बुटवलका व्यवसायिक संस्थामा चुनावी रन्कोः एमालेनिकट व्यवसायी एक-अरु एक – Nepal Press

बुटवलका व्यवसायिक संस्थामा चुनावी रन्कोः एमालेनिकट व्यवसायी एक-अरु एक

रुपन्देही । कोरोना महामारीको संक्रमण कम भएसँगै बुटवलका तीन ठूला व्यवसायिक संस्था अधिवेशन तथा साधारणसभाको तयारीमा जुटेका छन् ।

लामो समय सुनसान रहेका संस्थामा चुनावी मिति नजिकिएसँगै व्यापारीहरुबीच चहलपहल बढेको छ । यहाँका मुख्य राजनीति दलले समेत यी संस्थामा नेतृत्व कसलाई गराउने भन्ने योजना बनाइरहेका छन् । जसकारण यसमा सबैको चासो बढेको हो ।

उद्योग संघको अधिवेशन असोज २३ मा

रूपन्देही उद्योग संघको ४३ औं साधारणसभा तथा २२ औं अधिवेशन असोज २३ गते हुने भएको छ । संघको अधिवेशन सम्पन्न गर्नका लागि संघका कानूनी सल्लाहकार यमलाल खनाल संयोजक रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरेको संघका महासचिव जीवकान्त काफ्लेले बताए ।

संघमा एक हजारभन्दा बढी सदस्य छन् । संघमा एमालेनिकट उद्योगीको बहुमत छ । आगामी नेतृत्वका लागि एमालेको प्रतिनिधित्व गर्दै वरिष्ठ उपाध्यक्ष माधव पौडेल र एमालेबाहेकका अन्य दलहको गठबन्धन बनाएर कांग्रेसनिकट उद्योगी उद्योगी महेश थैवलाई अगाडि सार्ने तयारी गरिएको छ ।

तर एमालेको बहुमत रहेको र सबै मिलेपनि नेतृत्व लिन नसक्ने अवस्थामा गठबन्धन पक्षबाट पदाधिकारीसहित केही सदस्य लिएर निर्विरोध गर्ने पहल पनि भइरहेको एक उद्योगीले बताए ।

निर्वाचन समितिले सार्वजनिक गरेको तालिकाअनुसार संघको निर्वाचन कार्यक्रम असोज २० गतेबाटै सुरु हुनेछ । असोज २० गते मतदाता नामावली प्रकाशन गरिनेछ भने असोज २१ गते उम्मेदवारीको मिति तोकिएको छ । मतदान असोज २३ गते हुने जनाइएको छ ।

संघका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीका अनुसार संघमा कुल मतदाता संख्या ९ सय ५३ रहेको छ, जसमा महिला सदस्य ८० र एशोसियट सदस्य ५७ रहेका छन् ।

सकेसम्म सहमति, नभए एमाले एक–अरु एक भएर चुनाव लड्ने

संघको आगामी नेतृत्वको लागि उद्योग सदस्यहरुले उम्मेदवार बन्ने चाहना व्यक्त गर्दै आन्तरिक छलफलमा लागेका छन् । उद्योगीहरु दलीयरुपमा विभाजित रहेको हुँदा उम्मेदवारहरुको छनौट पनि त्यसैअनुसार हुने गरेको छ ।

स्रोतका अनुसार यसपटक संघमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भएको छ तर मिलिसकेको अवस्था छैन । संघको अध्यक्षसहितका केही पदहरुमा सर्वसम्मत हुन सके पनि केही पदाधिकारी र सदस्यहरुमा सर्वसम्मत हुन गाह्रो हुने बताइएको छ ।

पछिल्लो समयमा राजनीतिक रुपमा भैरहेको ध्रुवीकरण र विभाजनको प्रभाव संघको निर्वाचन तथा उम्मेदवार छनौटमा पनि पर्ने देखिएको छ । विशेषगरी एमालेनिकट उद्योगीहरुको बाहुल्यता रहेको संघको यसपटकको निर्वाचनमा पदीय भागबण्डा नमिलेमा एमालेविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादी निकट उद्योगीहरुले मोर्चाबन्दी गर्ने तयारीमा छन् ।

माओवादीनिकट उद्योगीहरु जसरी पनि एमालेविरुद्ध मोर्चाबन्दी बनाएर अगाडि बढ्न खोजेका छन् भने कांग्रेसनिकट उद्योगीहरु केही पद लिएर सर्वसम्मत बनाउने पक्षमा लागेका छन् ।

संघको अध्यक्षमा अहिलेसम्म संघका वर्तमान वरिष्ठ उपाध्यक्ष माधव प्रसाद पौडेल निर्विरोध हुने अवस्था छ । पौडेलविरुद्ध कसैको नाम आएको छैन तर अन्य पदहरुमा सहमति हुन नसकेको खण्डमा एमालेविरुद्धको मोर्चाले अध्यक्षमा पनि उम्मेदवार बनाउने जनाएका छन् । यदि त्यो अवस्था आएमा दुई प्यानल बन्न सक्ने छ ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा वर्तमान प्रथम उपाध्यक्ष दिलिप सापकोटाले उम्मेवारी दिने जनाइएको छ । प्रथम उपाध्यक्षमा कृष्णप्रसाद पराजुली र द्वितीय उपाध्यक्षमा जीवकान्त काफ्लेको चर्चा छ ।

संघको महत्वपूर्ण पद महासचिवमा वर्तमान कोषाध्यक्ष हरिबहादुर खत्री र सचिव हिरामणि भट्टराईले चाहना व्यक्त गरेका छन् । यसैगरी सोही पदमा वर्तमान महिला सचिव माया खनालले पनि उम्मेदवारी दिने भन्दै उद्योगीहरुसंग भेटघाट गरेकी छन् ।

कोषाध्यक्षमा वर्तमान सहकोषाध्यक्ष गिरिराज गैरे (राजु)ले चाहना व्यक्त गरेका छन् भने महासचिव दावी गरेका वर्तमान कोषाध्यक्ष खत्री र सचिव भट्टराईमध्ये एक जनाको कोषाध्यक्षमा अर्काको महासचिवमा उम्मेदवारी पर्न पनि सक्ने अवस्था आउने छ ।

सहमतिमा नेतृत्व चयन गर्ने प्रयास पनि जारी रहेको हुँदा पदहरुमा तलमाथि एवं नयाँ अनुहार पनि आउनसक्ने जनाइएको छ ।

यता महिला सचिवमा वर्तमान महिला सदस्य मञ्जु भुसाल, सरला भण्डारी, जमुना सुवेदी पोखरेल तथा रचना पन्तको चर्चा छ । वर्तमान कार्यसमिति सदस्य यादव गैरे, यमलाल भट्टराई, सुरेन्द्र ज्ञावली, प्रेमबहादुर आले, वसन्त ढकाल, मोहनीलाल रिजालले सचिव वा सहकोषाध्यक्षमा उक्लने तयारीमा छन् ।

संघमा आगामी नेतृत्वको लागि स्पष्टसंग एमाले सर्मथक उद्योगीहरु एकातिर र कांग्रेस, माआवादी केन्द्र, एकीकृत समाजवादी र जसपा सर्मथक उद्योगीहरु अर्कोतर्फ बाँडिएका छन् । जसले गर्दा पदीय भागबण्डा सहज हुनसकेको छैन ।

हालसम्म संघमा रहेको एमालेको बाहुल्यता र नेतृत्व तोड्न यसपटक कांग्रेस, माआवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले मोर्चा बनाएर जानुपर्ने मत जबरजस्त रुपमा आएको छ । यदि त्यो मत बलियो बनेको खण्डमा चुनावी मैदानमा दुई प्यानल बन्नसक्ने छ ।

स्रोतका अनुसार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले संघमा रहेको एमालेको पकडलाई तोड्न सहमति गरेर नभइ निर्वाचन गरेर जानुपर्छ भन्दै आन्तरिक रुपमा उम्मेदवार तयार गर्ने काम गरिरहेका छन् ।

तीन दलले पद भागबण्डा गरी प्यानल बनाउने जनाइएको छ । जसअनुसार संघको २० औं अधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवार बनेका महेश थैवको नेतृत्वमा टिम बनाएर अगाडि सार्ने प्रयास भैरहेको छ तर थैव आफू उम्मेदवार हुने कुरामा सहमति अझै नदिएको बताइएको छ । यो प्रयास पूरा भएमा सबै पदमा उम्मेदवारी दिने सो समूहले जनाएको छ ।

निर्वाचनको मिति नजिकिँदै जाँदा संघका पूर्वअध्यक्ष तथा अग्रज उद्योगीहरुले सहमतिको प्रयासस्वरुप बसाई थालेको संघका पूर्वअध्यक्ष बोनिन पियाले बताए । उनका अनुसार सबैको हैसियत र क्षमताअनुसार संघमा प्रतिनिधित्वको खोजी भएको हुँदा सहमतिको प्रयास गरेको तर अन्तिम टुंगो लागेको छैन । पियाले आफूहरुलाई कमजोर ठानेर अस्तित्व स्वीकार नगर्ने अवस्था आएमा प्यानल बनाएर चुनावमा जाने तयारी छ ।

संघका निर्वतमान अध्यक्ष गणेशप्रसाद अधिकारी बदलिएको राजनीतिक अवस्थाले संघसंस्थाहरुमा पनि प्रभाव परेको छ, तर उद्योग र उद्यागीहरुको भावनाअनुसार नयाँ नेतृत्व चयन गर्ने कुरामा कुनै कसर बाँकी नराख्ने बताउँछन् ।

संघका अध्यक्ष बाबुराम बोहोराले संघको गरिमा र उद्योगीहरुको चाहना अनुसार नेतृत्व चयन हुने हुँदा सर्वसम्मत बनाएर जाने प्रयास पनि गरिएको बताए । बोहोराका अनुसार सहमति जुटाउन संघका पूर्वअध्यक्षहरुलाई जिम्मा दिएको र सहमति हुन नसके निर्वाचनको विधि अनुसार अगाडि जानुपर्ने हुन्छ ।

संघको २१ औं अधिवेशनमा अध्यक्षमा बाबुराम बोहोरा, वरिष्ठ उपाध्यक्षमा माधवप्रसाद पौडेल, प्रथम उपाध्यक्षमा दिलिप सापकोटा र द्वितीय उपाध्यक्षमा कृष्णप्रसाद पराजुली निर्विरोध भएका थिए ।

महासचिवमा भने शिवकुमार पाठक र जीवकान्त काफ्लेको उम्मेदवारी परेको थियो । जसमा काफ्ले विजयी भएका हुन् । कोषाध्यक्षमा हरिबहादुर खत्री र दीपक खनाल, सचिवमा हिरामणि भट्टराई र चन्द्रकान्त खनाल, महिला सचिवमा रेनुका खरेल र माया खनाल, सह कोषाध्यक्षमा माधव रेग्मी र गिरिराज गैरेको उम्मेदवारी परेको थियो । जसमा खत्री, भट्टराई, खनाल र गैरे विजयी भएका थिए ।

संघको विधानअनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव, सहकोषाध्यक्ष सहित सदस्यतर्फ बुटवल नगरपालिकादेखि पश्चिम क्षेत्रतर्फ २, सेवामूलक सदस्य १, साधारण सदस्य खुल्ला ८, संस्थागत सदस्य १, सिद्धार्थ नगरपालिका क्षेत्र १, एशोसियट सदस्य खुल्ला १, योगिकुटीदेखि पडसरी क्षेत्र १, बुटवलनगरपालिकादेखि पूर्वी क्षेत्र १, बुटवल औद्योगिक क्षेत्र १, एशोसियट सदस्य (सिमरानादेखि लुम्बिनीसम्म) १, र महिला सदस्य ३ जना चयन हुने संघका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीले वताए ।

व्यापार संघको नेतृत्वका लागि सरगर्मी सुरु

रूपन्देही व्यापार संघको ११ औं अधिवेशन आगामी कात्तिक २८ गते हुने भएको छ । संघले आफ्नो स्थापना दिवसको दिन पारेर २० औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष यमलाल लोहनीले बताए ।

संघले व्यापारीहरूको व्यवसायिक अभिलेख समेट्ने गरी व्यापार डाइरेक्ट्री एवम् आर्थिक क्रियाकलापहरू समेटी स्मारिका प्रकाशन गर्ने निर्णय भएको संघले जनाएको छ ।

संघको ११ औं अधिवेशनले नयाँ नेतृत्वको चयन समेत गर्नेछ । संघमा हाल करिब २ हजार व्यवसायीहरू आबद्ध रहेका छन् । व्यापार संघमा पनि एमालेनिकट व्यापारीहरुको बर्चश्व छ ।

यसको नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष कृष्ण घिमिरे अगाडि सरेका छन् तर अहिलेका अध्यक्ष यमलाल लोहनीले सर्वसम्मत पाए थप एक कार्यकाल रहने इच्छा गरेको संघका एक पदाधिकारीले बताए ।

उद्योग वाणिज्य संघ साधारणसभाकाे तयारीमा

बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीको साधारणसभा असोज १८ मा हुने निर्णय गरिएपनि तयारी नपुगेको भन्दै सारिएको छ ।

संघको कार्यसमिति बैठकले संघको ६८ औं वार्षिक साधारण सभा असोजको १८ गते गर्ने निर्णय गरेपनि केही समय सारिएको संघले जनाएको छ ।

महासचिव विमलराज भट्टराईले सल्लाहकार सभापछि साधारणसभाको मिति तोकिने जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर