यी हुन् नेपाललाई सदस्य बनाउन भूमिका खेल्ने तीन सैनिक कूटनीतिज्ञ

दोश्रो विश्वयुद्धको समापन हुने क्रममा सन् १९४५ जुन २६ मा अमेरिका, बेलायत, फ्रान्स, सोभियत संघ, चीन लगायतका ५० देशहरुले अमेरिकाको सनफ्रान्सिस्कोमा हस्ताक्षर गरेर संयुक्त राष्ट्रसंघको वडापत्र पारित गरे । त्यसको चार महिनापछि सन् १९४५ अक्टोबर २४ मा औपचारिक रुपमा संयुक्त राष्ट्रसंघको स्थापना भयो । बडापत्रमा हस्ताक्षर गर्ने ५० देशमा पोल्यान्ड थपिएर ५१ सदस्य राष्ट्र संयुक्त राष्ट्रसंघको संस्थापक भए । अहिले नेपालसहित संयुक्त राष्ट्रसंघ सदस्य हुने देशहरुको संख्या १९३ पुगेको छ ।
संयुक्त राष्ट्रसंघ बन्नुअगाडि नै नेपाल स्वतन्त्र देश थियो । राष्ट्रसंघ अस्तित्वमा आउनुभन्दा ११ वर्ष अगाडि नै नेपालको बेलायतमा राजदूतावास थियो । जुद्धशमशेरका छोरा बहादुर शमशेर पहिलो राजदूत भएर सन् १९३४ मा बेलायत पुगेका थिए । उनी नेपालका प्रथम आवासीय राजदूत पनि हुन । चन्द्र शमशेरको प्रधानमन्त्रीकालमा सन् १९२३ डिसेम्बर २१ मा भएको नेपाल-बेलायत सन्धिपछि नेपालले बेलायतबाट सार्वभौम राष्ट्रको औपचारिक मान्यता पाएको थियो ।
नेपालले सार्वभौम राष्ट्रको मान्यता पाएको र मान्यता दिने बेलायत संयुक्त राष्ट्रसंघको भिटो पावर भएको सुरक्षा परिषदको सदस्य हुँदा पनि नेपालले सन् १९५५ को डिसेम्बर १४ मा आएर मात्रै सदस्यता पायो । यो सदस्यता पाउँदा नेपालमा राजा महेन्द्रले आफ्नै नेतृत्वमा मन्त्रिमण्डल चलाएका थिए ।
नेपाललाई संयुक्त राष्ट्रसंघको सदस्य बनाउन केही सैन्य पृष्ठभुमिका कूटनीतिज्ञको ठूलो र देखिने योगदान छ । नाम लिनैपर्ने तीन व्यक्ति यी हुन्-
१. जनरल केशरशमशेर
संयुक्त राष्ट्रसंघ अस्तित्वमा आउँदा युरोप-अमेरिका क्षेत्रमा नेपालको एक मात्र कूटनीतिक नियोग बेलायतको लन्डनस्थित नेपाली दूतावास थियो । संयुक्त राष्ट्रसंघ स्थापनाताका बेलायतमा नेपाली राजदूत थिए जनरल सिंहशमशेर । उनी सन् १९३९ देखि १९४७ सम्म बेलायतमा नेपाली राजदूत रहेका थिए । उनले नेपाललाई संयुक्त राष्ट्रसंघको सदस्य बनाउन गरेको कुटनीतिक अभ्यास चर्चामा छैन । तर, उनीपछि राजदूत भएर पुगेका जनरल केशरशमशेर भने देखिने गरी सक्रिय भएका थिए ।
केशरशमशेरकै पालाबाट नेपाल र अमेरिकाबीच राजदूत आदानप्रदानको सझदारी भएको हो । उनी आफ्नो ओहोदाको प्रमाणपत्र थाप्न पहिलोपटक सन् १९४८ को फेब्रुअरीमा अमेरिका पुगेका थिए । तत्कालीन अमेरिकी राष्ट्रपति ह्यारी एस ट्रुमनसँग उनले सन् १९४८ को फेब्रुअरी १९ मा ओहोदाको प्रमाणपत्र बुझेका थिए । सोहि भ्रमणका क्रममा उनले संयुक्त रास्ट्रसंघका तत्कालीन महासचिव नर्वेका तिग्भे लीसँग भेट गरेका थिए । न्यूयोर्कमा भएको भेटमा नेपालको सदस्यताको विषयमा कुराकानी भएको थियो ।
प्रधानमन्त्री चन्द्रशमशेरका छोरा केशरशमशेरकै पहलले पनि नेपाललाई संयुक्त राष्ट्रसंघमा सदस्य बन्ने मार्ग प्रशस्त गर्न सहज भएको थियो । ‘परराष्ट्रका पात्र’ पुस्तक लेखक डा. मदनकुमार भट्टराईले केशरशमशेरलाई नेपाली र अंग्रेजी भाषाका पोख्त तथा वहुविषयका जानकार भनेका छन् ।
२. जनरल विजयशमशेर
मेजर जनरल विजयशमशेर अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरका छोरा हुन् । अहिलेका राप्रपा नेता पशुपति शमशेरका पिता हुन् उनी । उनले नेपाललाई संयुक्त राष्ट्रसंघको सदस्य बनाउन सक्रिय पहल गरेका थिए ।
तत्कालीन परराष्ट्र विभागका निर्देशकको रुपमा विजयशमशेरले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई सन् १९४९ जुलाई २२ मा एउटा लामो निवेदन लेखेका थिए । नेपाललाई संयुक्त राष्ट्रसंघको सदस्यता दिनुपर्ने र त्यसका निम्ति नेपाल सार्वभौम देश भएको प्रमाण देखाउन नेपालले सार्वभौम देशको रुपमा गरेका विभिन्न सन्धिहरुसहितको पत्र थियो त्यो ।

पत्र सुरक्षा परिषदमा सन् १९४९ अगष्ट ८ मा दर्ता भएको छ । भारतीय राष्ट्रिय कांग्रेसले सन् १९४७ मा गरेको एसियाली सम्बन्ध सम्मेलनदेखि सन् १९५० मा भएको नेपाल-भारत सन्धिको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै वर्ता र संवाद गर्ने पनि विजयशमशेर नै थिए ।
‘परराष्ट्रका पात्र’ पुस्तकमा लेखक डा. भट्टराईका अनुसार विजय शमशेरले जनवादी गणतन्त्र चीन बनेपछि सम्बन्ध स्थापना गर्न आएको प्रस्तावमा पनि सन् १९५० मार्च १६ मा पत्र पठाएका थिए । यसरी संयुक्त राष्ट्रसंघमा प्रवेशको प्रस्ताव मात्रै हैन, भारत र चीनसँगका सम्बन्धको सवालमा समेत विजयशमशेरको नाम छुट्दैन ।
३. सरदार गुन्जमान सिंह
केशरशमशेरबाट सुरु भएको संयुक्त राष्ट्रसंघमा नेपाल प्रवेशको प्रक्रिया सरदार गुञ्जमान सिंहको पालामा आएर टुंगिन्छ । मातृकाप्रसाद कोइरालाको सरकार ढलेपछि नौ महिना प्रधानमन्त्रीबिहीन अवस्थामा देश पुग्यो । महेन्द्रले आफ्नै नेतृत्वमा सरकार हुने गरी सन् १९५५ अप्रिल १३ मा पाँचजना शाही सल्लाहकार भएको सरकार बनाए । त्यहाँ सरदार गुन्जमान सिंहले परराष्ट्र विभागको नेतृत्व गरे ।
सिंहकै नेतृत्वकालमा नेपाल सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसंघ सदस्य भयो । त्यस दिन दक्षिण एसियाबाट श्रीलंका र नेपाल सदस्य बनेका थिए । त्यस दिन स्पेन, पोर्चुगल, अष्ट्रिया, इटाली, फिनल्यान्ड, आयरल्यान्ड लगायतका देशहरु थिए । सदस्य भएको तीन महिनापछि मात्रै संयुक्त राष्ट्रसंघको मुख्यालयमा रहेको प्लाजा डिस्प्लेमा नेपाल लगायतका १६ देशका झन्डा राखिएको थियो ।

सन् १९५६ मार्च २२ मा अपरान्ह साढे १२ बजे झण्डा राखिएको थियो । उक्त समाचार सन् १९५६ मार्च २३ मा न्यूयोर्क टाइम्सले छापेको थियो । यसबाट तत्कालीन समयमा नयाँ सदस्यताको बिषय कति महत्वपुर्ण थियो भन्ने बुझ्न सकिन्छ ।