हराउन थाल्यो सखिया नृत्यको रौनकता – Nepal Press

हराउन थाल्यो सखिया नृत्यको रौनकता

कञ्चनपुर । दसैँमा थारु समुदायका महिलाले देखाउने सखिया नृत्यको रौनकता कञ्चनपुरमा हराउँदै जान थालेको छ । कृष्णजन्माष्टमीका दिनदेखि आरम्भ गरिने नृत्य दसैँसम्म देखाउनुपर्ने चलन थारु समुदायमा रहेपनि हाल यस नृत्यलाई छोटयाएर पाँचदेखि तीन दिन मात्रै देखाउन थालिएको छ ।

कोरोना महामारीका कारण सखिया नृत्यलाई छोट्याउनु परेको जोनापुरका वडघर रामप्रसाद चौधरीले बताए । ‘सखिया नृत्य सामुहिकरुपमा देखाइने भएकाले निकै भीडभाड हुन्छ ’, उनले भने, ‘त्यसैले यस नृत्यलाई छोटो अवधिका लागि देखाउने व्यवस्था मिलाएका छौं । ’ गाउँका अधिकांश व्यक्ति व्यावसायीक कार्यमा संलग्न भएकाले पनि पहिला जस्तो सबैसँग फुर्सद नहुँदासमेत नृत्यको पहिला जस्तो महत्त्व नरहेको उनले बताए ।

उनका अनुसार पहिला कम्तीमा एक महिनासम्म यस नृत्यको आयोजना गरिँदै आएकोमा खर्च बढी लाग्ने र बढी समय खेल्दा नाच्ने युवतीलाई पटयार लाग्ने भएपछि हाल सखिया नृत्य छोटो अवधिमा देखाइने अर्को कारणका रुपमा रहेको छ । ‘धार्मिक अनुष्ठान र तान्त्रिक विधिबाट मात्रै नृत्यको आरम्भ र अन्त्य गरिने भएकाले यस नृत्यमा बुढापाकाकोे अटुट आस्था र धार्मीक विश्वास रहेकाले हालसम्म जोगाउन सकिएको छ ’, उनले भने, ‘सामाजिक सद्भाव र धार्मिक भावनाले ओतप्रोत रहेको सखिया नृत्य जोगाउनका लागि युवा पनि सक्रिय भएर लागेका छन् । ’

सामुहिकरुपमा देखाइने सखिया नृत्य गाउँका घर घरमा गएर देखाउने चलन थारु समुदायमा रहेको छ । थारु गाँउका भलादमी, बडघर, गुरुवा, केसौका आदीको बैठक बसी सखिया नृत्यको आयोजना गर्नका लागि छलफल गरेपछि नृत्यको व्यवस्थापनको चाजोपाँजो मिलाउने गरिन्छ ।

गुरुवा(झांक्रि)ले तान्त्रीक विधिद्वारा नृत्यमा सहभागिता जनाउने युवा युवतीलाई दुष्टात्माको भवितव्यवाट बचाउनका लागि पूजा र अनुष्ठान गरेपछि यस नाचको प्रारम्भ गर्ने चलन रहेको छ ।

सखिया नृत्यमा भगवान कृष्णको जन्मलिलादेखि मृत्युसम्मको वर्णन गरिएको हुन्छ । नृत्यमा चार जना मादल बजाउने मदारीको व्यवस्था गरिएको हुन्छ । नृत्यको बीचबीचमा गीतलाई फरकफरक भाका हालेर गाउने गरिन्छ ।

मादल बजाउने कार्यको अगुवाई गर्ने व्यक्तिलाई अगुवा मदारी भन्ने गरिन्छ । अगुवा मदारीको तालमै ताल मिलाउदै मादल बजाउनेलाई पछुवा मदारी भन्ने गरिएको बुद्धिराम चौधरीले बताए । नृत्यमा गीत गाउने महिलाको अगुवाई गर्नेलाई “मोह्रिन्या” भन्ने गरिन्छ । मोह्रिन्याको सिको गर्दै नाच्ने युवतीलाई जेठ गोहीया र पछगोहीया भन्ने गरिन्छ । नृत्यमा मादलको तालसँगै विभिन्न मुद्रामा युवतीले नृत्य गर्दछन । जसलाई थारु भाषामा खोट (पैंया) भन्ने गरिएको छ ।

पैंया २२ प्रकारको हुने गरेको भएपनि हाल मदारीले आफँै सृजना गरेर पैंयाको तरिकामा परिर्वतन ल्याएकाले यो बढी पनि हुन सक्ने थारु अगुवाको भनाइ रहेको छ । यस नृत्यमा मादलको ताल र गीतसँगै नृत्य गर्ने युवतीले खुट्टाको पैतलासँगै शरिरलाई मोडेर विभिन्न मुद्रामा पेश गर्नुपर्ने हुन्छ । सप्तमीको दिनसम्म रातिको समयमा निश्चितस्थानमा गरिने यो नृत्य अष्टमीको रातभर आयोजना गरिन्छ ।

अष्टमीको रातभरि आयोजना गरीने नृत्यलाई भेडुवा जगैना भन्ने गरिएको उल्लेख गर्दै थारु संस्कृतिका जानकार धनबहादुर चौधरीले भने, ‘यस दिन थारु समुदायले कुभिण्डोको भेडा बनाइ बलि दिने परम्परागत चलनसमेत रहेको छ । ’

पञ्चमीको दिनअघि सादा पोशाकमा यस नृत्य हुनेभएपनि पञ्चमीका दिनदेखि मादल बजाउने मदारीले सेतो धोती र कमिज लगाउने गर्दछन भने नृत्य गर्ने युवतीले रङ्गिविरङ्गि ऐना जडान गरेका लेहङ्गा, चोल्या, अङ्गिया, सेतो फरिया र गोन्या लगाउने गर्दछन । हातमा मैजरी लिएर मादलको तालसँर्गै महिलाले बजाउनेसमेत गर्दछन । अष्टमीको दिनपछि रातिमा नाचिँदै आएको सखिया नृत्यलाई नवमी र दसैँमा दिउसो नाच्ने गरिन्छ । दिउसो पख् नाचिने सखिया नृत्यमा थारु युवतीले कृष्णको लिलालाई आफनै भाषामा बखान गरी गीतमार्फत व्यक्त गर्ने गर्दछन् ।

यस नृत्यलाई दसैँका दिन धनी, गरिव, गाउँका मान्यजन सबैका घर घरमा गएर देखाउने भएकाले विगतका रिसराग विर्सीएर सबैले हेर्ने गर्दछन् । बडघरसँग टीका थाप्न जाँदासमेत सखियालगायतका परम्परागत नृत्य लगेर देखाउने चलन यस समुदायमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *