लुम्बिनीमा शुक्रबार मन्त्रिपरिषद बिस्तार गर्ने तयारी – Nepal Press

लुम्बिनीमा शुक्रबार मन्त्रिपरिषद बिस्तार गर्ने तयारी

रूपन्देही । मुख्यमन्त्री भएको दुई महिना पुग्नै लाग्दा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले शुक्रबार मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेका छन् । आठ महिनाका लागि मुख्यमन्त्री बनेका केसीले लामो समय मन्त्रिपरिषद बिस्तार गर्न नसकेको भन्दै आलोचना भएको थियो ।

माओवादी केन्द्रले मन्त्रिपरिषदमा सहभागी हुने व्यक्ति टुंगो लगाएपछि मुख्यमन्त्री केसीले शुक्रबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् । उनी साउन २८ गते मुख्यमन्त्री नियुक्त भएका हुन् ।

शुक्रबार शपथ गराउने तयारी गरिएपनि सार्वजनिक गरिएको छैन । माओवादीले दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम थारुको मन्त्री बन्ने टुंगो लगाएको स्रोतले जनाएको छ । पाल्पाका तुलाराम घर्तीको नाम आएपनि उनी माओवादीका प्रमुख सचेतक भएकाले नपाउने संभावना छ।

माओवादी कोटामा परेको एक मन्त्रालय नेकपा (एकीकृत समाजवादी)लाई परेपछि घर्तीको नाम अन्तिममा सूचीबाट हटेको तर्क माओवादीका नेताहरूले गरेका छन् । माओवादीले मुख्यमन्त्री, आर्थिक मामिला तथा सहकारी, आन्तरिक मामिला तथा सञ्चार, कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय पाएको थियो ।

माओवादीका ४ मन्त्रालयमध्ये १ मन्त्रालय नेकपा (एस)ले पाउने छ । नेकपा (एस)बाट पाल्पाकी रमा घर्ती एकमात्र सांसद भएकाले उनी स्वतन्त्र मन्त्री बन्ने भएकी हुन्। घर्तीले आफू निकटलाई मन्त्री बन्ने कन्फर्म भएर दल रोजेको बताएकी थिइन् । माओवादीले दाङकी बिमला खत्री वलीलाई राज्यमन्त्री बनाउने तयारी गरेपनि उनी र यसअघि मन्त्री बनेका अजय शाहीको विषयमा एमालेले निरन्तर आन्दोलन गरेकाले अन्तिम टुंगो लागेको छैन ।

भागवण्डामा ४ मन्त्रालय पाएको कांग्रेसले पनि दुई मन्त्रीको नाम टुंगो लगाएको छ । एक मन्त्रीको नाम छान्न केन्द्रमा अनुरोध गरेको छ । कांग्रेसले पनि शुक्रबार बिहानसम्म सबैको नाम टुंगो लगाउने छ । कांग्रेसले पर्यटन ग्रामीण तथा सहरी विकासमन्त्रीमा यसअघि नै दाङका डिल्लीबहादुर चौधरी मन्त्री बनिसकेका छन् । शुक्रबार वन वातावरण तथा भूसंरक्षण मन्त्रीमा बर्दियाका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रूपन्देहीका बसिउद्धिन खाँलाई पठाउने निर्णय गरेको छ ।

उmर्जा जलस्रोत तथा सिँचाई मन्त्रीका लागि रूपन्देहीका अष्ठभुजा पाठक र पाल्पाका वीरबहादुर रानाबीच सहमति हुन नसकेपछि टुंगो लगाउन केन्द्रमा पठाएको छ । त्यस्तै कांग्रेसले पाएको दुई राज्यमन्त्रीमा पनि अर्घाखाँचीकी निर्मला क्षेत्री र कपिलबस्तुकी रिना नेपालसहित अन्य दुई पुरुषको दाबी भएपछि व्यक्ति छनोट गर्न केन्द्रसँग नै अनुरोध गरेको छ ।

१३ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित माओवादीका २, कांग्रेसका १, जसपाका ३ र स्वतन्त्र १ गरी ७ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । जसपाले भौतिक पूर्वाधार, श्रम रोजगार तथा यातायात, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था पाएको छ । त्यस्तै स्वतन्त्रका अजय शाही उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री छन् ।

लुम्बिनीमा माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा, जनमोर्चा, नेकपा एस रहेको ५ दलीय गठबन्धनको सरकार छ भने एमाले प्रतिपक्षमा एक्लै छ । १ सांसद रहेको जनमोर्चा सरकार गठनको ५ दलीय गठबन्धनमा रहेपनि सरकारमा सामेल नहुने जनाएको छ भने सदनमा पनि विपक्षीको लाइनमा बस्ने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर