हाइकिङको लय समात्दै धरान बजारछेउका यी हिलटप
इटहरी । अहिले सबैतिर दसैँको हर्षोल्लास छ । मान्यजनको हातबाट टीका जमरा लाउने अनि आशीर्वाद लिने यो पर्व पारिवारिक र आफन्त भेटघाटको एउटा माध्यम पनि हो । विभिन्न कारण दसैँ मनाउन नपाएका साथै दसैँ नमनाउनेका लागि पनि दसैँ बिदामा घुमफिर गर्नेक्रम पछिल्ला वर्ष निकै बढेको छ ।
अझ शारीरिक स्फुर्तिका लागि सुन्दर ठाउँहरू नियाल्दै, स्थानीय परिवेशसँग लुकामारी खेल्दै हाइकिङ गर्नुको आनन्द झन् बेग्लै ।
यसैक्रममा प्रदेश १ को चिरपरिचित पर्यटकीय नगरी धरान आसपासका ४ चर्चित हाइकिङ हिलटपको बारेमा यहाँ चर्चा गरेका छौं ।
हुन त धरान आफैंमा हाइकिङमैत्री सहर हो । थोरै दूरीमा धेरै उचाइ फरक भएको यहाँ ४ किलोमिटरमै ३ सयदेखि देखी ७ सय मिटरको ठाउँ भेटिन्छ ।
यदि धरानको दक्षिण क्षेत्रमा चारकोशे झाडी नभएर पहाडै हुन्थ्यो त धरान एक उपत्यका नै हुने थियो । तीनतिर पहाडले घेरिएको धरानमा यहाँ हिलटपहरू छन । पहाडको टुप्पोमा पुगेर विभिन्न कोणबाट चराको आँखाबाट धरान नियाल्न यी हाइकिङ हिलटप महत्वपूर्ण छन् ।
१. चिन्डे डाँडा
चिन्डे डाँडा धरान बजारबाट सबैभन्दा नजिक रहेको हिलटप हो । धरानको जिरो प्वाइन्टबाट दुई पांग्रेमा केही मिनेटमै पुगिने यो डाँडा समुन्द्र सहतबाट ९६० मिटर हाराहारीको उचाइमा छ । धरान बजारको प्याकेज दृष्य देखिने चिन्डे डाँडा पहिले धरानको छिमेकी स्थानीय निकाय विष्णुपादुकाअन्तर्गत थियो । २०७१ मंसिर १६ मा यो क्षेत्र धरान उपमहानगरमै गाभिएपछि चिन्डे डाँडा वडा नम्बर २० मा परेको छ ।
जिरो प्याइन्टबाट बीपी पार्क वा झुलुङ्गे पुल हुँदै सवारी पार्किङ गरेर यहाँ हाइकिङ जान सकिन्छ । बाटोमा भारतीय तथा बेलायती लाहुरेको तयारी गरिरहेकादेखि मर्निङ वा तथा इभिनिङ वाक गर्नेहरूको लर्को नै देखिन्छ यहाँ । जिरो प्वाइन्टबाट चिन्डे डाँडा पुग्न सामान्य हिँड्नेलाई एक घण्टा हाराहारी लाग्छ । चियानास्ता र खानपानको लागि लजलगायतको पर्याप्त सुविधा छ । यो डाँडाबाट ५ मिनेट पैदलमा भ्यू टावर छ । चिन्डे डाँडा भ्यू टावर भनिए पनि यो कालिमाटी गाउँको शीरमा टोड्के भन्ने स्थानमा रहेको छ ।
चिन्डे डाँडाबाट एक किलोमिटर दूरीमा सेछ एडभेन्चर पार्क छ । हालसालै खुलेको पार्कमा स्काइ साइकल, बर्मा ब्रिजदेखि जिप लाइनका सुविधा छन् । चिन्डे डाँडा जाने बाटैमा यो पार्कको बोर्ड देख्न सकिन्छ । दुई पांग्रे र फोरह्विलर गाडीमा पार्क पुग्न सकिन्छ ।
२. शूलीकोट
शूलीकोटको नाममा गोरखामा एक स्थानीय तह नै छ- बारपाक शूलीकोट गाँउपालिका । धरानमा भने त्यही नामको एक सुन्दर हिलटल छ । धरान-२० विष्णुपादुकामा रहेको शूलीकोट पुग्न चिन्डे डाँडा हुँदै आउनुपर्छ । चिन्डे डाँडाबाट देखिने अग्लो एक डाँडा नै शूलीकोट क्षेत्र हो ।
यो डाँडा समुन्द्र सहतबाट १४६७ मिटर हाराहारी छ । यहाँ पुग्ने जोकोही मौसम खुलेको समयमा धरान, चिन्डे डाँडा, साँगुरिगढी, भेडेटारमात्रै होइन हिमश्रृंखलाको दृष्यावलोकनले मन्त्रमुग्ध हुन्छन् । भेडेटारको मुख्य बजार क्षेत्र होचो देखिने धरानको अग्लो डाँडा हो शूलीकोट । धरानको जिरो प्वाइन्टबाट पैदल यात्रा गर्दा तीन घण्टा औसत हिँडाइमा शूलीकोट पुग्न सकिन्छ ।
स्थानीयको भनाइअनुसार कुनै समयमा अपराधीलाई शूली चढाएर मृत्युदन्ड दिने क्षेत्र भएकोले यो ठाउँको नाम शूलीकोट रहन गएको हो । जंगल क्षेत्र भएकाले यहाँ खानबस्नको प्रबन्ध भने छैन । वर्षा याममा यहाँ जुका लाग्ने गर्दछ ।
३. साँगुरीगढी
सुनसरी र धनकुटा दुई जिल्लाको सीमामा पर्छ यो ठाउँ । साँगुरीगढी धरान-१३ बीपी पार्कबाट पैदल हिँडेर चार घण्टामा पुग्न सकिन्छ । धरानबाट कोशी पहाड जोड्ने सडक नबन्दा पूर्खाहरूले नुन बोकेर हिँड्ने गोरेटो बाटो हुँदै साँगुरीगढी पुगिन्छ । यहाँ आकर्षणको लागि १० वटा ढुंगाको बाकस जस्तो बनाइएको छ । गढी प्रवेशद्वारबाट नजिकै भेडेटार पुग्ने सडक छ ।
भेडेटार बजार पुग्न सामान्य हिँड्नेलाई एक घण्टाजति लाग्छ । प्राय हाइकर र बाइकरहरू धरानबाट हाइक गर्दै आउने साँगुरीगढीमा आएपछि भेडेटारसम्म अटोमा गएर नियमित सवारीमा धरान फर्कने गर्छन । साँगुरीगढीबाट हिमालका केही भागमात्रै देखिन्छ । धरान, भेडेटार र आसपासका सुन्दर दृष्य भने मज्जाले देखिन्छ । १४०० मिटर हाराहारीको उचाईमा छ यो गढी । खानपान तथा आवासको सुविधा भर्खर बन्ने क्रममा छन् । जुकासँग डराउने र आत्तिनेहरूले भने वर्षाको सिजनमा हाइकिङ नगरेको राम्रो हो ।
४. दानाबारी
दानाबारी शब्द इलामसँग जोडिएर चिनिएको नाम हो । तर, धरानमा २०७१ वैशाख २५ मा गाभिएको पाँचकन्या गाविसको दानावारी पनि धेरै पुरानो गाउँ हो । दानाबारी धरानको पूर्वोत्तर क्षेत्रको एक सुन्दर हाइकिङ गन्तव्य हो । हाल धरान-४ मा पर्ने यो ठाँउसम्म हाइकिङ गर्न बुढासुब्बा मन्दिरपारीको सेउती खोलाको झुलुङ्गे पुल पार गरेर उकालो हिँड्नुपर्छ । यसको उचाइ १२०० मिटर हाराहारीको छ ।
चिन्डे डाँडा, शूलीकोट तथा साँगुरीगढीबाट नदेखिएका पूर्वतर्फका धराने दृष्य हेर्न यो गन्तव्य राम्रो छ । मगर, तामाङ, राईलगायतको बसोबासी रहेको यो क्षेत्र आदिवासी संस्कृति साक्षात्कार गर्न उत्तिकै महत्वपूर्ण थलो हो । बुढासुब्बा क्षेत्रबाट तीन घण्टा हाइकमा दानाबारी पुगेपछि पत्रङ्बारी, बसन्तटार, निराजनबस्ती हुँदै धरान गाडीमा वा पैदल आउन सकिन्छ ।
धरान बजारनजिकै भएर पनि यो ठाउँमा धराने प्रभाव देखिँदैन । ग्रामीण जनजीवन, खेती किसानी, अर्गानिक नेपाली गाउँको चित्र दानाबारीले झल्काउँछ । केही वर्ष अगाडि सुनसानजस्तै दानाबारीले अहिले होटल, रिसोर्टहरू धमाधम बन्न थालेपछि पर्यटनको लय समाउँदैछ ।
धरान बजार क्षेत्रबाट करिब ९ किलोमिटरमा रहेको यो ठाउँमा पनि वर्षाको बेला जुकाले भने सताउँछ ।