विदेश हिँडेका पाइला मोडेर कागतीखेती, मासिक ५० हजार आम्दानी
चितवन । भरतपुर महानगर–८ गौरीजञ्ज ज्योतिटोलका ज्ञानहरि कँडेल एक सय बोट कागतीका धनी हुन् । उनको करेसाबारीमा कागतीका झुप्पैझुप्पा छन् । कागतीका बोटहरु चार लाइनमा हुर्केका छन् ।
सात कठ्ठा जग्गमा छ वर्ष पहिले हुर्काएका बोटहरुमा लटरम्म कागती फलेका छन् । ‘महिनामा चार क्विन्टल कागती बेच्छु, बजारको समस्या छैन’, उनी भन्छन्, ‘करेसाबारीमै सुन फलेजस्तो लाग्छ, खुशी छु ।’
आजकल दैनिक २०–२५ केजी कागती टिप्छन् । गुलियोपनसहितको अमिलो हुने सुन कागती (एनसीआरपी५५ वान)को तौल सरदर ५० ग्राम र रस ५० प्रतिशत हुन्छ ।
फल पाकिसकेपछि हल्का पहेँलो हुन्छ । पाकेका कागती टिप्दा उनी सुन टिपेको महसुस गर्छन् । उनी मासिक सरदर ५० हजार कागती बेचेर कमाउन सफल छन् ।
ग्राहक तथा व्यापारी घरमै आइपुग्छन् । खपत नभएका बेला कहिलेकाहिँ तरकारी तथा फलफूल मण्डीमा पु¥याउन जान्छन् । ‘अन्य फलजस्तो केही दिनमै सड्ने, बिग्रने, चराहरुले बारीमै सखाप पार्ने समस्या हुँदैन’, उनी भन्छन्, ‘खेती सजिलो छ, हेरचाह पुगे विदेशमा कमाइ हुने पैसा कागतीले नै दिन्छ ।”
ज्ञानहरि गीत, कविता लेख्न रुचाउँछन् । सामाजिक काममा पनि सक्रिय छन् । वीरेन्द्र क्याम्पसमा एमए पढ्दापढ्दै छाडेका थिए उनले । द्वन्द्वकालका बेला नारायणगढमा हार्डवेयर पसल चलाउँदा नाफा नभएपछि उनी तरकारी खेतीमा होमिएका थिए ।
करिब १ विघा जग्गमा उनले तरकारी लगाए । एकैदिन १५ क्विन्टल आलु पनि बेचे । तर, उनी सन्तुष्ट बनेनन् । गाउँघरका साथीहरु विदेशीएको झलझली सम्झँदै माटोमा कुटो–कोदालो गर्न हच्किए ।
राहदानी (पासपोर्ट) बनाउन जिल्ला प्रशासन कार्यालय जाने तयारीको अघिल्लो दिन ज्ञानहरिका लागि नबिर्सने दिन बन्यो । ‘जे गरेपनि कमाइ नहुने, पहिले हार्डवेयर गर्थेँ, मलाई पनि विदेशको इच्छा बढ्यो’, उनी सम्झन्छन्, ‘टिभिको कृषि कार्यक्रममा वार्षिक अरबौँको कागती आयात हुने, कागती खेतीको भविष्य छ भन्ने सुनेपछि विदेश जाने सपना मोडियो ।’
कागतीबाट मनग्ये आम्दानी हुने बुझेपछि उनी स्वदेशकै माटोमा रमाउन थाले । धनकुटा, पर्वत र लमजुङबाट कागतीको बेर्ना ल्याए । ‘तराई बेल्टमा कागती त्यति राम्रो हुँदैन भन्छन्, तर मैले हरेश मानिनँ’, उनले सुनाए ।
करिब ३० वर्ष उत्पादन लिन सकिने बुझेपछि हिम्मत बढाएँ । कुटो कोदोलो लिएरै दिनचर्या सुरु गरे । फार्मको नामनै ‘कुटो कोदालो कृषि बारी’ राखे ।
कागतीको बोटमा वर्षमा चार पटकसम्म फूल लाग्छ । असारदेखि असोज उत्पादन लिने सिजन मानिन्छ । तर वर्षभरीनै धेरैथोरै कागती फाल्छ । ज्ञानहरिको कागती खेतीमा अनुसन्धान पनि चलिरहेको छ ।
क्षेत्रीय राष्ट्रिय अनुसन्धान निर्देशनालय लुम्ले कास्की र राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रम धनकुटाबाट अनुसन्धानकर्ताहरु महिनामा दुईपटक आउँछन् । एकीकृत बगैँचा व्यवस्थापनसम्बन्धी अनुसन्धानमा कागतीखेती गर्न आवश्यक खाद्यतत्व, रोग, किरा नियन्त्रणको पक्षलाई अध्ययन भइरहेको छ ।
४० बोटमा अनुसन्धान चलिरहेको उनले बताए । उनी एक्लैले काजु, ओखर, नरिवल, जापानी कटुस, सुन्तला लगायतका विरुवा परीक्षणका लागि हुर्काएका छन् । ‘केही फरक फलका विरुवा परीक्षणका लागि हुर्काउँदै छु’, उनी भन्छन्, ‘सफल भए बगैँचा विस्तार गर्ने सोच छ ।’
सबै साथी विदेशिँदा एक्लिएका ज्ञानहरि आजकल किसानका साथी बनेका छन् । कागतीखेतीबारे बुझ्न आउने किसान, व्यापारी वा ग्राहक उनका नजिकका साथी हुन् ।
कागतीखेतीबारे ज्ञानहरिको टिप्स
असारदेखि भदौसम्म कागती लगाउन सकिन्छ । कागती बेर्ना रोप्न कम्तिमा ३ महिना पहिल्यै तयार हुनुपर्छ । २ मिटर गहिरो गाल्डो खनेर करिब १ महिनासम्म झारपात हटाउने गर्दै माटो उपचार गर्नुपर्छ ।
त्यसपछि करिब १ डोको पोकेको गोबर मललाई कालो माटोमा घोलेर प्याकिङ गरेर सतहभन्दा केही अग्लो थुम्को बनाएर छोडिदिनुपर्छ । जमिन सतह बराबर बनेपछि बल्ल बेर्ना लगाउन उपयुक्त हुन्छ ।
बर्सेनि कम्तिमा एकपटक बोटको फेद वरिपरी खनेर करिब २ डोका गोबर मल राख्नुपर्छ । हुर्केको करिब ३ वर्षदेखि उत्पादन लिन सकिन्छ । यसका लागि पानी नजम्ने, प्राङगारिक पदार्थ बढी भएको दोमट माटो राम्रो हुन्छ ।
एक बेर्नादेखि अर्को बेर्नासम्मको दूरी ३–४ मिटर हुनुपर्छ । यसो गरिएमा बगैँचा सरसफाई, हेरचाह गर्न सजिलो हुन्छ । चुना र निलोतुथो वर्षमा कम्तिमा दुईपटक छर्किए रोग, किराबाट जोगाउन सकिन्छ । हाँगा ओइलाउने, चोप निस्कने, पातमा किरा लाग्ने समस्याबाट बचाउन जैविक विषादी प्रयोग गर्नुपर्छ ।
कागतीका फाइदा
कागती बहुगुण भएको सुन्तला प्रजातिको फल हो । यसमा भिटामिन सी प्रशस्तै पाइन्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन सघाउने भएकाले कोभिड–१९ को पहिलो र दोस्रो चरणका बेला कागतीको खपत निकै बढेको थियो ।
मोटोपन घटाउन, मुटु, रक्तचाप, पत्थरी नियन्त्रण गर्न, छालाको सौन्दर्य बढाउन कागती उपयोगी मानिन्छ । हरेक दिन कागतीपानी पिउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ ।