वर्षाले लुम्बिनीका ३६ हजार हेक्टर धानबालीमा क्षति – Nepal Press

वर्षाले लुम्बिनीका ३६ हजार हेक्टर धानबालीमा क्षति

रुपन्देही । आइतबारदेखिको अविरल वर्षाले लुम्बिनी प्रदेशका १२ जिल्लाका किसानले ३६ हजार ४ सय ८० हेक्टर खेतमा काटेर भित्र्याउन तयार पारेको धानबालीमा क्षति पुगेको छ ।

प्रदेशको कृषि निर्देशनालयले १२ जिल्लाका कृषि ज्ञान केन्द्रबाट संकलन गरेको तथ्यांक अनुसार प्रदेशमा कुल ३ लाख १७ हजार ४ सय १४ हेक्टरमा धान खेती भएको छ ।

वर्षा शुरु हुनु अगाडि नै ५५ हजार ५४ हेक्टरबाट किसानले धान भित्राइसकेको र ९३ हजार ५ सय ७६ हेक्टरमा तयारी भएको ढलेको अवस्थामा रहेको निर्देशनालयका प्रमुख यामनारायण देवकोटाले जानकारी दिए ।

अहिलेसम्म जम्माजम्मी ५७ प्रतिशतको मात्र यो विवरण र बाँकी ४३ प्रतिशतमा धानबाली नबिग्रिएको विवरण सबै जिल्लाबाट निर्देशनालयमा मंगलबार साँझसम्म आएको देवकोटाले बताए ।

काट्न बाँकी रहेको धानमा क्षति नभएको र हावाले पल्टिएको धान वर्षा कम भएपछि उठाउन मिल्ने भए पनि काटेर खेतमै क्षति भएको किसानलाई आवश्यक क्षतिपूर्तिका लागि प्रदेश तथा संघीय सरकारका विभागीय मन्त्रालयसँग छलफल शुरु भइसकेको उनले जानकारी दिएका छन् ।

के कसरी क्षतिपूर्ति दिन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ, केही दिनमा हामीले स्थानीय सरकारको समेत समन्वयमा क्षतिको विवरण हेरेर केही उपाय निकाल्छौं– उनले भने ।

पश्चिम तराईका अधिकांश खेतहरुमा असोजको अन्तिम साता धान पाकिसकेको थियो भने कतिपय ठाउँमा अझै धान पाक्दै छ ।

दसैं अगाडि र लगत्तै यहाँका साना तथा ठूला किसानले धान काट्न शुरु गरेका थिए । मौसम बिभागले केही दिनमा खराव मौसमको संकेत गरे पनि धेरै किसानले त्यो संकेतको मेसो नपाएका कारण क्षति बढी भएको कृषि विज्ञले बताएका छन् ।

समयमै पानी परेको र मल पनि समयमै पाएकाले अन्य वर्षको तुलनामा यो वर्ष धान खेती बढी हुने अनुमान गरिएको थियो । लुम्बिनीमा प्रतिहेक्टर ३ दशमलब ५ मेट्रिक टन धान उत्पादन हुने आंकलन कृषि निर्देशनालयले गरेको प्रमुख देवकोटाले बताए ।

यो हिसाबले लुम्बिनीमा ३६ हजार ४ सय ८० हेक्टर खेतबाट १ लाख २७ हजार ६ सय ८० मेट्रिक टन धान वर्षाले क्षति गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *