चितवन निकुञ्जमा पोथी गैंडा मृत फेला
चितवन । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडी क्षेत्रको रेवाखोला किनारमा पोथी गैंडा मृत फेला परेको छ । सोमबार मध्याह्न १२ बजे निकुञ्जको धोवा पोष्टबाट साढे एक किलोमिटर दक्षिणपूर्व कोर इलाकाको घाँसे मैदान रहेको रेवाखोला किनारमा अन्दाजी १० वर्षको पोथी गैंडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले फलामको रड घोपिएको अवस्थामा उक्त गैंडा मृत फेला परेको जानकारी दिए । ‘धानबाली खानेक्रममा स्थानीयवासीले रड घोपेर मरेको अनुमान गरेका छौं,’ बराललले भने, ‘यस विषयमा थप अनुसन्धान अगाडि बढाएका छौं ।’ गैंडाको कोखमा रड घोपिएको कारण भित्री चोट लागी आइतबार राति सो गैंडा मरेको भए पनि सोमबार मृत भेटिएको बरालले बताउनुभयो ।
‘हामीले ट्रयापिङ गर्दा जिउंँदै थियो, मध्याह्नतिर झाडीमा मृत फेला पर्यो,’ उनले भने । गैंडा मृत फेला परे पनि गैंडाको खाग र खुर भने सुरक्षित रहेको बरालको भनाइ छ ।
चालू आर्थिक वर्ष २०७८/७९ मा मात्रै विभिन्न कारणले आठवटा गैंडा मरिसकेका छन् । राष्ट्रिय गैंडा गणना विसं २०७७ अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैंडा रहेका छन् ।