घान्द्रुकमा जिप दुर्घटना, दसैँ बिदा मनाउन गएका ८ पदयात्रीको मृत्यु
पोखरा । कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । १ जना भीरमा अड्किएर बाँच्न सफल भए । उनलाई जीवितै उद्दार गरिएको छ ।
ग१ज ६९०० नम्बरको जिप मोदी खोलामा खसेर दुर्घटना भएको थियो । उक्त जिप नयाँपुलबाट घान्द्रुकका लागि छुटेको थियो । पोखराबाट एउटा अर्को साधनमा गएका यात्रु नयाँपुलबाट उक्त जिपमा गएका थिए ।
घान्द्रुकको कलाभीर भन्ने स्थानबाट जीप तल हुँदु भन्ने स्थानमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । मृतकको सनाखत हुन सकेको छैन । दशैंको छुट्टिमा पदयात्रामा हिंडेकाहरु दुर्घटनामा परेको हुन् ।
उनीहरु काठमाडौंबाट घान्द्रुक घुम्न आएका थिए।अहिले उद्धार कार्य जारी रहेकाले थप विवरण आउन बाँकी छ । घटनास्थल पुगेको प्रहरीले लाशको मुचुल्का उठाई परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चाल क्षेत्रीय अस्पताल पोखरामा ल्याउने तयारी भएको जनाइएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले आफूसहितको टोली घटनास्थलतर्फ गैरहेको बताए ।