‘पाँच वर्षसम्म आम्दानीको प्रतिफल लिन नसक्ने गरी घाटामा गयौं’ (भिडिओ)
खुमबहादुर सुवेदी झण्डै ३ दशकदेखि पर्यटन व्यवसायमा आवद्ध छन् । दी ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का वर्तमान अध्यक्षसमेत रहेका सुवेदीको ३ दशक लामो पर्यटन यात्रा सधै सुखमय छैन, अनगिन्ति दुःख र हण्डरले उनको यात्रा भरिएको छ ।
पटक–पटक धर्मराएको व्यवासायलाई सम्हाल्दै उठेका सुवेदी आफ्नो व्यवसाय मात्रै होइन समग्र पर्यटन क्षेत्रको श्रीवृद्धिका लागि सकेको योगदान गर्न चाहन्छन् । टान अध्यक्ष सुवेदीसँग व्यक्तिगत, व्यवसायिक र समग्र पर्यटन क्षेत्रसंग सम्बन्धित रहेर गरेको कुराकानी प्रस्तुत छ, नेपाल टकमा ।
पर्यटन व्यवसायमा तपाई कसरी प्रवेश गर्नु भयो ?
म धादिङ जिल्लामा जन्मे हुर्केको मानिस । मेरो घरबाट हिमाल छर्लङग देखिन्छ । हिमालप्रति मोह त थियो नै, नजिकै गएर हिमाल हेर्न पाए हुन्थ्यो जस्तो लाग्छ । पछि स्कुल लेभल पनि सकियो र अन्य केहीं काम पनि शुरु गरिसकेको थिए । तर, रेडियो टेलिभिजनमा पर्वतारोहण, ट्रेकिङका बारेमा सुन्न थाले । त्यसपछि पर्वतारोहणप्रति चाख लाग्न थाल्यो । यसैक्रममा ठमेलमा रहेको एटलष्ट ट्रेकिङ प्रालिमा जोडिन पुगे । त्यसपछि मैले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा गाइडको ट्रेनिङ लिए । ट्रेनिङ लिनसाथ मैले हिमाल चढ्नुअघि पदयात्रामा निस्किएका रसियन पर्यटकलाई लिएर यात्रामा हिडे । धादिङ र काठमाडौंबाहेक अन्यत्र धेरै नघुमेको म ट्रेकिङ म्याप बोकेर पर्यटकसहित पोखरा गए । त्यहाँबाट उनलाई विरेठाँट, घोरेपानी, घान्द्रुक क्षेत्र गए ।
त्यपछि उनीसँग पदयात्रा सकेर पुनः पोखरा आयौं । पोखराबाट पहिलो पटक म जहाज चढेर काठमाडौं आए । त्यसवेलामा हामी नेपालीले कार चढ्नु, विदेशीसँग हिड्नु, जहाज चढ्नु र ठूला होटलमा बसेर खानु सहज थिएन् । त्यो ट्रेकिङबाट आर्थिक लाभ पनि राम्रो भयो । त्यसपछि मलाई ट्रेकिङ भनेको त विदेशीसँग हिड्ने, नयाँ–नयाँ ठाउ गइरहन मन लाग्ने, विदेश घुम्न जान पाइने त्यसमा पनि विदेशीसँग हिड्दाको अनुभव पनि छुट्टै हुने जस्तो लाग्यो । त्यहीबेला २०४९ सालमा मलाई ब्रिटिस पोलेसी ट्रेकिङले मनास्लु हिमालको ट्रेकिङ गर्न भन्यो । यसमा २ सय भरिया साथीहरु पनि हुनुहुन्थ्यो । त्यसको लिड मैले गरेको थिए । यो २१ दिनको ट्रेकिङ थियो । यसमा मैले निकै रोमाञ्चित अनुभूति पनि गरे र २१ दिनको ट्रेकिङमा मैले राम्रो टिप्स पनि प्राप्त गरे । यसले मलाई पर्यटन क्षेत्रमध्ये पनि ट्रेकिङ नै धेरै राम्रो लाग्यो । त्यसपछि म अनवरत यही क्षेत्रमा क्रियाशील रहे ।
कतिको लगानीबाट तपाई यो व्यवसायमा प्रवेश गर्नु भयो ?
शुरुमा त म व्यवसायी भएर प्रवेश गरेको होइन । १९९८ मा ‘युनिक एडभेन्चर अन्तराष्ट्रिय प्रालि’ खोल्ने बेलामा भने मैले लगानी गरे । त्यतिबेला अहिलेजस्तो धेरै खर्च लाग्दैनथ्यो । मैले साढे २ लाख रुपैयाँ सरकारलाई धरौटी बुझाएर व्यवसाय सुरु गरे । सुरुमा कर्मचारी पनि धेरै थिएनन्, आफै धेरै खटिएर काम गरे ।
अहिले तपाईले कति जनालाई रोजगारी दिनुभएको छ ?
अहिले कोभिडले गर्दा श्रमिक साथीचाहिँ हुनुहुन्न । यो सिजनल व्यवसाय भएकाले सिजनको वेलामा ४०/४५ जनालाई रोजगारी दिइरहेका छौं । कम्पनीमा भने १४ जनालाई स्थायी रुपमा रोजगारी दिएको छु ।
तपाईले व्यवसाय गरेपछि सबैभन्दा बढी क्षति भोगेको र सबैभन्दा बढी नाफा कमाएको समय कुन हो ?
२००५ मा म पहिलो पटक बेल्जियम जाने मोका पाए । त्यो बेला नेपालमा माओवादी समस्या चरम उत्कर्षमा थियो । विदेशी पर्यटक पर्वतारोहणमा एका÷दुई बाहेक शून्यको अवस्था थियो । धेरै साथीले नेपाल नफर्की उतै बस्न सुझाव दिएका थिए । तर मलाई विदेशमा दुःख गरेर कार्ड लिनुभन्दा नेपाल नै प्यारो थियो । म नेपाल फर्किएर पर्यटन व्यवसायलाई नै निरन्तरता दिए । यो व्यवसायमा मैले धेरै क्षति व्यहोरेको छु ।
विगतमा नेपालको बारेमा धेरै नकारात्मक सन्देश फैलियो । पर्यटन क्षेत्र भनेको तन्काउँदा तन्किने र खुम्च्यिाउँदा खुम्चिने व्यवसाय हो । देशको राम्रो स्थिति र सन्देश राम्रो जाँदा विदेशी पर्यटक धेरै आउँछन् । सन्देश राम्रो भएन भने पर्यटक आउँदैनन् । विदेशी पर्यटक नेपाल घुम्न रमाउन आउने हो । नेपालको दुःख र समस्या हेर्न आउने होइन । त्यसैले मुलुकको अवस्था सहज नभएका बेला हामीले धेरै क्षति व्यहो¥यौ । ऋतिक रोशन काण्ड, माओवादी आन्दोलन, राजदरबार हत्याकाण्ड, भूकम्पको अवस्था, नाकाबन्दीको अवस्था, विभिन्न राजनीतिक दलको आन्दोलनको अवस्था र अहिले कोभिडको समस्यालगायतका विभिन्न समयमा नेपालमा विदेशी पर्यटक शून्यको अवस्थामा थिए । यस्ता बेलामा धेरै क्षति भयो ।
राम्रो समय भनेको १९९८ तिर थियो । त्यसबेला बुढाबढी पनि नेपाल घुम्न आउँथे । चाटर्र फ्लाइट प्रशस्त हुने गरेको थियो । पर्यटक धेरै आएकाले हाम्रो आम्दानी पनि राम्रो भएको थियो । भूकम्पअघिको केही वर्ष र पछिका दुई वर्षको समयमा पनि पर्यटन क्षेत्रमा राम्रै थियो । सन् २०२० लाई भिजिट नेपाल वर्ष मनाउने क्रममा हामीले लगानी पनि बढायौ । तर दुर्भाग्य कोभिड महामारीका कारण पर्यटन क्षेत्र थलियो । अहिले हामी इतिहासकै सबैभन्दा कमजोर क्षणमा छौं ।
तपाई आफै पर्यटन व्यवसायी तपाईं कुन–कुन गन्तव्य स्थानमा पुग्नु भएको छ ?
मैलेअन्नपूर्ण बेस क्याम्प, सरगमाथा बेस क्याम्प, मुस्ताङ, लाङटाङ, मनास्लुलगायतका ठाउँ घुमिसकेको छु । मलाई सबैभन्दा मन पर्ने ठाउँ लाङटाङ, हेलम्बु आदि हुन् । साथै, मनास्लुको वीरेन्द्र ताल पनि मलाई मन परेको ठाउँ हो । म त्यहाँ २०४९ साल तिर गएको हुँला । त्यस बेलामा मसँग कुनै क्यामेरा थिएन । विदेशीले बोकेको क्यामाराबाट खिचेको तस्वीर पनि मैलै लिन पाइन । मैले आँखाले मात्र कैद गरेको ठाउँ हो वीरेन्द्र ताल । यिनै ठाउँहरु मलाई मन पर्छ ।
नेपाल आउने पर्यटक कुन देशबाट आउने कस्ता किसिमका हुन्छन् ?
खासगरी, नेपालमा आउने पर्यटक नेम र फेम भएको सगरमाथा, पशुपति र लुम्बिनी दर्शन गर्न आउँछन् । हरेक देशका पर्यटकको आ–आफ्नै च्वाइस हुन्छ । कुनै धार्मिक हुन्छन् कुनै ऐतिहासिक, कुनै प्रकृतिलाई हेर्न आउने हुन्छन् । अमेरिका, युके जापान, सिंगापुरलगायत तथा छिमेकी देशमा भारत र चीनका पर्यटक पनि नेपाल आउने गर्छन् । नेपाल भ्रमण गर्ने पूराना पर्यटकमा अमेरिका, क्यानडा, अष्ट्रेलियाकै धेरै छन् । भारत र चीनबाट त पर्यटकको आगमन हुन थालेको धेरै भएको छैन । संख्याको हिसाबले नेपालमा १ सय ८० देशका पर्यटक आउने गरेका छन् । हरेकको आ–आफ्नै रोजाई, शैली र संस्कार देखिन्छ ।
कुन देशका पर्यटक बढी खर्चालु छन् र कुन देशका पर्यटक खर्च गर्नमा लोभ गर्छन् ?
अमेरिकी पर्यटकले बढी नै खर्च गर्ने गर्छन् । तर, यो पनि पर्यटकको सर्भिसका आधारमा हेरिन्छ । कुनै पर्यटक बढी विलासी हुन्छन् कोहीं कम खर्चालु हुन्छन् । युरोप, क्यानाडा र अमेरिकाबाट आएका पर्यटकले नै बढी खर्च गर्ने गर्छन् ।
तपाईले अहिलेसम्म चाहि कति देशको यात्रा गरिसक्नु भएको छ ?
मैले अहिलेसम्म ४० देश बढीको भ्रमण गरिसकेको छु ।
तपाईलाई कुन देशको खानाले बढी लोभ्याएको छ ?
हामी नेपाली भएका हिसावले सबैभन्दा बढी त नेपाली खाना नै मनपर्छ ।
विदेश घुम्दाको सुखद् क्षण र दुःखद् क्षण त्यस्तो केहीं छ ?
मेरो पहिलो अन्तराष्ट्रिय हवाई यात्रा बेल्जियम जाँदा भएको थियो । त्यहाँ विदेशीले गरेको सत्कार र विदेशी गगनचुम्बी भवन मेरो आँखाले देखेको अनुभुति अझै ताजा छ । अमेरिकाको सनफ्रान्सिस्को मैले घुमेको मध्ये मन पर्ने ठाउँ हो । त्यस्तै सिङ्गापुर पनि मेरो वेष्ट गन्तव्य नै हो । मैले नेपालमा क्यासिनो खेलेको थिइन । सिंगापुरमा गएर मैले क्यासिनोमा छिरेर खेल्ने मौका पाए । त्योपनि मेरा लागि अवस्मिरणीय क्षण बन्यो । जर्मन घुम्दा होस् वा लण्डनका ऐतिहासिक ठाउँको भ्रमण गर्दाको क्षण होस् निकै रमाइला थिए ।
यात्रा गर्दा सधै रमाइलो मात्र हुँदैन, दुःखद् क्षण पनि हुन सक्छ । दुःखद क्षणमा चाहिँ म पहिलो पटक बेल्जियम जानका लागि काठमाडौंबाट दिल्ली उडँे । मलाई लागेको थियो म ट्रान्जिट नभइ सरासर दिल्लीबाट बेल्जियम पुग्छु भनेर तर, एयरलाइन्सले चलाखी गरेको रहेछ । प्लेनको सिटभन्दा धेरै नै यात्रुको टिकट काटेको रहेछ । यसैले म दिल्लीमा तीन दिन होटलमा बस्नु प¥यो । मलाई लाग्थ्यो जहाजको टिकट, भिषा, पासपोर्ट, पकेट खर्च सबै भएपछि म सरासर जान पाउँछु । तर, त्यसो नहुँदो रहेछ । तीन दिनसम्म म होटलमा बस्दा मलाई सारै गाह्रो भयो । अहिलेको जस्तो त्यतिखेर कुनै समाजिक सञ्जाल, मोवाइल थिएन् । घरमा फोन गर्न पनि घरमा फोन थिएन । तीन दिनपछि पनि मैले टिकट काटेको एयरलाइन्स एयर इन्डियामा म जान पाइन, अर्को एयरलाइन्समा म बेल्जियम पुगे । त्यो क्षण मेरा लागि निकै दुःखद रह्यो ।
अर्को दुःख पाएको क्षण भनेको क्यानडामा हो । म क्यानाडाको मोट्रेटमा थिए, त्यहाँबाट टोरेन्टो कन्फ्रेन्स जानुपर्ने थियो । कन्फ्रेन्सका लागि हामी पर्यटन व्यवसायीले पैसा तिरिसकेका थियौं । तर, एयरपोर्टमा बस्दा बस्दै मौसम खराबले हामी टोरेन्टो जान सक्ने अवस्थामा थिएनौं । सबै उडान क्यान्सिल भए । न अब उडान भर्न सक्ने अवस्था थियो न त सडक मार्गबाट जान सक्ने अवस्था । हामी विलखबन्दमा प¥यौ । हामी सबै चिन्तित थियौं जो नेपालबाट गएका र अन्य देशबाट कन्फरेन्समा भाग लिन आएकाहरु । हामी नगएको खण्डमा हाम्रो पैसा पनि रिफन्ड हुने अवस्था थिएन । हामीले एयर क्यानाडालाई धेरै अनुरोध ग¥यौ अन्य मुलुकका यात्रुले पनि अनुरोध गरे । क्यानाडा एयरले अमेरिकाबाट एयर क्यानाडाको बोइङ झिकाएर त्यहाँ रहेको धेरै यात्रुलाई बोइङमा हालेर टोरेन्टो पु¥याइयो । त्यतिबेला परेको अप्ठ्यारो अहिले पनि सम्झदाँ तनाव लाग्छ ।
तपाई ट्रेकिङ व्यवसाय चलाउनु हुन्छ तपाई कत्तिको ट्रेकिङ गर्नु हुन्छ ?
पहिला त धेरै समय ट्रेकिङमा नै विताइयो अहिले कार्यव्यस्तता तथा समायअनुकुल नमिलेर म त्यति धेरै ठाउँमा ट्रेकिङ गर्न जान पाएको छैन । यद्यपि वर्षको एकदुई पटक म हाइकिङ चाहिँ गर्ने गरेको छु ।
तपाई पर्यटन व्यवसायी भएका नाताले अन्य देशमा घुमिरहनु हुन्छ अन्य देश घुमेर नेपाल आउँदा कस्तो अनुभूति गर्नुहुन्छ ?
मैले धेरै देश घुमेको अनुभव र विदेशीले गरेको कामहरुको गतिविधिलाई हेर्दा र, काठमाडौं एयरपोर्टमा आउँदा विदेशीले यति लगनशील भएर काम गर्छ । मैले मेरा कर्मचारीलाई पनि त्यसैगरी लगनशील भएर काम गराउँछु र आफू पनि गर्छु भन्ने सोचका साथ आउने गर्छु । तर, दुर्भाग्यबस मैले मात्र चाहेर नहुने रहेछ । यो सिंगो राष्ट्र, सिंगो व्याक्ति, सिंगो समूहले काम गर्नु पर्ने रहेछ । यसैले सबै नेपालीले काम गर्ने तौर तरिकामा चाहिँ विदेशी सिष्टमलाई र त्यहाँ अपनाएका चिजलाई अनुसरण गर्नुप¥यो । खास गरी नेपाल सरकारलाई अनुरोध गर्न चाहान्छु की नेपालमा पनि विदेशी झै काम गर्न सक्नुप¥यो । अर्को कुरा भनेको विदेशबाट नेपाल जहाजबाट ओर्लिदै गर्दा जुन वायु प्रदुषण देखिन्छ त्यो सारै नै नराम्रो लाग्छ । विदेशमा यहाँबाट लगाएर गएको जुत्ता आउँदासम्म जस्ताको त्यस्तै हुन्छ । तर, यहाँ आज लगाएको लुगा भोली लगाउन सकिदैन । काठमाडौंका प्रदुषण नियन्त्रण नै भएको छैन । प्रदुषण नियन्त्रण हुनुपर्छ । काम गर्ने शैली पनि परिवर्तन हुनुपर्छ ।
पर्यटन व्यवसायमा कत्तिको अस्वस्थ प्रतिस्पर्धा छ ?
पर्यटन व्यवसायमा पनि अस्वस्थ प्रतिस्पर्धा छ । तर, हामीले स्वस्थ प्रतिस्पर्धा गर्दै अघि बढ्नु पर्छ । हामीसँग धेरै व्यवसाय जोडिन्छन् ट्राभल, ट्रेकिङ, एयरलाइन्सलगायत छन् । हामी क्षमताका आधारमा अघि बढ्नुपर्छ । उत्तरदायित्व लिएर अघि बढ्ने हो । हामीले आफ्नो क्षमता प्रदर्शन गर्दै अघि बढ्ने हो । क्षमताका आधारमा काम गरेर खाने हो । यसकारण कसैले गरेर खायो भनेर अस्वस्थ प्रतिस्पर्धा गर्नुहुँदैन ।
व्यक्तिगत रुपमा तपाईले कोरोना कालमा व्यवासयमा कति गुमाउनु भयो ?
कोभिडकालमा धेरै नै क्षति भइसकेको छ । यति नै नोक्सान भयो भनेर तपाईलाई म डाटा दिन सक्दिन । करिब ५ वर्षजति विदेशी पर्यटक आएपनि हामीले ऋण तिर्दा र अहिले भइरहेको खर्च म्यानेज गर्दा सकिन्छ । भोली नाफा भएछ भनेपनि आजको ऋण तिर्ने हो । ५ वर्षसम्म आम्दानीको प्रतिफल लिन नसक्ने गरी घाटामा गइसकेका छौं ।
अबका खास योजना केहीं छन् ?
खासगरी कोभिड साम्य हुनुप¥यो । कोभिड साम्य नहुन्जेलसम्म हामीले महत्वकाक्षां राख्नु ठिक छैन । अहिले नेपालमा कोभिड घटिरहेको र विदेशीले पनि नेपाललाई रेड जोनबाट हटाउँदै गएको अवस्था छ । यो नेपालका लागि सुखद् पक्ष हो । मलाई लाग्छ नेपाल रेड जोनबाट हट्यो भने विदेशी पर्यटक नेपाल आउने छन् । यो सिजनमा हामीले व्यवसाय गर्न नसके पनि मार्च अप्रिल र आगामी सिजनहरुमा विदेशी पर्यटकलाई सेवा दिन सक्नेछौं । तर, २०२४ अघि नेपालमा धेरै पर्यटकले भ्रमण नगर्न सक्छन् । किनकी अहिले ठूला–ठूला एयरलाइन्सहरु बन्द भएको अवस्था छ । २०२४ पछि भने विश्वका पर्यटकको चहलपहल भयो भने अन्तराष्ट्रिय सबै वायुसेवाले आफ्नो उडान भर्ने छन् ।
तपाई टानमा केहीं महिनामात्रै बस्दै हुनुहुन्छ कार्यकाल कस्तो रह्यो ?
म अध्यक्ष भएर आइसकेपछि तुरुन्तै कोभिड देखाप¥यो । पछि त यसले महामारी कै रुप लियो । यसमा मैलै अन्तराष्ट्रि रुपमा गर्नुपर्ने प्रचारप्रसारलगायतका उल्लेखनीय काम गर्न सकिन । आन्तरिक रुपमा पनि हामीले जे जति सोचेका कुरा थिए ती गर्न सक्ने संभव रहेन । यो टानको मात्र समस्या भएन, कोभिडले सम्पूर्ण पर्यटन व्यवसायलाई नै थला पा¥यो । सिंगो राष्ट्र नै अप्ठ्यारो स्थितिमा रह्यो । त्यसका बाबजुद हामीले थेगेका छौं । नेपाल टुरिजम बोर्ड र टानबीचको टिम्स कार्डको समस्या थियोे । त्यो समाधान उन्मुख छ । आन्तरिक अडिट गरेर बुझाएका छौं । विभिन्न संघसंस्थाहरुसँगको टानको सम्बन्धलाई अघि बढाउने काम गरेका छौं । अन्तराष्ट्रिरुपमा डिजिटलमार्फत प्रचार–प्रसार गर्ने काम अघि बढाएका छौं । श्रमिक साथीलाई कोभिडका बेलामा समस्या परेको थियो, त्यस समयमा टानले खाद्यान्नलगायतका सामग्री सहयोग ग¥यो । अहिले युएनडीपी, नेपाल पर्यटन बोर्ड र टानको सहकार्यमा काठमाडौंको वरिपरी र पदमार्गमा खटिने श्रमिकलाई राहतको काम भएको छ । हाम्रो टिमले प्रतिकुल अवस्थाका वावजुद संस्था र आवद्ध साथीहरुको हितमा काम गरेको छ ।