कोरोनाले दसैं विशेष सराय नाच प्रभावित, संस्कृति मासिने चिन्ता
रुपन्देही । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा विशेष महत्वका साथ विजया दशमीको दिनदेखि पूर्णिमासम्म शक्तिपीठमा हतियार जुधाएर नाचिने सराय नाच यो वर्ष पनि औपचारिकतामा सीमित भएको छ ।
शक्तिपीठमा लाग्ने ठूला जात्राबाट कोरोना संक्रमण बढ्ने भन्दै स्थानीय प्रशासनले रोकेका कारण सराय नाच प्रभावित भएको हो । तर स्थानीयले सबै क्षेत्र खुला गरेको अवस्थामा पनि शक्तिपीठहरुमा गरिने भेला, जात्रा रोकेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
इतिहासका जानकारहरुका अनुसार देवताले राक्षसमाथि विजयी हासिल गरेपछि टीका लगाउने र त्यसको खुशीयालीमा सराय नाच नाचिने गरिन्छ । विशेषगरी दुर्गा र कालिका मन्दिरमा खुँडा, भाला, तरबार, ढाललगायत घरेलु हतियारको प्रयोग गरी युद्धको झल्को दिने गरी नाचिने सराय नाचमा हतियार एकआपसमा जुधाइन्छ ।
राक्षससँगको लडाइँमा सत्यको विजयपछि सत्यका पुजारीले विजयोत्सव स्वरूप कोत र मन्दिरहरूमा हतियार प्रदर्शनसहित सराय नाच्न थालिएको इतिहासका जानकारहरू बताउँछन् । यसरी नाच्दा देवी भगवती प्रशन्न हुने धार्मिक जनविश्वास छ ।
अर्घाखाँची, गुल्मी, प्युठानमा यो नाचका लागि प्रख्यात मानिन्छ । अर्घाखाँचीको अर्घा, भण्डारथुम, गुल्मीको इम्मा, चोयगालगायतका कोटहरूमा दसैँदेखि कोजाग्रत पूर्णिमासम्म यो नाच चलिरहन्छ ।
गुल्मी र अर्घाखाँचीका कोट नाम गरेका ठाउँहरू अर्घाको कोट, धुर्कोट, पुर्कोट, चन्द्रकोट, मानकोट, असुरकोट, छत्रकोटलगायतका स्थानको नाम सरायसँग जोडिएर आउँछ । बाइसेचौबिसे राज्य हुँदाताका भुरेटाकुरे राजाहरूले आफ्नो कोटमा सराय नाच नचाउने गरेपछि नै यसको शुरूआत भएको यसका जानकारहरु बताउँछन् ।
संस्कृतविद् राजेन्द्रकुमार आचार्यका अनुसार लुम्बिनी प्रदेशमा अर्घाखाँचीको अर्घाबाट यसको शुरुवात भएको मानिन्छ । अर्घाको सराय, अर्घाको पून्यू, मेला नै अहिलेसम्म सरायको शुरुवात भएको पाइएको छ यसलाई पूर्णिमा मेला पनि भनिन्छ ।
उनको अध्ययन अनुसार यसको सुरुवातीका विषयमा दुई फरक मत रहेका छन् । एकथरी मत अनुसार अज्ञात समय(परापूर्व काल)देखि अर्घामा सराय खेल्ने गरिएको भन्ने छ ।
यहाँबाट खाँचीकोट, प्युठान बिजुलीकोट, गुल्मी धुर्कोट, इस्मा, चोयगा तथा पाल्पामा लगेर खेल्न थालिएको भन्ने छ । अर्को चाँही गुरुङ्ग राजाले अर्घ दिने गरेको,१४ औं शताब्दीबाट मुस्लिम आक्रमणबाट हारेर नेपाल पसेका, करिब १५ औं शताब्दीबाट २२ से २४ से राज्य जम्मा भए, गुरुङ्ग (जाडेया राज्य चलाएका), मगर राज्य चलाएकालाई ठकुरी राज्य चलाएकाले जितेको र अर्घामा पनि जिल्ला राई भन्ने ठकुरीले आधुनिक राज्य बसाले र उनैले अर्घामा सराय शुरु गरेको आचार्य बताउँछन् । उनका तीन भाइले खाँची र धुर्कोटमा सराय लगेको इतिहास भेटिएको आचार्य बताउँछन् ।
इतिहासका जानकारहरुका अनुसार विसं १३८१ म भारतको दिल्लीबाट जिल्ला राई नाम गरेका राजा अहिलेको अर्घाखाँचीस्थित अर्घा आएर बसे । समथमा गीत गाउने गन्दर्भ, पूजा गर्ने पुरोहित, लुगा सिलाउने परियार तथा हतियारसहित फौज लिएर आए । त्यातिबेला अर्घामै गुरुंगराजा थिए । उनीसँग लडाई जितेर १७ मौजा कब्जा गरे । बडादसैंको पूर्णिमाका दिन सराय निकाले । त्यसपछि पूर्णिका दिन अर्घाबाट सराय निकाल्न शुरु भयो । क्रमशः जिल्लाका अन्य दुर्गा स्थापना गरी मन्दिर बनाएर दसैंदेखि पूर्णिमासम्म सराय नाच निकाल्ने परम्परा शुरु भएको हो । बिस्तारै गुल्मी, प्युठान, पाल्पा हुँदै छिमेकी जिल्लाहरुमा शुरुवात भएको पाइन्छ ।
मन्दिरबाट भगवान् बाहिर निस्कन सक्ने किंवदन्तीका आधारमा हरेक रात स्थानीय आलोपालो मन्दिरको ढोकानजिकै जाग्राम बसेर भगवानको रक्षा गर्ने संस्कार अझै पनि कतिपय स्थानमा कायम छ । खासगरी बहुमूल्य मूर्तिहरू, हातहतियारको सुरक्षाका लागि पनि सुरक्षाको संस्कार शुरू भएको भनाइ छ ।
संस्कृतिविद् आचार्यले नयाँ पुस्ताले सरायको अनुशरण गर्न नसक्दा ऐतिहासिक सराय नाच संकटमा परेको पाकापुस्तााके चिन्ता छ । पहिले पुरुषहरु मात्र खेल्ने सराय नाच अहिले महिलाहरु पनि सक्रियताका साथ सहभागिता हुने गर्दछन् ।
पहिले पहाडी जिल्लाहरुमा बढी खेलिने यो नाच बसाईसराईसँगै पहाडबाट तराईका विभिन्न जिल्लामा बस्नेहरुले तराईका विभिन्न क्षेत्रमा यसको शुरुवात गरेका छन् ।
अहिले प्रत्येक वर्ष अंग्रेज फौजलाई पराजित गरेको रूपन्देहीको बुटवलस्थित जीतगढी किल्लामा पनि यो नाच नाचिन्छ । पछिल्ला वर्ष धेरै जिल्लामा नाचिए पनि सराय नाचको शुरूआत तराईमा सराय नाचको शुरुवात भएको लेखक ऋषि आजाद बताउँछन् । उनले आफ्नै सक्रियतामा बुटवलको जीतगढीमा केही वर्षयता यसकको शुरुवात गरेको र निकै धेरैले यसमा साथ दिएको बताए ।
‘अर्घाखाँची, गुल्मीबाट बसाइसराइ गरी रुपन्देही, कपिलवस्तु र दाङको तल्लो बेल्टतिर झरेकाहरूले पनि सराय नाच्छन्’ आजाद भन्छन्, ‘तराई झरेकाहरूले पनि संस्कृतिको जगेर्ना गर्न सराय नाच नाच्न थालेका छन् । तर नयाँ पिंढीमा यसको जानकारी दिन नसक्दा अहिले आएर यो नाच संकटमा परेकोले आफै अगुवाई गरेर रुपन्देहीको जितगढीमा हुरु गरेको हो ।’
यसरी नित्य पूजा भएपछि सराय हुने दिन विधिअनुसार पूजापाठपछि ठाउँ र परिस्थितिअनुसार बलि (अधिकांश स्थानमा राँगो) दिई सराय नाच शुरू हुन्छ । पहिला कोट वा मन्दिर वरिपरि परिक्रमा गरी पछि खुला ठाउँमा पुगेर दिनभर खुँडा वा लाठी नचाउँदै र जुधाउँदै बाजाका तालमा ‘वाख्खै’ ‘ह’ भन्दै सराय नाच्ने चलन छ ।
पहिलेका राजाहरूले युद्ध मन पराउने भएकाले त्यसको अभिनय गरी दशैं बिदाइका बेला राजालाई देखाउने गरी नाच शुरू भएको हो । त्यसैले यसमा पनि पहिले लडाइँ वा युद्धमा प्रयोग हुने घरेलु हतियारको प्रयोग गरिन्छ । सराय हेर्दा रमाइलो र हतियार नचाउँदा डरलाग्दो हुने आजाद बताउँछन् ।
तराई क्षेत्रमा भने नौलो मानिन्छ । शुरूका वर्षहरूमा पुरुषहरू मात्रै सरायमा सहभागी हुने भए पनि अहिले महिला समेत नाच्ने गरेका छन् । पञ्चेबाजाको तालमा नाचिने सराय नाचमा ‘वाख्यै वाख्यै हो’ उच्चारण गरिने गरिएको छ ।
सप्तमीको दिन फूलपाति भित्र्याएपछि मन्दिर वा कोटमा आलम (भगवानको प्रतिमा) निकाल्ने गरिन्छ । विभिन्न रङ्गीचङ्गी सहितका ध्वजापताकाले सिँगारिएको आलमलाई भगवानको प्रतीकको रूपमा मन्दिर बाहिर सजाएर राखेपछि दैनिक पूजापाठ गर्ने गरिन्छ ।
दाङका लेखक केबी मसालले प्युठानका केही ठाउँमा तिहारसम्म सराय नाच नाच्ने गरिएको बताए । प्युठानको विजुवार लगायतका क्षेत्रमा खेलिने डल्ले सराय तिहारसम्म खेलिन्छ । सराय हेर्नकै लागि बसाइँ सरेकाहरू समेत केही दिनको लागि आफ्नो पहाड घर फर्कन्छन् ।
सराय नाच्ने शक्तिपीठमा हेर्ने र नाच्नेले आनन्द मात्र लिँदैनन्, धेरैले व्यापार गर्ने अवसर समेत पाउँछन् । सराय नाच्ने शक्तिपीठमा विशेषगरी जेरीको व्यापार धेरै हुने गर्दछ । चना–चटपटे, अम्बा, किराना, बालबालिकाका खेलौना लगायतका सामग्रीको राम्रो व्यापार हुन्छ ।
संस्कृतिविद् झपेन्द्र जिसीले दसैंमा पाइने यस्ता खानेकुरा र शक्तिपीठको महत्व अरुलाई पनि बुझाउन सके पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने बताउँछन् ।
‘धारिलो खुँडा नचाउन कौशलता चाहिन्छ, यो कौशलताका लागि शक्ति र आँट समेत आवश्यक छ,’ उनले भने, ‘गुल्मी, अर्घाखाँची, पाल्पाबाट शुरू भएको सराय नाच पछिल्लो समय कपिलवस्तु, दाङ जिल्लामा शुरुवात गरिएको छ ।
कहाँ कहाँ हुन्छ सराय नाच ?
अहिले अर्घाखाँचीको अधिकांश कोटहरुमा ठाउँमा दसैंदेखि पूर्णिमासम्म सराय खेलिन्छ । अर्घाखाँचीमा अर्घासँगै भण्डारथुम, मालारानी, बामरुक, राँगामारे, छत्रकोट, चौडिला, उलुकछत्र, खाँचीकोट, ठाडा, असुरकोटलगायतका कोटहरुमा र गुल्मीको चोयगा, धुर्कोट, जुभुंग, चन्द्रकोट, जुनियाकोट, पौदी अमराईकोट, अर्जे अमरपुरलगायतका क्षेत्र यो नाच नाचिन्छ ।
प्युठानको बिजुलीकोट, ओखरकोट, भित्रीकोटलगायतका क्षेत्रमा र विजुवारमा डल्ले सराय तिहारसम्म खेलिन्छ ।
पाल्पामा मुझुङ्गकोट, ख्याहा, गोखुंगा रैनादेवी, क्ुस्ुमखोला, बल्डेङ्गगढी क्षेत्र, रम्भादेवी, माथागढी, बाग्लुङ्ग र पर्वत, स्याङ्गजामा पनि सराय नाच नाचिन्थ्यो ।
कोरोना त्रासले प्रभावित
कोरोना संक्रमणको त्रासले गतवर्ष र यो वर्ष सराय नाच प्रभावित भएको छ । ठूलो सहभागिता हुने भएकाले स्थानीय प्रशासनले सामान्य विधि पुराएर मात्र शक्तिपिठहरुमा सराय नाच प्रदर्शन गर्न भनेकाले ती जिल्लाहरुमा बिगतका जस्ता प्रदर्शन भएनन् ।
व्यवस्थापन समितिले सामान्य विधि पुराएर शक्तिपिठमा सरायका प्रक्रिया पूरा गरेका छन्, जात्रा चाँही भएन, अर्घाखाँचीका पत्रकार वीरेन्द्र केसीले भने ।