दसैँमा ओइरिन्छ अर्बौं रेमिट्यान्स, सकिन्छ उपभोगमै
काठमाडौं । वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषण नेपालको अर्थतन्त्रको मुख्य विशेषता बन्दै आएको छ । नेपालका अधिकांश नेपालीको आम्दानी तथा जीवनस्तर उकास्ने मुख्य स्रोत नै विप्रेषण बन्दै आएको तथ्याङ्कमार्फत देख्न सकिन्छ ।
सर्वसाधरणको मात्रै नभइ राष्ट्रियस्तरमा विदेशी मुद्रा आर्जनको मुख्य स्रोतका रुपमा यसलाई लिने गरेको छ । नेपालको बढ्दो परनिर्भरता धान्नका लागि विप्रेषण एक महत्वपूर्ण स्रोत मानिएको छ । यसैगरी विप्रेषण मार्फत आउने रकमले बैंक तथा वित्तीय संस्थाको तरलता बढाउन महत्वपूर्ण भूमिका खेल्छ ।
सरकारले विप्रेषणमार्फत माग हुँदा आयात हुने वस्तुमार्फत राजस्व प्राप्त गर्ने गरेको छ । अर्थात विप्रेषण नेपाली र नेपाल राष्ट्रको आम्दानीको मुख्य धमनी हो भन्न सकिन्छ ।
यसैगरी चाडपर्वको समयमा समेत नेपालीको गर्जो टार्ने मुख्य स्रोत रेमिट्यान्स नै हो । नेपालमा रोजगारी नपाएर विदेशिनुको पीडा छुट्टै भए पनि आफ्ना परिवारजनका लागि दसैँको समयमा अन्य समयमा भन्दा बढी रेमिट्यान्स पठाउने गरेका छन् । कतार, संयुक्त अरब इमिरेट्स, मलेसिया, बराईन, साउदी अरवियालगायतका खाडी, मध्यपूर्वी एसियली मुलुक तथा जपान, अमेरिका, अष्ट्रेलिया र युरोपका विभिन्न मुलुकहरु नेपालमा रेमिट्यान्स प्राप्त गर्ने प्रमुख राष्ट्रहरु हुन् । यसैगरी भारत पनि नेपालमा रेमिट्यान्स पठाउने मुलुक सूचीहरुको अग्रस्थानमा नै रहने गरेको छ ।
दसैँमा आउने गरेको रेमिट्यान्स सबै उपभोगमा नै खर्च हुने गरेको छ । मासु, लत्ता कपडा, मरमसला, दक्षिणा, ग्याजेट, सवारीसधान तथा गरगहनाको खरिदमा नै रेमिट्यान्स बढी खर्च हुन्छ । रेमिट्यान्समार्फत आउने रकम उपभोग धान्न समेत अपुग भइरहेको छ ।
कामको खोजीमा गएकाहरू भारतबाट रेमिट्यान्स लिएर दसैँमा फर्किने गरेका छन् । तराईका जिल्ला तथा पश्चिम नेपालमा भारतबाट आम्दानी गर्ने नेपालीहरुको संख्या उच्च रहेको बताइन्छ । यसरी विभिन्न मुलुकमा रहेका नेपालीहरूले विप्रेषण पठाएपछिमात्रै अधिकांशलाई दसैँ आउने गरेको छ ।
दसैँको समयमा भित्रिन्छ सबैभन्दा बढी विप्रेषण
गत वर्षको दसैँमामात्रै नेपालमा ७८ अर्ब ५० करोड विप्रेषण भित्रिएको थियो । यसैगरी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ७० अर्ब २७ करोड रूपैयाँ भित्रिएको देखिन्छ । चालु आर्थिक वर्षमा ८० देखि ९० अर्बको हाराहारीमा रेमिट्यान्स भित्रिने अनुमान छ ।
यसैगरी नेपालमा असोज-कार्तिक महिनाको समयमा सबैभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ । यो बेला दसैँ, तिहार तथा छडलगायतका चाडपर्वहरू पर्ने भएकाले विप्रेषणमार्फत बढी रकम आउने गरेको छ ।
राष्ट्र बैंक तथ्यांकअनुसार गत वर्ष असोज र कात्तिकमा १ खर्ब ५१ अर्ब विप्रेषण भित्रिएको थियो । यसैगरी आर्थिक वर्ष २०७६/७७ मा १ खर्ब ३६ अर्ब ३१ करोड रेमिट्यान्स यही अवधिमा भित्रिएको छ ।
अर्थ सरोकारवालाका अनुसार कम जोखिम भएका र बढी प्रतिफल दिन सक्ने सेयर, म्युचल फण्ड, बढी ब्याज प्राप्त हुने बैंकको मुद्दतीमा रकम जम्मा गर्ने गरी लाभ प्राप्त गर्न सकिन्छ । यति बेला नेपालको सेयर बजारमा लाभांश वितरणको समय भएकाले बुझेर लगानी गर्दा प्रशस्त आम्दानी गर्न सकिन्छ ।
चालु आर्थिक वर्षको पहिलो महिना साउन ७५ अर्ब ४० करोड रुपैयाँ रेमिट्यान्स आइसकेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ७५ अर्ब ९६ करोड भित्रिएको देखिन्छ ।
आर्थिक वर्ष २०७५/७६ मा नेपालमा ८ खर्ब ७९ अर्ब भित्रिएको थियो भने आर्थिक वर्ष २०७६/७७ मा ८ खर्ब ७५ रूपैयाँ रेमिट्यान्स भित्रिएको देखिन्छ । यसैगरी कोभिड १९ महामारीका बाबजुद पनि गत आर्थिक वर्ष २०७७/७८ मा ९ खर्ब ६१ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको छ ।
यसैगरी विदेशमा हुने नेपालीले बन्दाबन्दीका समयमा आफन्तहरूलाई बढी पैसा पठाएकाले विप्रेषण बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । पछिल्लो समय कोरोनाले गन्तव्य मुलुकहरुमा विदेश जाने तथा पुनः श्रम स्वीकृति लिनेको संख्या घट्न थालेपछि विप्रेषण घट्ने हो कि भन्ने चिन्ता नीति निर्माताहरूलाई पर्न थालेको छ ।
सबै उपभोगमा नै खर्च
दसैँमा आउने गरेको रेमिट्यान्स सबै उपभोगमा नै खर्च हुने गरेको छ । मासु, लत्ता कपडा, मरमसला, दक्षिणा, ग्याजेट, सवारीसधान तथा गरगहनाको खरिदमा नै रेमिट्यान्स बढी खर्च हुन्छ । रेमिट्यान्समार्फत आउने रकम उपभोग धान्न समेत अपुग भइरहेको छ । गत वर्ष नेपालको १५ खर्ब ३९ अर्बको वस्तु आयात भएको थियो भने आर्थिक वर्ष २०७६/७७ मा ११ खर्ब ९६ अर्ब बराबरको आयात भएको थियो । निर्यात करिब १ खर्बको हाराहारीमामात्रै गरेकाले आयात धान्न विप्रेषणका अलावा सार्वजनिक ऋणको समेत उपयोग भइरहेको छ ।
पछिल्ला दसैँमा औसतरूपमा विप्रेषण ७५ अर्ब भित्रिए पनि आयात भने १ खर्बभन्दा बढी हुने गरेको छ । यसबाट दसैँमा आउने रेमिट्यान्स वस्तु खरिदमार्फत बाहिरिने गरेको सोझै अनुमान गर्न सकिन्छ ।
उपभोग कटौती गरेर लगानी गर्न आग्रह
दसैंमा भड्किलो हिसाबले खर्च नगर्न विज्ञहरूको सुझाव छ । चाडबाडमा अनावश्यक खर्च कटौती गरेर उत्पादनशील क्षेत्रमा लगानी बढाए आम्दानी थपिने उनीहरू बताउँछन् ।
अर्थ सरोकारवालाका अनुसार कम जोखिम भएका र बढी प्रतिफल दिन सक्ने सेयर, म्युचल फण्ड, बढी ब्याज प्राप्त हुने बैंकको मुद्दतीमा रकम जम्मा गर्ने गरी लाभ प्राप्त गर्न सकिन्छ । यति बेला नेपालको सेयर बजारमा लाभांश वितरणको समय भएकाले बुझेर लगानी गर्दा प्रशस्त आम्दानी गर्न सकिन्छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले रेमिट्यान्समार्फत प्राप्त हुने बचतमा १ प्रतिशत बढी ब्याजदर दिइरहेका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत विप्रेषणबाट प्राप्त हुने निक्षेपलाई राष्ट्र निर्माणमा लगाउने उद्देश्यले उक्त नीति ल्याएको हो ।
यसैगरी अनावश्यक खर्च गर्नुको सट्टा रकम जम्मा गरेर सुनचाँदीलगायतमा लगानी गर्न सकिने बताइन्छ । दीगो लगानीको भरपर्दो माध्यम मानिने सुनचाँदी बजारमा हुने मूल्यवृद्धि समायोजन गर्ने सर्वप्रिय द्रब्य हो ।