सीमानाकामा दसैं मान्न गाउँ फर्कनेको लर्को (तस्बिरहरु)
सुर्खेत । रोजगारीको सिलसिलामा भारत गएका नेपालीहरु दसैं मान्न घर फर्कन थालेका छन् । कर्णालीका सीमानाकामा दसैं मान्न घर फर्कनेको लर्को नै लागेको छ ।
सुर्खेतको पञ्चपुरी नगरपालिकाका कमल विश्वकर्मासहित तीनजनाको टोली आइतबार जमुनाहा नाकाहुँदै दसैं मान्न स्वदेश आए । तीन महिना भारतमा काम गरेर दसैं मान्न गाउँ फर्केका उनको मुहारमा उमङ्ग झल्कन्थ्यो ।
जहानबच्चालाई कपडा र दसैंमा खाने खाद्यान्नको पोको बोकेर स्वदेश भित्रिएका उनले भने– पोहोर कोरोनाले गर्दा दसैं रमाइलो भएन, यसपालि भव्यसँग मनाउने हो ।
उनी तिहारपछि फेरि कामका लागि भारत जाने योजनामा छन् ।
दैलेख आठबीस नगरपालिका– ६ का नन्दाराम विश्वकर्मा पनि मुम्बईबाट घर फर्किएका छन् ।
पोहोर कोरोनाका कारण दसैं मान्न गाउँ आउन नपाएका उनी यसपालि घर फर्कन पाउँदा खुसी छन् ।
भारतबाट दैनिक हजारौं नेपाली जमुनाहा नाकाहुँदै दसैं मान्न गाउँ फर्किरहेका छन् ।