जीवन शाहीले छोरालाई उपसभापति बनाएपछि हुम्ला कांग्रेसमा विवाद, देउवा र पौडेल पक्षका समानान्तर समिति – Nepal Press

जीवन शाहीले छोरालाई उपसभापति बनाएपछि हुम्ला कांग्रेसमा विवाद, देउवा र पौडेल पक्षका समानान्तर समिति

सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादु्र शाहीले आफ्नै छोरालाई पार्टी उपसभापति बनाएपछि हुम्ला कांग्रेसमा विवाद चर्केको छ । संस्थापन पक्ष र रामचन्द्र पौडेल पक्षले छुट्टछु्ट्टै जिल्ला समिति बनाएका छन् ।

प्रदेश सभा क्षेत्र ‘क’ र ‘ख’ मा असोज १३ गते उद्घाटन सत्र सम्पन्न भएका थिए । प्रदेश सभा क क्षेत्रमा देउवा पक्षले मानदेव शाहीको नेतृत्वमा र पौडेल पक्षले लोकेन्द्र भण्डारीको नेतृत्वमा समिति बनाएका हुन् । यस्तै प्रदेश ‘ख’ मा पौडेल पक्षबाट धनजित भण्डारी, देउवा पक्षका दशी लामालाई निर्वाचित गरिएको थियो ।

कांग्रेसको जिल्ला सभापतिको निर्वाचनमा पनि गुटगत प्रभाव परेको छ । आज सम्पन्न भएका गुटगत भेलामा पौडेल पक्षबाट रामबहादुर भण्डारी र देउवा पक्षले मोहन सिंहलाई सभापति चयन गरेका छन् ।

कांग्रेस नेता जीवन शाहीले छोरा भरत शाहीलाई ‘ख’ प्रदेशका उपसभापति बनाएका छन् । छोरा मात्र होइन, शाहीका स्वकीय सचिव राजबहादुर रोकाया र चन्द रावल महाधिवेसन प्रतिनिधि बनेका छन् । यस्तै भाइबुहारी मधु शाहीलाई पनि शाहीले महाधिवेसन प्रतिनिधि बनाउने तयारी गरेका छन् । सीता माध्यमिक विद्यालयमा पढाउने मधु बालमन्दिर माध्यमिक विद्यालय हुम्लाकी समेत शिक्षिका हुन् ।

हुम्लमा शाहीले एकलौटी निर्वाचन गर्न लगाएर शक्तिको दुरुपयोग गरेको कांग्रेस कार्यकर्ताको गुनासो छ ।
‘उहाँले तानाशाही प्रवृत्ति देखाउनुभयो, त्यो गलत छ,’ प्रदेश सभापति लोकेन्द्र भण्डारीले भने, ‘यसको हिसाब उहाँले आगामी चुनावमा चुकाउनुहुनेछ ।’

तर शाही पक्षधर नेतृ रीता शाहीले भने आफूहरुले पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन खोजिरहेको बताइन् ।
‘मेरो सर्केगाड नगरपालिकामा मात्रै चुनाव भएको हो । अन्यत्र भएन,’ उनी भन्छिन्, ‘बहुदलमा शासन लगाउन पाइदैन ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर