रेशम चौधरीलाई छुटाउन थरुहट संघर्ष समिति ‘निर्णायक आन्दोलन’ को तयारीमा – Nepal Press

रेशम चौधरीलाई छुटाउन थरुहट संघर्ष समिति ‘निर्णायक आन्दोलन’ को तयारीमा

रुपन्देही । टिकापुर घटनामा निर्दोष ब्यक्तिलाई सरकारले फसाउन खोजिरहेको भन्दै थरुहट-थारुवान संघर्ष समितिले निर्णायक आन्दोलन गर्ने बताएको छ । रेशम चौधरीसहित टिकापुर घटनामा पक्राउ परेका थरुहटका नेता-कार्यकर्ताको विनाशर्त रिहाईको माग गर्दै निर्णायक आन्दोलन तयारी गरिरहेको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

थरुहट-थारुवान संघर्ष समितिका अध्यक्ष लक्ष्मण थारुले दाङको लमहीमा पत्रकार सम्मेलन गरी टिकापुर घटनाको सत्यतथ्य छानविन हुनुपर्ने र रेशमसहितका नेता कार्यकर्ता रिहाई हुनुपर्ने माग राखे । नेता थारुले टिकापुर घटनालाई राजनीतिकरुपमा समाधान गर्न आग्रह गरे ।

‘अबको आन्दोलन निर्णायक र काठमाडौं केन्द्रित हुने छ,’ थारुले भने ।

सरकारले घटना भएको ६ वर्षसम्म पनि घटनाको यथार्थ बाहिर नल्याएको भन्दै उनले आक्रोश व्यक्त गरे ।

‘घटनाको यथार्थ बाहिर ल्याइएको छैन, लाल आयोगको प्रतिबेदन सार्वजनिक गर्नुपर्छ, दोषी उम्कन हुँदैन, निर्दोस फस्नु हुँदैन, यदि यो भएन भने हामी निर्णायक आन्दोलन गर्छौं’ उनले भने । उनका अनुसार थरुहट-थारुवानले तेस्रो चरणको आन्दोलनको तयारीको लागि मेची-महाकाली अभियान शुरु गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर