खसीबोका बजारीकणमा सारथि बन्यो सहकारी, किनबेच गर्न गाउँ चहार्नुपर्ने बाध्यता हट्यो
खसी बेचेर वार्षिक सात लाखसम्म कमाउँछन् किसान
चितवन । चितवनका ग्रामीण बस्तीमा सहकारीमार्फत खसीबोकाको बजारीकरण हुन थालेको छ । कालिका नगरपालिकाको देवीटार, गैरीबारी, अजिंगरे, चिसापानी, भर्लाबारीलगायत गाउँका किसानले सहकारीमार्फत खसीबोका बेच्दै आएका छन् । लगनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाले बजारीकरणमा सघाएको हो ।
गत वर्ष एक करोड ४० लाख रुपैयाँ बराबरको खसीबोका बेचेको सहकारीले यो वर्ष पनि सोही हाराहारीमा कारोबार गर्ने लक्ष्य लिएको छ ।
सहकारीका अध्यक्ष छमीकुमारी रानामगरले किसानको घरदैलोमै पुगेर खसीबोका लिएर आउने गरेको बताइन् ।
‘सहकारीकै गाडी खसीबोका लिन गाउँ–गाउँ पुग्छ’, उनले भनिन्, ‘किसानले बेच्ने मूल्यमै बेचर प्रतिकेजी १० रुपैयाँमात्रै सहकारीमा जम्मा हुन्छ, अरु सबै किसानले नै पाउँछन् ।’
किसानले हचुवाको भरमा खसीबोका बेच्दै आएकोमा सहकारी बनेपछि किसानले जोखेर बेच्न थालेको उनले बताइन् ।
सहकारीले किसानबाट खरीद गरेर बजारका मासु पसलसँग समन्वय गरेर बिक्री गर्दै आएको छ । अहिले खसीबोका बेच्न ग्राहक खोज्नुपर्ने बाध्यता हटेको उनले बताइन् ।
सहकारीमा ७ सय ५० किसान आवद्ध छन् । सहरकारीमा आवद्ध किसानले ५ देखि ५० वटासम्म बाख्रापालन गर्दै आएका छन् । सबै किसान बाख्रापालनमा सक्रिय छन् ।
सहकारीले ५२ वटा समूह बनाएर कालिका ७, ८ र ९ मा किसानलाई बाख्रा पकेट क्षेत्र बनाउन सघाएको छ । सहकारीका व्यवस्थापक जुना लामाले साउनयता ५ सय वटा खसीबोका बेचिएको बताइन् ।
‘पछिल्लो हप्ता १७ वटा खसी बेच्यौँ’, उनले भनिन्, ‘ग्राहक खाली हात फर्किनु नपरोस् भनेर किसानबाट खरिद गरेर ५० वटा खसीबोका स्टकमा राखेका छौँ ।’ संकलन केन्द्र बनाएपछि व्यवसायी तथा ग्राहक गाउँ–गाउँ चहानुपर्ने बाध्यता हटेको छ ।
खरी, खवारी, जमुनापारीलगायतका स्थानीय जातका बाख्रा पाल्दै आएका छन् । हेफर इन्टरनेशल नेपाल संस्थाले किसानलाई २ देखि ७ वटासम्म बाख्रा उपहार दिएपछि किसानहरु बाख्रपालनमा लागेका हुन् ।
सहकारीमा किसानले मासिक १ सयदेखि १ हजार रुपैयाँसम्म बचत गर्छन् । मासिक ३ लाख बचतहुँदै आएको व्यवस्थापक लामाले बताइन् ।
बिनाधितो २० हजारदेखि ५ लाखसम्म कर्जाप्रवाहहुँदै आएको पनि उनले बताइन् । ‘अधिकांश किसानले व्यवसाय विस्तारका लागि कर्जा लिएका छन्’, उनले भनिन्, ‘बाख्रापालनलाई विस्तार गर्ने लक्ष्य धेरैको छ ।’
घर–घरमा खसीबोका
कालिका ७, ८ र ९ वडाहरु खसीबोकाको हबका रुपमा चिनिएको छ । हरेक किसानले व्यवसायीक रुपमा खसीबोका पालेका छन् । मलेसिया १० वर्ष बसेर फर्केका देवीटारका दलबहादुर राना बाख्रपालनमा व्यस्त छन् । ‘पोहोर दसैंमा १० वटा खसी बेचें, यसपालि २ वटा खसी बेच्दै छु’, उनी भन्छन्, ‘एउटै खसीबाट २८ हजार आम्दानी हुन्छ, वर्षमा ३ लाख कमाइ छ ।’
उनले यसपालि ८ वटा खसी बेचिसकेका छन् । खोरमा १३ वटा बाख्रा छन् । देवीटारका खिरबहादुर रानाको खोरमा ३३ वटा बाख्रा छन् । उनले वर्षमै ७ लाख कमाउँछन् ।
‘आम्दानी लिन सजिलो छ, अझै बाख्रा बढाउने सोचमा छु’, उनी भन्छन्, ‘कमाउन विदेशनै जानुपर्छ भन्ने छैन ।’
अजिंगरेकी उमा चेपाङ बाख्राको आम्दानी देखेर दंग छिन् । ‘नुन, तेल जुटाउन पनि गाह्रो थियो, आजकल बाख्रा बेचेपछ ढुक्क हुन्छौँ’, उनले भनिन्, ‘वर्षमै १ लाख कमाउँछु ।’
सोही गाउँका नरजंग चेपाङको खोरमा १७ बाख्रा छन् । यसपालि ४ वटा बेचिसके । ‘घरखर्च जुटाउन सजिलो छ’, उनी भन्छन्, ‘अझ धेरै बाख्रा पाल्ने रहर छ ।’ पाखाबारी धेरै भएकाले खुला चरनमा छाडेर हुर्केका बाख्राको बजार निकै राम्रो छ ।
१० हजार खसीबोका मासु पसललाई
खसीबोका मासु व्यवसायी संघ चितवनले मासु पासललाई यसपालिको दसैंमा करिब १० हजार खसीबोका खपत हुने अनुमान गरेको छ ।
संघका अध्यक्ष उद्वव तिम्सिनाले घटस्थापनादेखि कोजागत पूर्णिमाको अवधिमा धेरै कारोबार हुने अपेक्षा गरे । ‘गत वर्ष ५ हजारमात्रै खपत थियो, यसपालि १० हजार हुने अपेक्षा छ’, उनले भने, ‘२ वर्षयता मासुको कारोबारमा गिरावट आएको छ ।’
कोरोना संक्रमण सुरु हनुअघि पहिलेका चाडपर्वमा मासु व्यवसायीले १५ दिन पहिल्यै खसीबोका खरिद गरेर स्टक गर्थे । तर, यसपालि मासु व्यवसायीले खरिदमा खासै चासो देखाएका छैनन् ।
‘गत वर्ष २५ प्रतिशतमात्रै खपत भएपछि यसपालि पहिल्यै स्टक नगर्ने धेरै छन्’, उनले भने, ‘गाउँगाउँमा बाख्रापालन भएकाले अभावको अवस्था पनि छैन ।’
संघमा करिब २ सय मासु व्यवसायी आवद्ध छन् ।