गृहजिल्लामा गृहमन्त्रीको निर्देशन : कसैले अनाहकमा ज्यान नगुमाओस् – Nepal Press

गृहजिल्लामा गृहमन्त्रीको निर्देशन : कसैले अनाहकमा ज्यान नगुमाओस्

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले सरकारको पहिलो प्राथमिकता आमनागरिकको जीवन रक्षा गर्नु रहेको बताएका छन् । असारमा गृहमन्त्री बनेका खाण पहिलो पटक आज गृहजिल्ला आएका हुन् ।
केही दिनअघि उनकै निर्वाचन क्षेत्र रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा भएको झडपमा प्रहरीको गोली लागेर ४ जनाको मृत्यु भएपछि उनको आलोचना भएको थियो ।

गृहमन्त्री खाणलाई नेपाली कांग्रेस रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाणले संविधानको पालना र रक्षा गर्ने दायित्व राज्यको रहेको बताए ।
उनले भने– ‘रुपन्देहीमा आउनुभएका सुरक्षा निकायका अधिकारी तथा प्रमुखलाई मेरो आग्रह र निर्देशन छ, सुरक्षालाई पहिलो प्राथमिकता दिनुहोस् एउटा पनि नेपाली नागरिकले अनाहकमा ज्यान गुमाउन नपरोस् । ’

उनले ठूलो दललाई सरकार चलाउनुस् भनेर दिए पनि विगतको सरकारले आफ्नै पार्टीभित्रको राजनीतिक झगडाका कारण ५ वर्षे कार्यकाल पूरा गर्न नसकेको बताए । उनले भने- ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न मान्नुभएको थिएन, कांग्रेसलाई आरोप छ कि कांग्रेस सरकारमा जान हतार गर्छ, चुनावमा जिते पनि नजिते पनि सरकारमा जान इच्छा गर्छ ।’ यसपटक सभापति देउवाले प्रधानमन्त्री बन्न तयार नभएपछि अहिलेको निकासका लागि अग्रसर बनिदिनुस् भन्ने अन्य पार्टीका नेता र पार्टीभित्रै कांग्रेसको अग्रसरतामा नयाँ गठबन्धन बनेर अगाडि बढेको बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका नेता खाणले पार्टीको १४ औं महाधिवेशन सफल पार्नुपर्ने बताए । उनले महाधिवेशन अन्तर्गत वडा तथा स्थानीय तहको अधिवेशनमा अधिकांश स्थानमा सहमतिमै नेतृत्व चयन भएको बताए । अहिले नेपाली कांग्रेसको काधमा जिम्मेवारी र चुनौती रहेकाले जिम्मेवारी पूरा गर्न अझ उत्तरदायी र गम्भीर बन्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । अहिलेको विषम परिस्थितिमा कांग्रेसप्रति आकर्षण बढ्दै गएको र मुलुकभर क्रियाशील सदस्यको संख्यामा १० लाखको हाराहारीमा पुगेको खाणले बताए ।

मन्त्री खाणले रुपन्देहीको समृद्धिका लागि प्रयत्नशिल रहिरहने बताए । उनले यो जिल्लाको विकास रुपन्देही र रुपन्देहीका नागरिकका लागि मात्र नभई यहाँको विकासले देशको विकासका लागि आधारशिला तयार गर्ने बताए । गृहमन्त्री बालकृष्ण खाणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटो भन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले सार्थक पहल गरिरहेको बताएका छन् ।
विमानस्थलको दोस्रो चरणको निर्माण कार्य छिटो अगाडि बढाएर विमानस्थल शीघ्र सञ्चालनमा ल्याउनका लागि सरकारले प्रयास गरिरहेको बताएका हुन् ।

उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र एकीकृत भन्सार जाँच चौकीको विकासको लागि कार्ययोजना तयार पारेको पनि जानकारी दिए । ‘विमानस्थल सञ्चालन र एकीकृत जाँच चौकीको कार्ययोजना सरकारले तयार पारेको छ, अब कार्ययोजना अनुसार काम अगाडि बढ्छ’ उनले भने । भैरहवा भन्सारमा रहेको पार्किङ समस्याले असहजता भएको र यसको समाधानको लागि अल्पकालीन र दीर्घकालीन परियोजना आवश्यक रहेकोले सोही अनुसार अगाडि बढेको बताए ।

उनले जिल्लाको विकासका लागि सार्थक प्रयत्न गर्न अग्रज नेताहरुप्रति आभार प्रकट गरे । बेलहिया नाकालाई व्यवस्थित बनाउनका लागि अर्थमन्त्री, योजना आयोगका उपाध्यक्ष, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीहरुलाई आफूले आग्रह र छलफल गरेको मन्त्री खाणले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर