्दै आफैं खान सिक्छन् ।
हमाल भन्छन्, ‘विद्यालयमा खानुभन्दा अघि कसरी हात धुने ? खाइसकेपछि कसरी धुने, मुख धुने तरिकादेखि खाजा चपाएर खाने, पानी कतिखेर कसरी पिउनेजस्ता विषयहरुमा पनि सुक्ष्म रुपमा सिकाउँछौ ।’
दैनिक जीवनमा काम लाग्ने महत्वपूर्ण विषय खानपिनको तरिका पनि हो । अभिभावकले खाजा लिएर आफैं आउँदा र संगै बसाएर खुवाउँदा बालबालिका र अभिभावक दुवैले संगसंगै स्वस्थ्यकर खाजा कुन कुन हो ? कस्तो खाजा खानु हँुदैन ? कसरी खानु पर्दोरहेछ भन्ने सिकाइ हुने गरेको प्रध्यानाध्यापक हमालले बताए । उनका अनुसार यस्तो सिकाइले बालबालिकामा विद्यालय जीवन बाहिर पनि स्वस्थ्यकर खाना समयमै खाने बानीको विकास हुन्छ ।
खाजा खुवाउने बहानाले अभिभावकले आफ्ना नानीबाबुको क्रियाकलाप बीच–बीचमा हेर्नसमेत पाउँछन् । हमालले भने, ‘अभिभावक स्वयं विद्यालय पुग्ने हुँदा बिद्यालय व्यवस्थापन समिति र शिक्षक शिक्षिकाहरु अलर्ट हुन्छौं ।’
यसले विद्यालयलाई समेत चनाखो भएर बस्न बाध्य बनाएको छ । हमालको तर्क छ, ‘बिद्यालयमा बालबालिकालाई ल्याइने खाजा, खाजामात्रै नभएर अभिभावकको ममताको कोसेली समेत सावित भएको छ ।’