ओलीले केही टारे, केही अघि सारे (गोदावरीका सवाल-जवाफसहित)
काठमाडौं । नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन ललितपुरको गोदावरीमा तीन दिनसम्म चलेर आइतवार सकिएको छ। करिब ६ हजार प्रतिनिधि सहभागी महाधिवेशनमा १० समूह बनाएर प्रस्तुत तीन प्रस्तावमाथि छलफल समेत गरिएको थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठानिक र उपमहासचिव विष्णु पौडेलले पेस गरेको विधान संशोधन केही हेरफेरसहित हलबाट अनुमोदन समेत भएको थियो ।
समूहगत छलफलमा तीनवटै प्रस्तावमाथि सुझाव र प्रश्न उठेका थिए। सांगठानिक र विधान संशोधन सम्बन्धी प्रस्तावमाथिका सुझाव र प्रश्न हल भए भने राजनीतिक प्रतिवेदनमाथिका जिज्ञासा अध्यक्ष ओलीले मेटाउने कोसिस गरेका थिए।
आफ्नो प्रतिवेदनमा उठेका प्रश्नहरुमध्ये ओलीेले केहीको जवाफ दिए भने केहीको त्यतिकै टारिदिए। विधान महाधिवेशनको अन्तिम दिन प्रतिधिहरुलाई आश्वस्त पार्न खोजेका ओलीेले सबै प्रश्न र सुझावको पनि जवाफ दिएनन् ।
यहाँ केही प्रतितिधिहरुले सोधेका मुख्य प्रश्नमा ओलीले कुनको कसरी जवाफ दिए र कुन टारे भन्ने बुझाउन खोजिएको छ ।
केही प्रतिनिधि: व्यक्तिलाई ‘ब्रान्डिङ’ गर्नुहुँदैन । पार्टीलाई स्थागत रुपमा विकास गर्नुपर्छ ।
वैचारिक भनिएको महाधिवेशनमा ओलीको ठूला–ठूला पोष्टर र प्रतिमा देखिन्थे । स्वाथ्य खराबीका कारण महाधिवेशनमा ओली खासै देखिएनन् । र, उपस्थित सबैले ओलीसँग तस्बिर खिचाउन सम्भव पनि हुँदैन्थ्यो । त्यसैले धेरै प्रतिनिधिले ओलीको प्रतिमासँग फोटो खिचाएर रहर पुरा गरेका थिए। महाधिवेनस्थलमा वितरण गरिएको पानीको बोतलमा समेत ओलीको तस्बिर छापिएको थियो । यसैलाई इंगित गर्दै केही प्रतिनिधिले नेतृत्वलाई देवत्वकरण गर्नुहुँदैन भन्ने सुझाव राखेका थिए ।
यसबारे जवाफ दिने क्रममा ओलीले देवत्वरकरण आफूले पनि स्वीकार नगर्ने तर नेतृत्वको वरिपरि गोलबन्द भने हुने भनाइ राखेका थिए । नेतृत्वलाई खुइल्याउन अनेक प्रयास भएको उनको भनाइ थियो।
ओली: केहीले के खोजेका, के सोचेका छन् भने यहाँ बहुत झगडा भइदिए हुन्थ्यो। मारामार भइदिए हुन्थ्यो । नेता कोही स्थापित हुन नपाए हुन्थ्यो । सब खुइलिए हुन्थ्यो, सबैलाई खुइल्याउन पाए हुन्थ्यो । आफ्नै भित्र अनेकथरी लान्छाना लगाउन पाएदेखि त्यसैलाई समातेर भन्न पाइन्थ्यो। अनि उनीहरु देवत्वकरणका कुरा उठाउँछन्। हामी कसैलाई देवता मान्दैनौं, देवत्वकरण गर्दैनौं ।
तर, नेतृत्व हुन्छ, नेतृत्वको वरिपरी पार्टी एकीकृत हुन्छ । त्यो स्वभाविक हो । पुष्पलालका वारीपरी, पुष्पलालले अगाडि सारेका विचारका वरिपरी हामी सबै आजसम्म गोलबन्द भएका छौं । कार्लमार्क्सले अघि सारेका दर्शन, सिद्धान्त वरीपरि हामी गोलबन्द भएका छैनौं ? लेनिनका वरिपरि सिँगै रुस गोलबन्द भएन ? माओको वरिपरी सिँगै चीन गोलबन्द भएर क्रान्ति सम्पन्न गरेन ?
पुष्पलाल हुँदा पुष्पलाललाई एउटा पनि महाधिवेशन गर्न दिइएन । तपाईं नेता हो भन्न छोडिएन तर हुर्मत लिने काम पनि सधैं गरियो । तपाईं नेता हो भन्ने तर महासचिव अर्कै बनिहाल्ने । एउटा भनाइ छ– नासान्त्य बहुनायका । नायकहरुको झगडा भयो भने सकिन्छ । नायकै नायक हुनुपर्छ तर एकतावद्ध नायक । (आफू वरिपरि रहेका नेताहरुलाई देखाउँदै) जस्तो हाम्रो टिम छ ।
प्रतिनिधि: प्रतिष्पर्धी दलबारे प्रष्ट धारणा आएन । हाम्रो प्रमुख विरोधी दल कुन हो भन्ने कसरी खुट्याउने ?
ओलीले पेस गरेको प्रतिवेदनमा कांग्रेसलाई दलाल पुँजीपतिहरुको प्रतिनिधि भनिएको छ। माओवादी पार्टीप्रति नरम रहेको प्रतिवेदन प्रचण्डप्रति भने आक्राम छ। प्रचण्डलाई अस्थिर र चरम अवसरवादी भनिएको छ। शास्त्रीय कम्युनिष्ट पार्टीमा प्रमुख दुश्मन पार्टी करार गर्ने प्रचलन हुन्छ । प्रतिनिधिहरुको आवाज पनि प्रमुख विरोधी पार्टी किटान गरिनुपर्यो भन्ने थियो । ओलीले भने यसको जवाफ दिँदै त्यस्ता कुरामा शास्त्रीय हुन नुहने भन्दै एमालेसँग जोड विवाद गरिरहेको छ त्यसलाई नै विरोधीका रुपमा बुझ्न भनेका थिए ।
जनतालाई भन्नुपर्याे–बाटो बनाउनु पनि समाजवाद हो । पुल बनाउनु पनि समाजवाद हो । खानेपानी गाउँ–गाउँमा पुर्याउनु समाजवाद उन्मुख हो । स्कुल राम्रा बनाउनु समाजवाद उन्मुख हो । वेरोजगारी दिने होइन, रोजगारी दिने शिक्षा हो । कृषिको बजारीकरण हो ।
ओली: हामी धेरै अलमलिन हुँदैन । हामी कहिलेकाँही सिद्धान्त र व्यवहारमा अलमलिन्छौं । विरोधीले थप्पड हानीसक्छ गालामा अनि हामी शास्त्र पल्टाउन थाल्छौं । शास्त्रले के भन्छ, यो गालामा हान्ने विरोधी हो कि होइन ? यत्ति सारो शास्त्रवादी हुन जरुरी छैन् । जो तपाईंसँग लडिराख्या छ, त्यो विरोधी हो । जो तपाईंसँग लडिराख्या छैन्, सँगै काम गरिराख्या छ त्यो मित्र हो । हाम्रो पार्टीका विग्रेका मान्छे को हुन, जो छाडेर गए । जो यहाँ छन् सप्रेका छन् भन्ने प्रमाण यो भन्दा बढी केही चाहिन्छ ? छर्लङ्गै छ नि । हाम्रो सरकार ढाल्न ककसले भूमिका खेले, जसले हामीलाई प्रतिपक्षमा पुर्याए । कम्युनिष्ट सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउनु अग्रगमन र क्रान्तिकारी हो भनेर गए, नेकपा (एमाले)को सरकार ढालेर क्रान्ति गर्याैं भने ।
प्रतिनिधिः समाजवादसम्मको यात्राबारे प्रष्ट दृष्टिकोण आएन । हामीले कसरी समाजवादसम्मको यात्रा गर्ने ?
यसको जवाफ दिँदै ओलीले समाजवादलाई सजिलो गरि बुझ्नुपर्नेमा जोड दिए । माथिल्लो तहमा समाजवादमाथि शास्त्रीय शब्दावली प्रयोग गरेर सैद्दान्तिक बहस गर्न सकिए पनि आम जनताले त्यो नबुझ्ने भन्दै जनताको भाषामा त्यो बुझाउनुपर्ने ओलीको भनाइ थियो ।
ओली: गाउँ घरका दिदीबहिनी, दाजुभाइले उन्नतस्तरको समाजवाद, अलि तल्लो स्तरको साझजवाद, उन्मुख समाजवाद भनेर बुझ्नुहुन्न । यो सबै के–के हो, कस्तो कस्तो हुन्छ ? कति लामा सिङ, कति लामा कान हुन्छन् भन्ने थाहा पाउँदैनन् । जनताले थाहा पाउनेगरि हामीले भन्ने कुरा चाहिँ के हो भने हाम्रो देश विकास हुनुपर्छ, यहाँ शुशासन हुनुपर्छ । भ्रष्टाचारको अन्त्य हुनुपर्छ र समृद्ध देश हुनुपर्छ । हरेक नेपालीले रोजगारी पाउने, खाने बस्ने ठाउँ पाउने हुनुपर्छ । हरेक नेपालीले खाना पाउनुपर्याे, लगाउन पाउनुपर्याे। बस्ने आवास पाउनुपर्याे । छोराछोरी पढाउन सक्ने अवस्था हुनुपर्याे । विरामी हुँदा औषधि उपचार पाउनुपर्याे, अकाल मृत्यु हुन भएन । र, सुविधा सम्पन्न जीवन बाँच्दै जान पाउनुपर्याे ।
धेरै जटिल बनाउन आवश्यक छैन। हामीले छलफल गर्दा, केही सैद्धान्तिक, केही वैचारिक र केही परम्परागत शब्दावलीको प्रयोग गर्न सक्छौं । तर, जनताको बीचमा जाँदा त्यो भनेको के हो भनेर मुर्त चित्र हामीले कोर्न सक्नुपर्छ । जनतालाई भन्नुपर्याे–बाटो बनाउनु पनि समाजवाद हो । पुल बनाउनु पनि समाजवाद हो । खानेपानी गाउँ–गाउँमा पुर्याउनु समाजवाद उन्मुख हो । स्कुल राम्रा बनाउनु समाजवाद उन्मुख हो । वेरोजगारी दिने होइन, रोजगारी दिने शिक्षा हो । कृषिको बजारीकरण हो ।
प्रतिनिधि: दलाल पुँजीवादबारे थप ब्याख्या गर्दै यसविरुद्ध लडाइँ कसरी लड्ने भन्नेबारे प्रष्ट पार्नुपर्याे ।
नेपालमा दलाल पुँजीवाद हावी भएको भन्दै ओलीले पछिल्लो समय आक्रामक टिपप्णी गर्ने गरेका छन् । नेपालका धनाढ्यले पैसा धेरै कमाउने तर कर कम तिर्ने गरेको भन्ने ओलीको टिप्पणीप्रति नेपालका एकमात्र अर्बपति विनोद चौधरीले असन्तुष्टि जनाएका थिए। ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा पनि दलाल पुँजीवादबारे उल्लेख गरेका छन् । प्रतिनिधिले यसको थप व्याख्या गर्नुपर्ने र यसविरुद्ध कसरी पार्टी लड्ने भन्नेबारे पनि प्रष्ट पार्नुपर्ने सुझाव दिएका थिए। ओलीले यसको पनि जवाफ दिए । उनले पुँजीवाद के हो भन्नेबारे व्याख्या गरे तर त्यसविरुद्ध पार्टी यसरी लड्छ भन्नेबारे चाहिँ प्रष्ट पारेनन्।
ओली: आज राष्ट्रिय पुँजीको विकास, बाह्यि दलाल पुँजी जो उत्पादनमुलक हुँदैन् । रोजगारी दिए पनि अत्यन्त सानो रोजगारी देला तर, रोजगारी मुलक हुँदैन । कमिसनमा बढ्ता जोड दिन्छ । कमिसन एजेन्टका रुपमा काम गर्छ। कानुन छल्छ । कालो धनका रुपमा काम गर्छ । र, त्यसले ब्युरोक्रेसी, राजनीति वा राजनीतिक तहरुलाई प्रयोग गर्छ । दुरुपयोग गर्छ । त्यसको आडमा आफ्नो अनुचित धन्धा चलाउँछ । अनुचित मुनाफाखोर, कालो धन्धा चलाउँछ । तिनीहरुले उत्पादन शक्तिहरुलाई सक्षम, सबल बनाउन, आत्मनिर्भर बनाउ मद्यत गर्दैन । त्यसले असमानताको खाडल बनाउँछ । प्रतिव्यक्ति आय, कूल ग्रास्थ उत्पादन हेर्याे भने देश धनी भयो भन्ने देखिन्छ । किनभने केही व्यक्तिका हातमा खर्बौं थुप्रिन्छ र बाँकी गरिब हुन्छन् । त्यसले एउटा नक्कली तथ्यांक खडा गर्छ । नक्कली चित्र खडा गर्छ देशको । देश गरिब हुन्छ तर त्यसले चित्र चाहिँ धनीको खडा गर्छ । हामीसँग हुँदै नभएको पैसा पनि हामीसँग छ कि जस्तो देखिन्छ । यो कृत्रिम कुरा हो । त्यो कृत्रिम अर्थतन्त्र हो।
प्रतिनिधि: जबजको सान्दर्भिकता सकियो भन्ने धारणाको जोडदार खण्डन गर्नुपर्छ ।
एमाले नेता घनश्याम भुसालले ओलीको राजनीतिक प्रतिवेदनमा जबजबारे गरिएको व्याख्यामा असहमति जनाउँदै छुट्टै लिखित प्रस्ताव अघि सारेका थिए । केन्द्रीय कमिटीमा प्रतिवेदनमाथि छलफल गर्दा भुसालले फरक मत राखेको भए पनि महाधिवेशनमा पनि त्यसको अस्तित्व थाहा पाइएन । भुसालले आफ्नो लिखित प्रस्तावमा जनताको बहुदलीय जनवाद (जबज)लाई मार्गदर्शक सिद्दान्त भन्नु अति हुने उल्लेख गरेका थिए। त्यसैलाई लक्षित गर्दै केही प्रतिनिधिले यसको खण्डन चलाउनुपर्ने माग गरेका थिए। जबज के हो र के होइन भन्नेबारे ओलीले जवाफ दिए । जबज कार्यक्रम र सिद्दान्त दुवै भएको ओलीको जवाफ थियो।
ओली: अलिअलि अलमल पर्न खोजेको देखिन्छ–यो कार्यक्रम हो कि सिद्दान्त हो कि ? कार्यक्रम हो भने सिद्दान्त होइन, सिद्दान्त हो भने कार्यक्रम होइन। यो कार्यक्रम पनि हुन सक्छ, सिद्दान्त पनि हुन सक्छ । तर, यो सिद्दान्त पनि हो, कार्यक्रम पनि हो । यसभित्र दर्शनका पक्षहरु पनि छन्। पाइला सार्नु र हिँड्नु उही कुरा हो । पाइला सार्दै गरेर हामी हिँड्छौं, हिँड्दै जाँदा यात्रा हुन्छ । जबज कार्यन्वयनका सन्दर्भमा त्यतिबेला सैद्धान्तिक पक्ष नभएका होइनन् । पाँचौं महाधिवेशनमा मदन भण्डारीले कार्यक्रम प्रस्तुत गरिरहँदा त्याहाँ सैद्दान्तिक पक्ष नभएका होइनन् । तर, हामीले त्यसलाई कार्यक्रमका रुपमा त्यसलाई त्याहाँ प्रस्तुत गर्यौं । छैटौंमा सिद्दान्तका रुपमा स्वीकार गर्यौं ।
ओलीले जे टारे
निर्वाचन प्रणालीबारे
हालको निर्वाचन प्रणाली महंगो भएको भनेर धेरै जनप्रतिनिधिले आवाज उठाएका थिए । निर्वाचन बढी खर्चिलो भएकाले निर्वाचन प्रणालीमा व्यापक सुधार गर्नुपर्ने धारणा धेरैको थियो। यस्तो आवाज गण्डकी प्रदेश, प्रदेश १ र लुम्बिनी प्रदेश र उपत्यका विशेष प्रदेश कमिटी समूहबाट जोडदार रुपमा उठेको थियो । हाल नेकपा (माओवादी केन्द्र)ले पनि निर्वाचन प्रणाली बदलेर पूर्ण समानुपातिकमा जानुपर्ने आवाज उठाइरहेको छ। ओलीले भने यसबारे केही धारणा राखेनन्।
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री
पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको वकालत गर्नुपर्ने कुरा प्रतिनिधिले उठाएका थिए। विशेषगरि प्रदेश २ र जनवर्गीय संगठन समूहबाट प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणालीमा पार्टीले जोड दिनुपर्ने कुरा उठाइएको थियो । हुन त यसअघि पनि एमालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीकै वकालत गरेको थियो । तर, संविधान भनाउँदा कम्प्रोमाइज गर्नुपर्ने भएकाले एमालले यसलाई छाडेको थियो । पछिल्लो समय एमाले यसबारे खासै बोलेको सुनिन्न। ओलीले पनि यसमा मौन रहे ।
एमसीसीबारे
प्रतिनिधिहरुले अमेरिकी साहायता परियोजना एमसीसीबारे पनि कुरा उठाएका थिए। गण्डकी र कर्णाली प्रदेश समूहबाट एमसीसीबारे पार्टीको प्रष्ट धारणा हुनुपर्ने सुझाव आएको थियो । ओली यसबारे पनि मौन रहे । यद्यपि अन्य कार्यक्रममा ओलीले एमसीसीबारे सत्तारुढ दल नै नबोलिरहेको भन्दै एमाले यसमा अघि सर्न आवश्यक नरहेको बताउने गरेका छन् । सत्तारुढ दलको धारणा आएपछि एमालेले पनि आफ्नो धारणा तय गर्ने ओलीले बताउने गरेका छन् । सरकारमा रहँदा पनि ओली यसलाई पारित गर्ने पक्षमा थिए।