फिल्ममा कमब्याक तयारीमा राजवल्लभ कोइराला – Nepal Press

फिल्ममा कमब्याक तयारीमा राजवल्लभ कोइराला

काठमाडौं। सन् २०१५ मा रिलिज भएको फिल्म ‘हाइवे टु धम्पुस’पछि अभिनेता राजवल्लभ कोइराला अमेरिका हानिए । त्यतै घरजम गरेर बसेका उनी अहिले एक प्रविधिमा कार्यरत छन् । यस्तोमा यी चकलेटी हिरो फिल्ममा कमब्याकको गतिलो अवसरको खोजीमा छन् ।

छोडी गए पाप लाग्लादेखि फिल्म करियर सुरु गरेका राजवल्लभले मसान, अपवादजस्ता समीक्षात्मकरुपमा हिट फिल्ममा समेत अभिनय गरे । बक्सअफिस र क्रिटिक्सको रोजाइमा पर्ने राजवल्लभलाई ठूले पर्दामा हेर्न उनका प्रशंसक समेत आतुर छन् । आफूलाई केही निर्देशकबाट फिल्मको लागि प्रस्ताव आएको र कमब्याकको तयारीमा रहेको राजवल्लभले बताएका छन् । सम्भवतः चाँडै उनले कमब्याकको घोषणा गर्ने भएका छन् ।

ओमविक्रम विष्टको गीतबाट पुनरागमन

‘म मौनतामा अल्झिरहेको एउटा जीवन’, ‘सुन चाँदीभन्दा’, ‘बदनाम भै नजाऊ’, ‘नभनिदेउ तिम्रो ओठको लाली’, ‘म सम्झन्थे हो’, ‘मलाई मात्रै हो कि प्रीति बिझाएको’ जस्ता कालजयी गीतका गायक ओमबिक्रम बिष्टको स्वर तथा संगीतमा रहेको गीत ‘उनीआउने’ को भिडिओ रिलीज भएको छ । हाल अमेरिकामा उपचार पश्चात स्वास्थ्यलाभ लिईरहेका बिष्टले यो गीत केहि बर्ष अगाडी नै तयार गरेका थिए ।

म्याक्स टिभि नेपालले निर्माण गरेको यो गीतको भिडिओमा राजबल्लभले अभिनय गरेका छन् । उनको साथमा संजिता कोईरालाको अभिनय छ । ‘मोडहरुमा’ एल्बममा समावेश यस गीतमा विजय शिवाकोटीको शब्द रचना छ ।

भिडिओलाई नवराज आचार्यले निर्देशन गरेका छन् । अमेरिकामा नै पूर्ण छायाँकन गरिएको यस भिडिओका निर्देशक आचार्यले एक दशक अगाडी ‘कलिउड’ नामक फिल्म निर्देशन गरेका थिए । आचार्य पनि अहिले अमेरिकामा नै बस्दै आएका छन् । भरत रेग्मीले सम्पादन तथा कलर ग्रेडिंग गरेको भिडिओका छायाँकार शम्भु मोक्तान हुन् ।

अभिनेता कोइरालाले गायक बिष्टको गीतमा अभिनय गर्न पाउनु राम्रो अवसर भएको बताए । ‘शुरुमा म भिडिओको लागि तयार छु कि छैन जस्तो लागेको थियो । जब मैले कन्सेप्ट सुने, त्यसलाई मैले न्याय गर्न सक्ने अवस्था देखेँ । ओम दाईको गीतमा काम गर्न पाउनु र टीम नै राम्रो देख्दा मैले राम्रो अवसर पाएको जस्तो लाग्यो । अमेरिकामा बनाए पनि काम एकदमै राम्रो भएको देखिएको छ’, राजले बताए ।

राजवल्लभले अमेरिकामा रहँदा तीनवटा म्युजिक भिडिओमा अभिनय गरेका छन् । पछिल्लो पटक उनले तीन बर्ष अगाडी अम्बिका गुरुङ र रामकृष्ण ढकालको गीतमा अमेरिकाबाट नै अभिनय गरेका थिए ।

नेपालमा अभिनयमा सक्रिय रहँदा त्यतिबेलाका चर्चित निर्देशक भुषण दाहाल, आलोक नेम्वाङ, प्रसन्न पौडेल लगायतसँग केहि म्युजिक भिडिओ गरेका थिए । कोईरालाले ‘पर्खि बसेँ’, ‘गुरु दक्षिणा’, ‘पहिलो पहिलो माया’, ‘किन लाग्छ माया’, ‘पल’, ‘प्रीतिको फुल’, ‘मसान’, ‘ऋतु’ लगायतका तीसभन्दा बढी नेपाली फिल्मको साथमा नेपाल र अमेरिकी ज्वाइन्ट फिल्म ‘हाईवे टु धम्पुस’मा अभिनय गरेका छन् । नेपालमा उनि पहिलो चलचित्र ‘पर्खि बसेँ’ चलचित्रबाट सुपरहिट भएका थिए ।

‘पहिले चलचित्रमा भएको व्यस्तताले मैले धेरै म्युजिक भिडिओ गर्न सकेको थिईन । पहिले चलचित्रभन्दा माथी म्युजिक भिडिओलाई हेरिदैँन थियो, अहिले अवस्था फरक भईसकेको छ । म्युजिक भिडिओलाई पनि उस्तै महत्व दिने गरिन्छ’, आफू भिडिओमा अभिनयको लागि सँधै तयार रहेको बताउँदै उनले भने, ‘मैले चाहेर मात्र यहाँ अभिनय गर्न सक्दिन । मैले संख्या मात्र थपेर हुँदैन । स्रोत र साधनको कुराले यहाँ कम भिडिओहरु तथा चलचित्रहरु बन्छन् । मैले चाहेर मात्र नभएता पनि म काम गर्नको लागि तयार चाहिँ छु । हालै मात्र एक फिल्मको अफर पनि आएको छ’ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर