हराएको प्रेमपत्र र नमेटिएका यादहरु
फेसबुक स्क्रोल गर्दै थिए । वालमा ‘सेयर योर मेमोरी’ भनेर फेसबुकले सुझाएको एउटा फोटो देखियो । फोटो थियो– एसएलसी पास भएपछि स्कुलले राखेको विदाइ कार्यक्रमको । उक्त फोटोले मलाई एकैचोटि स्कुलजीवनतिर धकेल्यो, स्कुलसँगै त्योबेलाका केही रोचक घटनाहरु मानसपटलमा घुम्न थाल्यो ।
टाउको वरिपरि माहुरी भुनभुनाएजसरी त्यो बेलाका मसिनादेखि मोटा सम्झनाहरु तँछाडमछाड गर्दै घुम्न थाले । बार्दलीमा लुकाएका ती प्रेमपत्रहरुको यादले चिमोट्यो । ब्ल्याकबोर्डमा शिक्षकलाई गाली गर्दै अनेक लेखेको, अरुलाई नै दोष थोपरेको, अरुले नै सरबाट पिटाइ खाँदा आफू भित्रभित्रै गद्गदिएको सम्झनाले नै पुलकित बनायो ।
घरमाथिको सरकारी स्कुल । आमाले काखीमा च्यापेर स्कुल पुर्याएको, आमा घर फर्कन लाग्दा डाँको छाडी रोएको, सरमिसले फकाएको, साथीहरुले जिस्क्याएको । त्यतिबेला त्यो पीडा नै थियो होला, तर ती पीडाको स्मरण मात्रै पनि अहिले स्वादिलो लागिरहेछ ।
एक बजे हाफ टाइमको घण्टी बज्न थाल्नेबित्तिकै हतारहतार खाजा खान घरतिर दगुरेको, आमाले बिहानको भात पस्केर दिएको, कहिलेकाहिँ खाजा नहुँदै भाँडा ठटाउँदै, रुँदै स्कुल फर्केको । आहा ! त्यो मसिना कुरामा पनि खुसी हुने, दुखी हुने र फकिने निर्दोष मन फिर्ता ल्याउन पाए म जे पनि गर्थें होला ।
आकाशे रंगको सर्ट र नीलो फ्रक । आमाले माया गरेर सपक्क पारी कोरिदिएको कपाल, रातो रिबनको फुर्का, कसैको आँखा नलागोस् भनेर आमाले गाला वा च्यापुमा लगाइदिएको कालो टीको । मुसुमुसु हाँस्दै, फुर्कदै सुर्केनो पार्ने झोलामा किताब बोकेर घर–स्कुल गर्दाको त्यो खुसीको मूल्य कति अर्ब पर्ला ?
सबैले कति राम्री भन्थे । कति ज्ञानी भन्थे । पढाइ पनि राम्रो थियो । अनुशासनको पुरस्कार पाउथेंँ । अतिरिक्त क्रियाकलापहरुमा पनि कहिल्यै दोस्रो हुन परेन । टोल–छिमेकका काका–काकी भन्थे– छोरी होस् त अनिशा जस्ती । पाँच रुपैयाँ पर्ने मयूर कापी पुरस्कार पाउँदा ब्रम्हाण्डकै सबैभन्दा ठूलो खुसी मिलेको अनुभूत गर्ने मेरो मनस्थिति केले बिगार्यो होला ? आज किन पाएका ठूलाठूला कुराले पनि मलाई खुसी दिन सक्दैन ? खुसी मबाट टाढा भयो कि म खुसीबाट टाढा भएँ ? आँखा रसायो ।
सबैको प्रशंसाबाट फुर्कन्थें । तर फुर्किएको कसैले थाहा नपाओस् भनेर निहुरिन्थें । आज त्यसरी प्रशंसा गर्नेहरुले मलाई के सोच्दा हुन् ?
घरमा पनि सबैको प्यारी थिएँ । हाम्रा तीन दिदीबहिनीमध्ये पनि म नै सबसे प्यारी थिएँ । तै पनि हामीलाई बाहिरफेर हिँड्न र घुम्न जान पारिवारिक अनुमति हुँदैनथ्यो । घरपछाडिको झ्याङमा वनमाराको मुन्टा टिपेर चुंगी बनाएर खेल्थ्यौं, थोत्रा मोजामा कोदोको भुस भरेर बल खेल्थ्यौं । त्यो वनमाराको पात र कोदोको भुससँग खेल्दाको आनन्द आज हजरौं पर्ने मोबाइलमा क्याण्डीक्रस खेल्दा पनि आउँदैन ।
काठमाडौं बस्नुहुने बुवालाई एक कल फोन गर्न भोगेको सास्ती र बुवासँग बोलेपछि मिलेको खुसी शब्दमा वर्णन गर्न सक्दिनँ । आज सबैको हातमा मोबाइल छ, कुराकानी भइरहन्छ । तर, त्यो बेलाको जति खुसी केही गर्दा पनि अनुभूति गर्न सक्दिनँ ।
कक्षा आठ पढेपछि गाउँमा पढ्ने अर्को स्कुल थिएन । माध्यमिक तहको शिक्षा हासिल गर्न एक घण्टा हिँड्नु पर्ने बाध्यता थियो । घरको काम सकेर स्कुल जान ढिला भयो भन्दै हाम फाल्दै हिँड्नु पर्ने । गर्मीमा अगांलोभरिका किताब बोकेर पसिना पुस्दै फर्कन पर्ने, त्यो उकालो । एक मुठी चिउरा र मकै झोलामा राखेर त्यो घना जंगलमा लुकाएर राख्ने हामी साथीभाइ । साह्रै कठिनका साथ पढाइलाई निरन्तरता दिँदै गएँ ।
कक्षाकोठामा सबैभन्दा सानो छात्रा थिए म । साथीहरुले हो– हल्ला गर्दै कागजका डल्लाले हिर्काएका ती दृश्यहरु आँखामा आइरहन्छ ।
एक्कासी एउटा घटनाको याद आयो । कक्षाकोठाको झ्यालमा बसेर बाहिरका दृश्य नियाल्ने गर्थे । एकजना मान्छेले मलाई एकोहोरो हेरिरहेको देखें ।
एकदिन होइन, दुई दिन होइन । ऊ प्रायः उसैगरी मलाई एकोहोरो हेर्न थाल्यो । उसले हेरेको देखेर साथीहरुले पनि मलाई जिस्क्याउन थाले ।
एकदिन एकजना साथीले मलाई एउटा कागजको चिर्कटो थमाइदियो । उसले उक्त कागज दिँदै भन्यो– ‘मेरो साथीले दिएको लभलेटर हो । पढ है !’ यति भनेर ऊ गयो ।
म आत्तिएँ । मैले एउटी मिल्ने साथीलाई लभलेटर आएको सुनाएँ । घर फर्कदाँ जंगलमा लुकेर हामीले त्यो पत्र पढ्यौं । पत्र पढ्दा एकहिसाब डरसँगै उत्सुकता बढेको प्रष्टै याद छ । लेखेका अक्षरहरु याद नभए पनि भाव सम्झँदा अहिले पनि मन फुरुङ्ग हुन्छ ।
त्यो पत्र च्यात्न मन लागेन । घर लगेर बार्दलीको कठ्पलमा घुसारें । बेलाबेलामा कसैले नदेख्ने गरी खुसुक्क पढेर फेरि त्यहीं राख्न थाले । पत्र पढ्दापढ्दै म पनि भावुक भएछु । प्रतिक्रिया दिनु पर्छ लाग्यो । लेखें– यो हाम्रो पढ्ने बेला हो, लभ गर्ने होइन । म तिमीलाई साथीको हिसाबमा मात्रै सोच्छु ।
मेरो जवाफले ऊ निरास भयो । झ्यालबाट हेर्न पनि छाड्यो । हेर्छ कि भन्ने आश लाग्थ्यो, तर हेर्दैनथ्यो ।
ऊ पहिलाको भन्दा बेग्लै भएको थियो । पहिला जस्तो साथीभाइसँग खेल्न छाड्यो । एकोहोरो हुन थाल्यो । सायद मैलाई नै सम्झिएर टोल्हाउँथ्यो ।
यस्तैमा एसएलसी आयो । नतीजा आयो । हामी दुवै पास भएछौं । त्यसपछि ऊ कता गयो कता ? तर, उसको याद अझै ताजै छ । एकचोटि राम्रोसँग बोल्नै नपाइ ऊ टाढा भयो । सायद, आज पनि मलाई सम्झँदै छ, मैले जस्तै ।
ऊ टाढिए पनि उसको त्यो पत्र मैले सुरक्षितसाथ बार्दलीमा राखेको थिएँ । २०७२ सालमा भूकम्पले घर भत्काउँदा मेरो प्रेमपत्र कहाँ पुग्यो होला ! तर अहिले पनि पहिला घर भएको ठाउँमा पुग्दा त्यहीं पत्र र त्यहीं यादले गिजोल्छ ।
आज लाग्छ, अहिले प्रविधिको यो जमानामा कहिँकतैबाट उसले यो मेरो ब्लग पढ्नेछ भन्ने आश छ ।