शौचालयको दु:ख- महिनावारी हुँदा विद्यालय नै जाँदैनन् छात्रा
काठमाडौं । लहान नगरपालिकाका वडा नंम्बर १८ मा रहेको शहिद राम लक्ष्मण आधारभुत बिद्यालयको कक्षा ७ मा पढ्दै गरकी अन्जली महतो हरेक महिना पाँच दिन विद्यालय जान्नन् । विद्यालय नजानुको कारण घरको कामले अथवा जानै मन नलागेर भने होइन । बिद्यालयमा शौचालयको व्यवस्था राम्रो नहुँदा महिनावारीको समयमा विद्यालय जान नसकेको महतो बताउँछिन् ।
विद्यालयमा दुईवटा शौचालय छन् । एउटा शौचालय शिक्षकहरुका लागि हो भने अर्को बिद्यार्थीहरुले प्रयोग गर्नका लागि हो । छात्रा र छात्रको लागि एउटै शौचालय छ । त्यसमा पनि पानीको व्यवस्था छैन । बाहिर भएको एउटा चापाकल बिग्रिएको एक बर्ष भयो । कलमा पानी आउँदैन ।
‘पानी नहुँदा दिशा–पिसाब गरेर त्यत्तिकै छोडेको हुन्छ । सफा गरेको हुँदैन । गनाएर जान सकिँदैन,’ महतोले भनिन् ।
उनले थपिन्, ‘महिनावारीको समयमा प्याड फेर्ने ठाउँ छैन । हामी मिसलाई हाम्रो समस्या भन्छौं, तर मीसले नै उल्टो हामीलाई घर पठाइदिनुहुन्छ ।’
मिसलाई भने पनि घरै पठाउने हो भनेर आजभोलि महिनावारी हुँदा विद्यालय नै जान छोडेको अञ्जलीले बताइन् । महिनावारीका कारण पढाईमा असर पुगेको उनको गुनासो छ । वर्षमा महिनावारीको कारण ६० दिन पढाई छुट्छ । त्यसको क्षतीपूर्ति कसरी गर्नु ? उनको प्रश्न छ ।
बिद्यालयका प्रधानध्यापक रमाकान्त चौधरीले शौचालय भए पनि पानी नभएकाले शौचलय प्रयोगविहीन भएर नानीहरु झाडीतिर जाने गरेको स्वीकारे । नगरपालिकाले यसमा चासो नदिएको उनको आरोप छ ।
किशोरीहरुलाई महिनावारीको ब्यबस्थापनमा समस्या भएकोले स्कुल नै छोड्नुपर्ने वाध्यता भएको कुरा हामीले उठाएपछि भने तत्कालै नयाँ कल जोडेर पानीको व्यवस्था गर्ने आश्वासन दिए ।
ग्रामीण क्षेत्रमा मात्रै होइन लहानजस्तो शहरी क्षेत्रमा रहेको प्राविधिक शिक्षालयमा पनि शौचालय व्यवस्थित नहुँदा किशोरीहरु महिनावारीका बेला कक्षा छोड्छन् ।
शिक्षालयमा महिलाका लागि शौचालय त छ । तर व्यवस्थित छैन । किशोरीहरुलाई महिनावारी व्यवस्थापन गर्नका लागि स्कुल कलेजले स्यानिटरी प्याड, सुरक्षित र सफा शाैचालय, व्यवस्थापन गर्न सकेको छैन ।
‘प्याड व्यवस्थापनाका लागि डस्टबिन पनि छैन,’ ओए प्रथम बर्षमा अध्यायनरत निशा सुन्दासले भनिन् ।
निशाका अनुसार शौचालयमा पानी छैन । सरसफाइ पनि राम्रोसँग गरिएको हुँदैन । ढोकामा चुकुल बिग्रेको छ । अप्ठ्यारो पर्दा एक्लै शौचालय जान सकिन्न । साथी चाहिन्छ । एकजना शौचालय भित्र गयो, अर्कोले ढोका ढप्क्याएर बस्यो । एकजना ढोका ठेलिदिने भएन भने ट्वाईलेट जान सकिँदैन ।
प्याड व्यवस्थापनमा समस्या
किशोरीलाई महिनावारी भएको समयमा स्यानिटरी प्याड अत्यावश्यक पर्छ । प्रयोग गरेको प्याड राख्नको लागि ट्वाइलेटमा डस्टबिन हुनुपर्ने स्यानीटरी प्याड व्यवस्थापन कार्यबिधिमा उल्लेख छ । तर सिरहाका कुनै बिद्यालयमा यस्तो व्यवस्था छैन ।
‘कलेजले प्याड पनि राखेको छैन । मलाई कतिपटक त कलेजमै महिनावारी भएको छ । त्यसबेला आफूसँग भएको रुमाल प्रयोग गरेर काम चलाएको छु । त्यसैले महिनावारी हुँदा क्लासै छोड्नु पर्ने बाध्यता हुन्छ,’ निशा भन्छिन् ।
उनी भन्छिन्, ‘प्याड पनि ट्वाइलेटमै फालेका हुन्छन् । रगत लागेको प्याड त्यतिकै फालेको हुन्छ ।’ पानीको अभावमा ट्वाइलेटको दुर्गन्धले जान पनि सकिँदैन भन्दै उनले थपिन्, ‘पिसाब फेर्दा ब्लड झरेको हुन्छ, पानी नभएर त्यतिकै प्यानमा छोडिएको हुन्छ ।’
पिरियड हुँदा तातोपानी खानुपर्छ भनेर यसको व्यवस्थाका लागि धेरैपटक आग्रह गर्दा सुनवाइ नभएको उनले बताइन् ।
‘यो समस्या त हाम्रो क्लासको मात्रै होइन । सबै विषय अध्ययन गर्ने छात्राहरुले हाम्रो कलेजमा भोग्नु परेको छ,’ निशाले भनिन् ।
यस्तो समस्या लहानको शहीद राम लक्ष्मण र आधारभूत विद्यालय र प्राबिधिक कयाम्पसको मात्रै होइन । सिरहा–सप्तरी लगायत तराईका जिल्लाका ९० प्रतिशत विद्यालयका बिद्यार्थीले यस्तै समस्या भोग्नु परेको छ ।
विद्यालयको कक्षा ९ मा पढ्ने ४० मध्ये ३६ जना बालिका छन् । हरेक दिन काेही न काेही महिनावारी भएकै हुन्छ ।
स्थानीय सरकारको दावी
लहान नगरपालिका शिक्षा समिति संयोजक एबं प्रबक्ता राजकुमार शाहले लहान नगरपालिकामा शौचालय निर्माणको लागि बजेट विद्यालयमा गइसकेको दावी गरेका छन् । शौचालय मर्मतको लागि विद्यालयमा वर्षेनी पैसा पठाएको उनले जानकारी दिए ।
शाहले लहान नगरपालिकाको शहिद राम लक्ष्मण आधारभुत विद्यालयमा मात्र नभइ अन्य शिक्षालयमा पनि शौचालय निर्माणको काम भइरहेको सुनाए । नगरमा ६० वटा सामुदायिक विद्यालय छन् । तीमध्ये ४० वटा पाँच कक्षाभन्दा तलका हुन् । बाँकी ६ कक्षादेखि १२ कक्षासम्म पढाई हुने ७ वटा विद्यालयमा महिलाको लागि छुट्टै व्यवस्थित शौचालयको काम भइसकेको उनको दावी छ । बाँकी विद्यालयमा पनि काम भईरहेको उनले बताए ।
छात्राहरुले व्यवस्थित र सफा शौचालयकै कारण विद्यालय छोड्नु पर्ने अबस्था आउन नदिने गरी काम गरिरहेको शाहको जिकिर छ ।
‘नेपालकै ठूलो नगरपालिका भएकाले समस्या भएको हो,’ उनले भने, ‘बिकन परियोजनासँग सहकार्य गरेर महिनावारी स्वच्छतालाई ध्यानमा राखेर शौचालय व्यवस्थापनको काम गरिरहेका छौं ।’
लहान नगरपालिकाले गत वर्ष ३० लाखको स्यानिटरी प्याड खरिद गरेको थियो । यो वर्ष कोभिडका कारण खरिद प्रकृया पूरा गर्न नसकेकाे र बिद्यालय पनि बन्द रहेका कारण १५ लाखको मात्रै सेनिटरी प्याड खरिद गरेको लहान नगरपालिकाका सुचना अधिकारी सञ्जय शाहले जानकारी दिए ।
स्त्रीरोग विशेषज्ञ दिलिप शाहका अनुसार गाउँघरमा ७० प्रतिशतसम्म महिलालाई महिनावारी स्वच्छताबारे जानकारी छैन । शहरमा पनि आमाबुवा, आफन्तले सिकाएर भन्दा पनि युवतीहरू आफैंले यताउता पढेर यसबारे जानकारी प्राप्त गर्ने गर्छन् ।
महिनावारी स्वच्छता र मर्यादित महिनावारीको लागि सिरहामा ठूलो अभियानै चलाउन आवश्यक रहेको महिला अधिकारकर्मी श्यामा शाह बताउँछिन् । तर सिराहामा महिनावारी स्वच्छताका बिषयमा अहिले खासै कार्यक्रम तथा अभियान भने छैन ।
मुक्ति नेपालकी अध्यक्षसमेत रहेकी शाहले किशोरी पोषण र सरसफाइको बिषयसँगै महिनावारी स्वच्छता र मर्यादित महिनावारीको अभियान पनि जोड्ने गरेको बताइन् ।
उनले भनिन्, ‘स्कुल तथा कलेजले स्यानिटरी प्याड सहज व्यवस्था नगर्दा र शौचालयको सफाई, पानीको व्यवस्थापन नगर्दा यो समस्या देखिएको हो । यौनाङ्ग चिलाउने फोका उठ्ने सेतो पानी खस्ने जस्ता समस्या किशोरी बिद्यार्थीले कार्यक्रममा सुनाउने गरेको छन् ।’
स्त्रीरोग विशेषज्ञ दिलिप शाहका अनुसार गाउँघरमा ७० प्रतिशतसम्म महिलालाई महिनावारी स्वच्छताबारे जानकारी छैन । शहरमा पनि आमाबुवा, आफन्तले सिकाएर भन्दा पनि युवतीहरू आफैंले यताउता पढेर यसबारे जानकारी प्राप्त गर्ने गर्छन् ।
‘महिनावारीमा सरसफाइको अभावले क्यान्सरसहित विभिन्न शारीरिक समस्या हुन सक्छ,’ उनले भनिन् ।
महिनावारीको बेला बग्ने रगत रोक्न उपयोग गरिने वस्तुको स्वच्छतामा विशेष ध्यान दिनुपर्ने शाहको सुझाव छ । सरसफाइको कमी भए संक्रमण हुने गुप्ताङ्गमा कुनै प्रकारको घाउ, पीडा, दुर्गन्धित पानी, चिलाउने जस्ता थुप्रै समस्या हुन सक्ने शाहले बताए ।
आजभन्दा १५ वर्ष अघिको महिनावारीमा किशोरीको भोगाइ र अहिलेको भोगाइमा कुनै फरक छैन । सिरहाको अर्नामाकी जयन्त्री यादबले आफुहरुले १५ बर्षअघि पनि प्याड परिबर्तन गर्ने ठाउँ नहुदा र शौचालय नहुँदा पानी नहुँदा स्कुल छोड्ने गरेको सुनाइन् । उनी भन्छिन्, ‘अहिले पनि त्यही अबस्था छ ।’
हुन पनि १० बर्षअघि सिरहाका थोरै विद्यालयमा मात्रै शौचालय थिए । भएका पनि एउटा पनि प्रयोगमा थिएनन् । खुल्ला दिशामुक्त राष्ट्रिय अभियानको कारण पछिल्लो समयमा बिद्यालयमा शौचालय बनेको बताउँछन् इकाष्ट नेपालका कार्यक्रम संयोजक गोबिन्द कार्की । सरकारी अनुदानमा तथा बिभिन्न संघ–संस्थाको आर्थिक सहयोगमा बिद्यालयमा शौचालय बने पनि पानीको व्यवस्था नहुने र त्यसको मर्मतसम्भार नहुने समस्या छ ।
कमिसनको खेल
नेपाल सरकारले सबै सामुदायिक बिद्यालयमा सेनटरी प्याडको व्यवस्था आर्थिक बर्ष २०७५/०७६ को बजेटमार्फत गरेको थियो । अहिले सबै पालिकामा बिद्यार्थी संख्याको आधारमा नेपाल सरकारले सशर्त अनुदानअन्तर्गत पालिकालाई रकम पठाउने गरेको छ ।
सरकारले स्यानिटरी प्याड निशुल्क उपलब्ध गराउनु पर्ने हो । तर त्यही प्याडमा समेत् बिलासिताको सामानलाई जस्तै १० प्रतिशत कर र भ्याट लगाएको छ जसका कारण अहिले देशभरी कर खारेजीको माग गर्दै आन्दोलन भइरहेको छ
तर कतिपय पालिकामा भने प्याड खरिदमा समेत अनियमितता भएका छन् । आर्थिक बर्ष २०७६/७७ को महालेखापरीक्षकको प्रतिबेदनअनुसार सप्तरीको कञ्चनरुप नगरपालिकाले २२ लाख २३ हजार ८ सय ४० रूपैयाँमा २ लाख ६२ हजार ४ सय पिस प्याड खरिद गरी १८ विद्यालयका प्रधानाध्यापकलाई ३५ हजार ३ सय ९० पिस प्याड मात्र वितरण गरेको विवरण पेश गरेको थियो ।
२ लाख २७ हजार १० पिस पालिकासँग मौज्दात (बाँकी) रहँदा रहँदै पुन ६ हजार १ सय २८ पिस प्याड खरिद गरी ४५ हजार ९ सय १० रूपैयाँ भुक्तानी गरेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
२ लाख २७ हजार प्याड बाँकी रहदै कर्मचारीले पुनः प्याड खरिद गरी आर्थिक अनियमितता गरेको भन्दै महालेखा परिक्षकले सम्बन्धित कर्मचारीलाई जिम्मेबार बनाई आवश्यक कारबाही हुनुपर्ने प्रतिवेदनमा उल्लेख गरेको छ ।
सरकारले स्यानिटरी प्याड निशुल्क उपलब्ध गराउनु पर्ने हो । तर त्यही प्याडमा समेत् बिलासिताको सामानलाई जस्तै १० प्रतिशत कर र भ्याट लगाएको छ जसका कारण अहिले देशभरी कर खारेजीको माग गर्दै आन्दोलन भइरहेको छ ।
नेपालको पछिल्लो जनगणनाअनुसार करिब १ करोड ४३ लाख १० हजार महिलामध्ये कम्तीमा ६० प्रतिशत महिनामा एकपटक महिनावारी हुने गरेका छन् ।