झुलेका धानबाली डुबानमा, किसान चिन्तित (तस्बिरहरू) – Nepal Press

झुलेका धानबाली डुबानमा, किसान चिन्तित (तस्बिरहरू)

कैलाली । केही दिनदेखिको निरन्तर बर्षाका कारण भित्र्याउने बेला भएको धानबाली डुबानमा परेपछि किसान चिन्तामा परेका छन् ।

सुदूरपश्चिम र कर्णाली प्रदेशलगायतका स्थानमा एक्कासी भारी बर्षा हुँदा झुलेका धानबाली डुबानमा परेको हो । वर्षभरको मेहनत खेर जानेपछि यस भेगका किसान मर्कामा परेका हुन् ।

दसैं मनाएर बाली भित्र्याउने तयारी गरिरहेका किसानलाई बाढी तथा डुबानले दुखी बनाएको छ । बाली भित्र्याउन नपाएको मात्रै होइन, निरन्तरको बर्षाले तराई क्षेत्रका नागरिकमा घरबास नै डुबानउने चिन्ता बढेको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका– ६ हात्तिबोझाका आश्रय बडायक अहिले निकै चिन्तामा छन् । तीन बिघा जग्गामा लगाएको धानबाली घर भित्र्याउन नपाउँदै बर्षाले नोक्सान गरेपछि उनी समस्यामा परेका हुन् ।

एक बिघाको धान काटेर उनले खेतमै राखेका थिए । एक बिघाको धान काटेर बाधेर थुप्रो पारेका थिए । अर्को एक बिघाको धान काट्नै बाँकी छ ।

काटेर राखेको धान काम नलाग्ने भएको भन्दै उनले काट्न बाँकी रहेको धानसमेत भित्राउन नपाउने चिन्ता व्यक्त गरे ।
‘खेतमा डेढ फिट पानी जमेको छ । हामी समस्यामा पर्यौँ ’उनले भने ‘दुई बिघा जग्गामा लगाएको धान सखाप भयो । अब एक बिघाको धान पनि नरहला भन्ने चिन्ता छ ।’

बडायकको जस्तै चिन्ता र पीडा कैलाली गौरीगीगंगा नगरपालिका ९ का भानबहादुर ठगुन्नालाई पनि छ । उनले साढे दुई बिघा क्षेत्रफलमा लगाएको सबै धान केही दिनअघि मात्रै काटेका थिए । अहिले पनि सबै धानमा पानी माथि उत्रिएको छ । नबाँधेको कति धान त बगेको उनी बताउँछन् ।

‘मेरो खेतबाट त सानो खोला नै बगेको जस्तो भएको छ’ उनी भन्छन् , ‘हामी निकै समस्यामा प¥यौँ । यस वर्ष त कत्ति पनि धान भित्राउन पाइएला जस्तो छैन ।’

सरकारले किसानको समस्या हेरेर राहत उपलब्ध गराउनु पर्ने उनको भनाइ छ ।

‘कृषि प्रधान देश भनिएको छ । हामी प्रकोपबाट ग्रसित भयौ’ उनी भन्छन्, ‘हाम्रो क्षति हेरेर सरकारले राहत उपलब्ध गराउनु पर्छ । हामीसँग अर्को विकल्प छैन अब ।’

आइतबारदेखिको अविरल वर्षाले बडायक र ठगुन्ना जस्ता सुदूरपश्चिमका हजारौँ किसानको धानबालीमा क्षति गरेको छ । केही किसानले मात्रै धान घर भित्र्याए पनि अधिकांश किसानको धान खेतमै रहेका बेला परेको झरीले ठूलो क्षति गरेको हो ।

धान काटेर खेतमा राखेका किसानहरूले धान भित्राउन पाउने आश मारिसकेका छन् ।

‘खेतमा पानी भरिएको छ । मोहनाको र कन्द्राको पानी पाकेको बालीमा पसेको छ’ भजनी नगरपालिका ५ लालभोजी कोजराम चौधरीले भने ‘खेतमा पानी सुक्दासम्म धान नै नरहने हो कि भन्ने चिन्ता लागिरहेको छ । ’

सुदूरपश्चिम प्रदेशमा कूल एक लाख ८१ हजार ३९६ हेक्टर जग्गामा बर्खे धानखेती हुने गरेको कृषि विकास निर्देशनालयको तथ्यांक छ । सुदूरपश्चिम प्रदेशमा बर्खे धानको वार्षिक उत्पादन पाँच लाख ८६ हजार ३५३ मेट्रिक टन भएको कृषि विकास निर्देशनालय दिपायलका निर्देशक यज्ञराज जोशीले बताए ।

उनले खेतमा काटेर नबाँधी राखेको धान पूर्णरूपमा क्षतिग्रस्त भएको बताए ।

यसवर्ष समयमै मनसुन भएको हुँदा धान उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको बताउँदै उनले निरन्तरको झरीले उत्पादनमा ह्रास आउने बताए ।

प्रदेश सरकारले क्षतिको विवरण हेरेर राहत उपलब्ध गराउने जनाएको छ ।

‘क्षतिको मूल्यांकन गरेर कानुनबमोजिम राहत दिइन्छ’ प्रदेश सरकारका प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले भनिन्, ‘स्थानीय प्रशासनमा त्यसको अभीलेखीकरण हुनुपर्छ । ’

महाकाली नदीमा पानीको सतह खतरायुक्त तहमा पुगेको छ भने कर्णाली नदीमा पनि जोखिम बढेको छ ।

 
      

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *