बाढीपहिरो पीडितलाई अस्थायी आवासको लागि प्रतिपरिवार ५० हजार दिने – Nepal Press

बाढीपहिरो पीडितलाई अस्थायी आवासको लागि प्रतिपरिवार ५० हजार दिने

काठमाडौं । सरकारले गत तीन दिन यता अविरल वर्षाका कारण वासस्थान भत्किएर बिचल्ली भएकाहरुलाई प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । बुधवार सिंहदरबारमा बसेको विपद् व्यवस्थापन परिषद्को बैठकमा वासस्थन भत्किएर बिचल्ली भएकाहरुलाई प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।

बैठकपछि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा.अनिल पोखरेलले बुधवार मध्यन्हसम्म ५२ जनाको बाढी तथा पहिरोमा परेर निधन भएको बताउँदै तत्काल राहतका लागि सरकार लागि पर्ने बताए ।

उनले बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गएको तीन दिनमा नेपालले भोग्नुपरेको घटना दुखद् भएको बताउँदै सबै सरोकारवाला निकायहरुलाई तत्काल राहत र उद्धारमा खटिन निर्देशन दिएकाे बताए ।

प्रधानमन्त्री देउवाले बाढी, पहिरोले क्षति पुर्याएको स्थानमा आफैँ जाने बताएको कार्यकारी प्रमुख पोखरेलले बताए । बैठकमा तत्काल घटना भएका स्थानमा विभिन्न टीमहरु बनाएरु तत्काल वास र गासको व्यवस्था मिलाउने र क्षतिको विवरण निकाले लगत्तै राहत र उद्धार तथा पुनर्निर्माणका लागि खटिने बताए । उनले बाढी पहिरोमा जनधनको ठूलो क्षति भएको बताउँदै किसानहरुलाई तत्काल राहतको व्यवस्था गरिने बताए ।

कार्यकारी प्रमुख पोखरेलले भने,‘जसको वासस्थान छैन, उनीहरुलाई तत्काल वासहरुको व्यवस्था गर्ने, घरहरु पुनर्निर्माण गर्ने र मुख्य गरी धान क्षति भएको छ, तत्काल प्रारम्भिक क्षति तथा नोक्शानीको आँकलन गरेर २०७४ सालमा देशव्यापी रुपमा जुन मात्रामा हामीले ठूलो रासीको धन राहत उपलब्ध गराएका थियौँ, मुख्य गरी किसानहरुलाई कसरी राहत प्रदान गर्ने, त्यो आँकडा ल्याउने बित्तिकै हामी कार्यकारी समितिको बैठक बसेर राहत उद्धार प्रदान गर्ने, सँगै अन्य सञ्चार, सडक सञ्जाल, खानेपानी, विद्यालय, स्वास्थ्य चौकीहरु अवरुद्ध भएकालाई तत्काल सुचारु रपमा सञ्चालन गर्ने कुरामा प्रधानमन्त्री ज्यूले निर्देशन दिनुभयो । हामी भोलिबाटै फिल्डमा उत्रिनेछौँ,अन्य क्षेत्रको बजेट तत्काललाई रोकेर भएपनि अहिलेको संकट टार्ने र कमीकमजोरी हुन नदिने प्रधानमन्त्रीले बताउनुभएको छ, यस्तो काम गर्नलाई छुट्टै कोषको व्यवस्था पनि गर्नुपर्नेछ, क्षति भएका र असुरक्षित घरहरुमा बसेकाहरुलाई तत्काल ५० हजार रुपैयाँ दिने निर्णय गरेका छौँ ।’

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *