हेलिकप्टरबाटै पहिरोप्रभावित क्षेत्र हेरेर फर्किए प्रधानमन्त्री
बझाङ । बाढी र पहिरोबाट भएको क्षति अवस्था बुझ्न सुदूरपश्चिम भ्रमणमा आएका प्रधानमन्त्री शेरबहादुर देउवा प्रभावित क्षेत्रमा नपुगी फर्केका छन् । बिहीबार डोटी हुँदै बझाङ पुगेका प्रधानमन्त्री देउवाले बझाङको थलारा गाउँपालिका-४ स्थित पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यतालिका थियो ।
तर, पहिरो प्रभावित क्षेत्रको हेलिकप्टरबाटै अवलोकन गरेर उनी बैतडीतर्फ लागेका छन् ।
बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीका अनुसार प्राविधिक कारणले पहिरो गएको क्षेत्रमा हेलिकप्टर अवतरण हुन नसकेको हो ।
‘थलाराको पहिरो प्रभावित क्षेत्रमा हेलिकप्टर ३-४ पटक अवतरण गर्ने प्रयास गरियो,’सीडीओ अधिकारीले भने, ‘तर असफल भएपछि उहाँ बैतडीतर्फ जानु भएको छ ।’