बारमा छलफल: प्रधान न्यायाधीश असफल पार्ने नाममा बरिष्ठ न्यायाधीश बने न्यायिक सुधारका बाधक – Nepal Press

बारमा छलफल: प्रधान न्यायाधीश असफल पार्ने नाममा बरिष्ठ न्यायाधीश बने न्यायिक सुधारका बाधक

काठमाडौं । न्यायपालिकाभित्र प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध गुटबन्दीको नेतृत्व गरिरहेका बरिष्ठतम न्यायाधीश दिपक कार्कीको भूमिकामाथि नेपाल बार एशोसियनले प्रश्न उठाएको छ ।

नेपाल बारको शुक्रबार बसेको कार्य समिति बैठकमा प्रधान न्यायाधीशलाई असफल बनाउने नाममा कार्कीले न्यायपालिका शुद्धिकरण र कानून व्यवसायीको पेशागत हक तथा वृति विकासमाथि नै बाधा उत्पन्न गरेको विषय उठेको हो ।

बारले निर्णय नगरे पनि कार्कीसँग बरिष्ठ अधिवक्ताको पदवी सम्बन्धी काम नियतवस एक वर्षदेखि रोकेको र स्वचालित पेशी सम्बन्धी समितिको संयोजकका रुपमा कुनै काम नगरेको विषयमा जवाफ माग्ने समझदारी बनेको एक सदस्यले बताए ।

कार्की वरिष्ठ अधिवक्ताको उपाधी प्रदान गर्ने सम्बन्धी मापदण्ड अनुसार सिफारिस समितिको संयोजक थिए । तर उनले एक वर्षसम्म अध्यक्ष भएर पनि फुलकोर्टले बनाएको मापदण्ड अनुसार काम नगरी बैठकसमेत नबोलाएको विषय बार बैठकमा उठेको छ ।

कार्कीले आफ्नो दायित्व निर्वाह नगरेपछि समितिको संयोजक अर्का न्यायाधीश प्रकाशमान सिंह राउतलाई बनाइएको थियो । तर उनले पनि कुनै काम अघि नबढाएपछि बार एशोसियसनले शुक्रबार विज्ञप्ति निकालेरै सर्वोच्च फुलकोर्टको ध्यानाकर्षण गराएको छ ।

त्यस्तै स्वचालित पेशी सम्बन्धी सुझाव पेश गर्न दिपक कार्कीको अध्यक्षतामा अर्को समिति बनेको थियो । हरिकृष्ण कार्कीको समितिले प्रतिवेदन दिएर कार्यन्वयनको चरणमा गए पनि दीपक कार्कीको समितिले कामै नगरेपछि सो समितिको संयोजक पनि हरिकृष्णलाई बनाइएको छ ।

अहिले प्रधान न्यायाधीशमाथि स्वचालित पेशी प्रणाली लागु गर्न आनाकानी गरेको आरोप लगाइए पनि त्यसको मुख्य दोषी समेत कार्की नै रहेको बारको ठम्याई छ । सर्वोच्च अदालतले न्यापालिकाका विकृत विसंगतिको अध्ययन गरि प्रतिवेदन पेश गर्न हरिकृष्ण कार्कीको संयोजकत्वमा समिति गठन गरेको थियो ।

आफू संयोजक भएको समितिबाट कुनै काम नगर्ने अनि स्वचालित पेशी प्रणाली प्रधान न्यायाधीशले लागु गर्न नचाहेको भनी दोष थोपर्ने काम भइरहेको भन्दै बार बैठकमा बरिष्ठतम न्यायाधीश कार्कीको भूमिकाको आलोचना भएको हो ।

बारका एक पदाधिकारीले भने- स्वचालित पेशी सम्बन्धी प्रतिवेदन नै नदिएपछि प्रधान न्यायायाधीशले कसरी कार्यन्वयन गर्छन् ? दीपक कार्की र प्रकाशमान सिंह राउत लगायतका बरिष्ठ न्यायाधीशहरु आफ्नो जिम्मेवारी पूरा नगर्ने र त्यसको दोषी प्रधान न्यायाधीशलाई देखाएर बाहिरबाट मिडिया ट्रायल गर्दैछन् । त्यसैले समग्रमै छलफल गर्न प्रधान न्यायाधीश भेट्न खोजिएको हो ।

बरिष्ठतम न्यायाधीश कार्कीले न्यायपरिषद बैठक बहिस्कार गर्ने, प्रधान न्यायाधीशलाई असफल पार्ने नाममा आफू संयोजक भएका कुनै पनि समितिको काम नगर्ने तथा गुटबन्दीको नेतृत्व गर्ने गरेको विषयमा जवाफ माग्नुपर्ने कुरा बैठकमा उठेको बारका एक सदस्यले बताए ।

बारले न्यायपरिषदका पठाएका प्रतिनिधि रामप्रसाद सिटौलाको भूमिका समेत चित्त बुझ्दो नभएपछि आगामी सोमबार उनलाई पनि बोलाएर छलफल गर्ने निर्णय भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर