पालिका र वडा अधिवेशन हतारमा नगरौं, पार्टीमा समूहगत स्वार्थ हावी भयो : अष्टलक्ष्मी शाक्य (भिडिओ)
काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको वडा अधिवेशन र पालिका अधिवेशन यही कार्तिक ६ गते देशभर एकैपटक गर्ने पार्टीको निर्देशनप्रति असन्तुष्टि जनाएकी छन् ।
बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेकी उपाध्यक्ष शाक्यले पार्टीको वडा अधिवेशन हतारमा गरिहालौं भन्ने पक्षमा आफू नरहेको अडान समेत राखिन् । बुधबार काठमाडौंमा आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा बोल्दै उनले वडा अधिवेशन हतारमा गरिहालौं र जोसुकै नेतृत्वमा आएपनि हुन्छ भन्ने पक्षमा आफू नरहेको बताइन् ।
नेकपा एमालेले पार्टीको वडा तथा पालिका अधिवेशन देशभर एकैदिन गर्ने गरी निर्देशन जारी गरिसकेको बेला उपाध्यक्ष शाक्यले हतारमा गर्ने पक्षमा आफू नरहेको प्रतिक्रिया दिएकी हुन् । उनले आफूले पार्टी भित्र समूहगत स्वार्थ छिराउन नचाहेको पनि पटकपटक दोहो¥याइन् ।
उपाध्यक्ष शाक्यले भनिन्, ‘अव ६ गतेदेखि वडा तहमा एकैचोटी अधिवेशन, पालिकाहरुको अधिवेशन भन्ने कुराहरु निर्देशनमा आईसकेको छ । सम्पूर्ण कमरेडहरु त्यसका लागि तयार हुनै पर्दछ । त्यतिमात्र होइन् वडा कमिटीको अधिवेशन, पालिकाको अधिवेशन भनेको केन्दीय कमिटीको महाधिवेशनभन्दा पनि महत्वपूर्ण छ भन्ने मैले ठानेको छु । किन भन्दाखेरी यो हाम्रो आधार हो, हाम्रो धरातल हो । वडा अधिवेशन भनेको हाम्रो टेक्ने धरातल हो । हाम्रो पाईला कस्तो ठाउँमा राख्ने ? कहाँ राख्दाखेरी बलियो हुन्छ ? भन्ने कुराहरु सोच्ने बेला आएको छ । त्यसैले पालिका र वडा अधिवेशन यो सामान्य हो, केही पनि होईन र हतार हतारमा गरिहालौं, जोसुकै नेतृत्वमा आएपनि हुन्छ भन्ने पक्षमा म चाँही छैन । किन भन्दाखेरी यो हाम्रो टेक्ने धरातल भएको हुनाले यहाँ भित्र समूहगत स्वार्थ छिर्न दिनु हुँदैन । मैले समूहगत स्वार्थ भनिराखेको छु । पार्टी भित्र यो पनि हावी भएको छ । समूहगत स्वार्थ छिर्न दिनु हुँदैन । व्यक्तिगत स्वार्थ छिराउनु हुँदैन । आफ्नो पारिवारिक स्वार्थदेखि अनेकौं स्वार्थहरु हावी भइराखेको छ । यसो हुने हो भने पार्टीको वडा तह बलियो हुन सक्दैन । सुदृढ हुन सक्दैन ।’
उपाध्यक्ष शाक्यले पार्टीलाई गुटमुक्त बनाउनु पर्ने आवश्यक्ता औंल्याइन् । समाजवादको लक्ष्य प्राप्त गर्न र सिंगो नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न पनि एमाले गुटमुक्त हुनुपर्ने उनको तर्क थियो । उपाध्यक्ष शाक्यले बागमती प्रदेशलाई नमूना प्रदेशको रुपमा विकास गर्नुपर्नेमा पनि जोड दिइन् ।