कोलकत्तालाई पन्छाउँदै चेन्नई सुपर किङ्सले चौथोपटक जित्यो आईपीएलको उपाधि
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2021/10/ipl-win-chennai.jpg)
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपरकिङ्सले जितेको छ । कोलकत्ता नाइट राइडर्सलाई हराउँदै महेन्द्रसिंह धोनी नेतृत्वको टिम चौथोपटक आईपीएलको च्याम्पियन बनेको हो ।
हिजो राति भएको फाइनलमा चेन्नईले कोलकत्तामाथि २७ रनको जित दर्ता गर्यो । पहिलो ब्याटिङ गर्दै चेन्नईले नेफाफ डु प्लेसिसको ८६ रनको योगदानमा १९२ रनको योगफल तयार गरेको थियो । जवाफी ब्याटिङमा कोलकत्ताले १६५ रन मात्रै जोड्न सक्यो ।
१९३ रनको लक्ष्य लिएर ब्याटिङमा उत्रेको कोलकत्ताले उत्कृष्ट सुरुआत गरेको थियो । ओपनरहरू सुभमन गिल र वैंकटेस ऐयरले पहिलो विकेटका लागि १०.४ ओभरमा ९१ रनको साझेदारी गर्दै टिमलाई बलियो अवस्थामा पुर्याएका थिए । उनीहरू दुवैले अर्धशतक बनाए । तर ओपनिङ साझेदारी टुटेसँगै कोलकत्ताको ब्याटिङ धराशायी बन्यो । बिनाविकेट क्षति ९१ रनको अवस्थाबाट केहीबेरमै कोलकत्ता १२५/८ को अवस्थामा खस्किएको थियो ।
कोलकत्ताका मध्यक्रमका ब्याट्सम्यानहरू क्रिजमा टिक्न नसकेपछि चेन्नईको जित सुनिश्चित भएको हो । कोलकत्तालाई धराशयी बनाउन चेन्नईका शार्दुल ठाकुरले सर्वाधिक ३ विकेट लिए । यस्तै, जोस ह्याजलउड र रविन्द्र जडेजाले दुई-दुई विकेट बाँडे ।
फाइनलमा चेन्नईका दक्षिण अफ्रिकी ओपनर फाफ डु प्लेसीस प्लेयर अफ द म्याच बनेका छन् । प्रतियोगितामा ३२ विकेट लिएका रोयल च्यालेन्जर्स बैंगलोरका हर्षल पटेल प्लेयर अफ दि सिरिज बनेका छन् ।