१२ किलो टिमुरे सडकमा यात्रु बस सञ्चालन हुदाँ स्थानीय खुसी – Nepal Press

१२ किलो टिमुरे सडकमा यात्रु बस सञ्चालन हुदाँ स्थानीय खुसी

सिन्धुपाल्चोक । बागमती प्रदेश सरकारको बजेटमा निर्माण भएको सिन्धुपाल्चोकको १२ किलो–टिमुरे–रतनकोट सडक खण्डमा दशै सुरु हुना साथ नियमित रुपमा यात्रुवहाक बस सञ्चालन भएपछि स्थानीय खुसी भएका छन् ।

तत्कालिन सडक डिभिजन कार्यालय दोलखा मार्फत सडक निर्माणको प्रक्रिया सुरु भए पनि मुलुक संघियतामा गइसके पछि भने उक्त सडक निर्माण सम्पन्न गर्ने जिम्मेवारी बागमती प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालयले पाएको हो ।

३६ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने क्रममा रहेको उक्त सडक हुदैँ बिहीबारदेखि काठमाडौबाट नियमित रुपमा यात्रुवहाक बस सञ्चालनमा आएको छ । पुर्व अरनीको यातयात कम्पनीले अब उक्त सडकमा काठमाडौबाट नियमित यात्रुबस सञ्चालन गर्ने जनाएको हो ।

यात्रुबस सञ्चालन सुरु भएपछि सुनकोशी गाउँपालिकाको वडा नम्बर पाँच र छ तथा लिसंखुपाखर गाउँपालिकाको वडा नम्बर सातका स्थानीय प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । दशैको अवसर पारेर यात्रुवस सञ्चालनको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पुर्व मन्त्री मोहनबहादुर बस्नेतले औपचारिक रुपमा सुभारम्भ गरेका हुन् ।

साढे ६ किलोमिटर सडक निर्माण सम्पन्न भएर दशैै लगतै हस्तान्तरण गर्ने योजना रहेको पुर्वाधार कार्यालय सिन्धुपाल्चोकका प्रमुख राजु श्रेष्ठले जानकारी दिए । उनले भने, ‘गत आर्थिक वर्षमा नै हाम्रो सडक सम्पन्न गर्ने योजना थियो, तर कोभिडका कारण केही समय ढिला भयो । दशैं पछि लगतै सडक निर्माण सम्पन्न गरेर स्थानीयलाई हस्तान्तरण गर्छौ ।’

अहिले सडक निर्माणको काम करिब ९८ प्रतिशत सम्पन्न भएको र बिग्रिएका स्थानमा मर्मको काम मात्र भइरहेको श्रेष्ठले बताए । सडकको बनावट, नाली, गाभ्रेल र ढलान गरेर सडक व्यवस्थित रुपमा निर्माण गरिएको श्रेष्ठले दाबी गरे ।

संविधान सभा सदस्य रहेका बेला काँग्रेस नेता बस्नेतको पहलमा उक्त सडकमा ३६ करोड रुपैयाँ विनियोजन भएको थियो । सडक निर्माणका लागि ३६ करोड विनियोजन भए पनि निर्माण व्यावसायीले पटाएर ठेक्का प्राप्त गरेका थिए । तत्कालिन सडक कार्यालयले ठेक्का लगाएर काम मात्रै सुरु गर ेपनि बजेट भने सबै बागमती प्रदेश सरकारले नै व्यहोरेको पुर्वाधार कार्यालयले जनाएको छ ।

यात्रुवस सेवाको शुभारम्भ कार्यक्रममा बस्नेतले नेपाली काग्रेसले मात्रै विकास गर्ने दाबी गरे । सिन्धुपाल्चोकबाट निर्वाचित सभामुख समेत रहेका अग्नि सापकोटाले सिन्धुपाल्चोकको विकासमा एउटा सिन्को पनि नभाँचेको उनले आरोप लगाए । उनले भने, ‘सिन्धुपाल्चोकको विकास कांग्रेसले गर्छ, कम्युनिष्ट टन्न अघाएर मात्रै बसेका छन्, । अरु पनि विकासका लागि तपाँइहरु सबै कांग्रेस हुनुपर्छ ।’

सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवण कुमार जिसीले सुनकोशी गाउँपालिकाको रिङरोड बनाउने अभियान अन्र्तगत यो सडक निर्माण भएको बताए । बाँकी सडक खण्ड पनि तत्कालै निर्माण गरेर आफुहरुले सुरु गरेको रिङरोड अभियानलाई पुरा गर्ने पनि उनले प्रतिबद्धता जनाए । सुनकोशी गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष रामकुमार थापाले दशैंलाई लक्षित गरेर बर्षाको समयमा भत्किएका सडक ममर्त सुरु गरिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *