इटलीको अविजित यात्रा रोक्दै स्पेन नेशन्स लिगको फाइनलमा – Nepal Press

इटलीको अविजित यात्रा रोक्दै स्पेन नेशन्स लिगको फाइनलमा

एजेन्सी । इटलीको विश्व कीर्तिमानी ३७ खेलको अपराजित यात्रामा पूर्णविराम लगाउँदै स्पेन युईएफए नेशन्स लिगको फाइनलमा पुगेको छ ।

युरोपेली फुटबल महासंघ (युईएफए)ले आयोजना गर्ने दोस्रो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको पहिलो सेमिफाइनलमा इटलीलाई २–१ गोलअन्तरले हराएर स्पेनले अघिल्लो वर्ष युरोपियन च्याम्पियनसिपको सेमिफाइनलममा ब्यहोरेको हारको बदलासमेत लिएको छ ।

सो खेलमा इटली पेनाल्टी शुटआउटमा विजयी हुँदै फाइनलमा पुगेर युरो उपाधिसमेत जितेको थियो ।

मिलानको सान सिरो रंगशालामा भएको यो खेलमा स्पेनका लागि म्यानचेस्टर सिटीका फरान टोरेसले दुवै गोल गरे । दुवै गोलका लागि मिकेल ओयार्जाबलले पास उपलब्ध गराएका थिए । स्पेनले उपाधिका लागि आइतबार फ्रान्स र बेल्जियमबीच आज हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

४२औं मिनेटमा कप्तान लियोनार्दो बोनुक्कीले दोस्रो पहेंलो कार्ड पाउँदै मैदान छाड्नुअघि नै इटली १ गोलले पछि परिसकेको थियो । टोरेसले १७ औं र पहिलो हाफको इन्जूरी समयमा गोल गरेका हुन् ।

१०खेलाडीमा समेटिएको इटलीले ८३औं मिनेटमा लोरेन्जो पेलेग्रिनीको गोलमार्फत खेलमा फर्कने प्रयास गरेको थियो । तर बराबरी गोल गर्न सकेन ।

बार्सिलोनाका १७ वर्षीय मिडफिल्डर गाभीले यो खेलमा डेब्यू गरे । उनी स्पेनबाट सबैभन्दा कम उमेरका अन्तर्राष्ट्रिय खेलाडी बनेका छन् ।

प्रतिस्पर्धात्मक प्रतियोगिताको खेलमा इटली अफ्नै मैदानमा पराजित भएको सन १९९९ पछि पहिलोपल्ट हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *