‘पञ्चायती’ मा वडाध्यक्षको कुटाइबाट दलित युवक गम्भीर घाइते – Nepal Press

‘पञ्चायती’ मा वडाध्यक्षको कुटाइबाट दलित युवक गम्भीर घाइते

सप्तरी । जिल्लाको रुपनी गाउँपालिका–१ का वडा अध्यक्ष पिताम्बर यादवको कुटाइबाट स्थानीय २५ वर्षीय दलित युवक गम्भीर घाइते भएका छन् । ‘महिला भगाएको’ बिषयमा बसेको ‘पञ्चायती’ मा वडा अध्यक्ष यादवले स्थानीय पुरुषोत्तम सदालाई मरणासन्न हुनेगरी कुटपिट गरेका हुन् ।

वडा अध्यक्षसहितका पाँच जनाको समूहले युवकलाई कुटेको स्थानीय राजु जयसवालले बताए । कुटपिटबाट युवक गम्भीर घाइते भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा प्रहरी पुग्दा सबै जना भागेको जयसवालले जानकारी दिए । घाइते युवकको राजविराजको गजेन्द्रनारायण सगरमाथा अञ्चल अस्पताल उपचार भइरहेको छ ।

सप्तरीका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद काफ्लेले घटनाबारे प्रहरीलाई जानकारी आएको तर पीडितबाट जाहेरी आइनसकेको बताए । जाहेरी आउनासाथ घटनामा संलग्नहरूमाथि कारबाही हुने उनको भनाइ छ ।

वडा अध्यक्ष यादवले भने आफुले कसैलाई कुटपिट नगरेको दावी गरेका छन् । महिलालाई भगाएर ल्याएको विषयमा गाउँमा छलफल बस्दा केही व्यक्तिबीच सामान्य घम्साघम्सी मात्र भएको उनको भनाइ छ । युवक आफै लागुऔषध सेवन गरेर बेहोश भएको अध्यक्ष यादवले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर