‘घरजग्गा कारोबारलाई पनि करको दायरामा ल्याउनु पर्छ, बर्सेनि अर्बौ राजस्व उठ्छ’ (भिडिओ)
काठमाडाैं । नेपालमा उद्योग स्थापनाभन्दा व्यापारमा नै व्यवसायीको बढी ध्यान जाने गरेको छ । उत्पादनमूलक उद्योगमा भन्दा व्यापारमा बढी लगानी भएका कारण व्यापार घाटा पनि बढ्दो छ । त्यस्तै पर्याप्त मात्रामा रोजागारी सिर्जना नहुँदा युवाहरु विदेशिने क्रम बढ्दो छ । यससँगै नेपालको समग्र अर्थबजारबारे नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लसँग गरिएको कुराकानी–
चाडपर्वको मौसम छ । नेपाली बजारको स्थिति कस्तो छ ?
चाडपर्वको समयमा अन्य बेलाभन्दा राम्रो व्यापार हुन्छ । चाडपर्वमा राम्रो लगाउने र मीठो खाने मान्यताका कारण पनि दैनिक उपभोग्य वस्तुसँगै विलासीका सामानको व्यापार राम्रो हुन्छ । अघिल्लो वर्ष कोरोना महामारीका कारण व्यापार नराम्ररी प्रभावित भएको थियो । तुलनात्मक रुपमा यसपालि राम्रो छ ।
हुनत कोरोनाको समयमा दैनिक उपभोग्य वस्तु बिक्री भइरहेको नै थियो । खाद्यान्न दैनिक प्रयोग हुने भएकाले त्यसको बजारमा खासै फरक परेन । तर अरु क्षेत्रमा कोरोनाको असर अझै छ । कोरोनाले भत्काएको अर्थतन्त्रको चेन अझै जोडिन सकेको छैन ।
व्यापारलाई पहिलेको अवस्थामा पुर्याउन सबैलाई कोरोनाविरुद्धको खोप दिने र स्वास्थ्यको मापदण्ड पालन गरेर अगाडि बढ्न पर्ने अवस्था छ । सबै क्षेत्रलाई अगाडि बढाएर अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक रहेको छ ।
नेपालमा दैनिक उपभोग्य बस्तुसमेत विदेशबाट आयात हुन्छ । किन नेपालले उत्पादन गर्न नसकेको ?
हामी खाद्यान्न नै वार्षिक दुई सय अर्बको आयात गर्छाै । पहिले माओवादी द्वन्द्वकालमा युवाहरु गाउँमा बसेर काम गर्ने वातावारण नभएकाले विदेशिएका थिए । त्यसको असर पनि विदेशबाट बस्तु आयातमा देखिएको हो । नेपालमा लगानीकर्ताले पनि उद्योगभन्दा व्यापार व्यवसायमा बढी लगानी गरेका छन् । व्यपारमा कम जोखिम हुने हुनेहरुको बुझाइ छ ।उद्योग निर्माण गर्दा पनि लामो समय लाग्ने र प्रतिफल पनि ढिलो आउने भएकाले व्यापारमा आकर्षण बढेको हो ।
हामीले उत्पादनमा भारत र चीनसँग प्रतिस्पर्धा गर्न सक्दैनौं । ती देशहरुमा उत्पादन लागत कम छ । हामीले केही बस्तु उत्पादन गर्न पर्यो भने उत्पादन लागत धेरै हुन्छ । धेरै बस्तु उत्पादन गर्ने भएकाले पनि विदेशमा उत्पादन मूल्य कम हुन्छ । त्यहाँ कच्चा पदार्थको मूल्य पनि कम हुन्छ । नेपालमा आवश्यक पर्ने दाल, चामललगायतका बस्तु उत्पादनमा वृद्धि गर्न सरकारले पनि ध्यान दिनुपर्ने अवस्था छ । सरकारले पनि केही सहुलियत दिएको छ । तर त्यो विश्व बजारको उत्पादनसँग प्रतिस्पर्धा गर्नसक्ने खालको छैन ।
सरकारले दैनिक उपभोग्य वस्तु नेपालमा नै उत्पादन वृद्धि गर्न साना, मझौला र घरेलु उद्योगलाई सहज हुने नीति निर्माण गर्न पर्छ । त्यसपछि मात्रै देशमा दैनिक उपभोग्य वस्तुको उत्पादन वृद्धि भइ विदेशबाट आयात हुने बस्तुहरु क्रमशः कम हुँदै जान्छ ।
सरकारले सिमेन्ट, स्टिल जस्ता उद्योगमा गरिने लगानीको स्रोतसमेत नखोज्ने भनेको छ । तर दैनिक उपभोग्य सामग्री उत्पादनमा चाहिँ सरकारले प्राथमिकता नदिएको भन्ने हो ?
अर्थतन्त्र माथि उठाउन देशमा भएका साना उद्योगलाई नै प्राथमिकता दिनुपर्छ । हाम्रो देशमा भएका उद्योगमध्ये ८२ प्रतिशत साना उद्योग छन् । ठूला उद्योगमा लगानी आकर्षण हुने कुरा राम्रो हो । तर ठूला उद्योगमा स्रोत नखोजिने कुरा राम्रो भने होइन । सरकारले जताबाट भए पनि पैसा ल्याएर लगानी गर भन्न मिल्दैन ।
सम्पत्ति शुद्धीकर र विश्वका अन्य संगठसँग भएका सम्झौताअनुसार नै अगाडि बढ्नु पर्छ । लगानीको स्रोत खोजिएन भने हामीलाई अन्य देशले कालो सूचीमा राख्छ ।
खासमा अहिले चेम्बरले के गरिरहेको छ ?
यहाँ ३ वर्षका लागि नेतृत्व आउने गरेको छ । ३ वर्षको लागि नै कार्य योजना बनाउनु राम्रो हुन्छ । हामी साना कृषि उद्योग र प्रविधिलाई कसरी माथि उठाउने भन्नेमा केन्द्रित छौं । अहिले कृषि उद्योगलाई अगाडि बढाउन काम भइरहेको छ । प्रत्येक जिल्ला र स्थानीय तहमा नै चेम्बरका सदस्यहरु पुगेर कृषिमा लगानी गरिरहेका छन् । हामीले सुरु गरेको कृषिमा कसरी उत्पादन खर्च कम र विदेशबाट आयात हुने कृषिका वस्तु कम वा रोक्न सकिन्छ भनेर कम गरिरहेका छौं ।
हामीले कृषि एम्बुलेन्स सेवा सञ्चालन गरेर महिला उद्योगी, कृषक र साना उद्योगले उत्पादन गरेको वस्तु बजारमा पुर्याउने योजना बनाएका छौं । त्यसका लागि सरकारले गाडी खरिद्मा भन्सार छुट दिनु पर्छ । यसो हुँदा धेरथोर आयाज घटाउन सहयोग पुग्छ ।
करको दायरा बढाउने विषयमा चाहिँ चेम्बरको मत के हो ?
घर जग्गा कारोबारीलाई पनि करको दायरामा ल्याउन चेम्बर सरकारलाई सुझाव दिइरहेको छ । पाँच लाखसम्म कमाउने व्यक्तिले सरकारलाई कर तिरिरहेका छन् । तर घर जग्गा कारोबार गर्ने कारोबारीलाई प्यान पनि नचाहिने अवस्था छ । जति पैसा कमाए पनि सरकारलाई कर तिर्न नपर्ने स्थितिको अन्त्य गर्नु पर्छ ।
घरजग्गा कारोबारीमा सेयर बजारमा जस्तै ब्रोकरको व्यवस्था गरेर करको दायरामा ल्याउन सकिन्छ । विकसितत देशमा यो अभ्यास भइरहेको छ । यसो गर्दा बर्सेनि अर्बौ राजस्व संलन हुन्छ ।
संस्थाको नेतृत्व गर्दा व्यक्तिग व्यापार कतिको प्रभावित हुने रहेछ ?
कुनै पदीय जिम्मेवारी लिएपछि काम गर्नै पर्छ । हरेक दिन २ बजेदेखि ५ बजेसम्म चेम्बरमा व्यवसायीको कुरा सुन्ने गरेको छु । समस्या सामाधन गराउनका लागि पहल गर्छु । यसले आफ्नो व्यापारलाई अलिअलि असर त गरिहाल्छ नि ’ मेरो बैंक, पर्यटन, हाइड्रोपावर र बीमालगायतका क्षेत्रमा लगानी छ । कोरोनाको समयमा प्रायः सबै व्यवसायहरु घाटामा छन् ।
कोरोनाका कारण मारमा परेका व्यवसायीको पक्षमा चेम्बरले के गरिरहेको छ ?
अहिले पनि धेरै उद्योगी व्यवसायी समस्यामा छन् । सरकारलाई हामीले ब्याजमा सहुलियत दिन माग गरेका थियौं । सरकारले सहुलियत दिएको पनि थियो । अब फेरि बढेको ब्याज घटाउनुपर्ने अवस्था छ ।
खानेतेललगायत दैनिक उपभोग्य वस्तुको मूल्य निकै महंगिएको जनगुनासो छ । यसमा व्यापारीको हात छ भनिन्छ । हो ?
उद्योगले नै खाने तेललगायतका वस्तुहरुमा मूल्य तोकेर व्यापारका लागि पठाउने गरेको छ । विश्व बजरमा नै तेलको मूल्य वृद्धि भएकाले नेपालमा पनि त्यसको असर देखिएको हो । तर सरकारले के–के करणले मूल्य वृद्धि भएको हो भनेर हेर्न आवश्यक छ ।
अलिकति व्यक्तिगत कुरा गरौं । तपाईंको परिवार नै खान्दानी व्यापारी हो ?
बाजेको पालादेखि नै व्यवासायमा थियौं । मेरो बुवा पनि व्यवसायमा नै हुनुहुन्थ्यो । मेरो बुवा र बाजेले पुरानो तरिकाले व्यापार गर्दै आउनु भएको थियो । पछिल्लो समय बैंक, उद्योग र बीमालगायतका व्यवसाय मैले सुरु गरेका हो ।
मेरा दुईजना छोरा छन् । एउटा छोरोले मेरो व्यवसायमा सहयोग गरिरहेको छ भने एउटा छोरो अमेरिकामा बढिरहेको छ । छोराले पढाइ सकाएपछि व्यवसायमा अगाडि बढाउने सोचेको छु । हामी सकेसम्म उद्योग र व्यापारलाई सँगसँगै अघि बढाउने योजनामा छौं ।