सिके राउतको पार्टी आन्दोलनमा, यस्तो छ पहिलो चरणको कार्यक्रम – Nepal Press

सिके राउतको पार्टी आन्दोलनमा, यस्तो छ पहिलो चरणको कार्यक्रम

जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले भ्रष्टाचार र वेतिथिविरुद्ध जनआन्दोलनको तयारी गर्ने निर्णयसहित पहिलो चरणको आन्दोलन घोषणा गरेको छ । आइतबार बसेको जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले कात्तिक ८ देखि ९ दिनसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

सिटी जुलुस निकाल्ने, यूवा दस्ता तयार पार्न प्रशिक्षण दिने, बजारहरुमा कोणसभा गरेर आन्दोलनका मागबारे जनतालाई अवगत गराउने र सर्वपक्षीय जनआन्दोलनको तयारी गर्ने राउतले विज्ञप्तीमार्फत जानकारी गराएका छन् ।

भ्रष्टाचारको आरोप लगाउँदै जनमत पार्टीका कार्यकर्ताहरुले गत बुधवार जनकपुरमा रहेको संघीय खानेपानी तथा ढल निकास आयोजना प्रमुख राजेश्वर कुशवाहालाई अर्धनग्न पारेर बजार घुमाएका थिए । त्यसक्रममा पक्राउ परेका १७ कार्यकर्तालाई रिहा गर्नुपर्ने, आफ्ना नेता कार्यकर्तालाई पूर्ण सुरक्षा प्रदान गर्नुपर्ने लगायतका माग राखेर जनमत पार्टीले आन्दोलनको घोषणा गरेको हो ।

प्रमुख कुशवाहालाई जनकारवाही गर्दा कात्तिक ५ गते इन्जिनियरहरुले जुलुस निकालेर जनकपुरको भानु चौकमा रहेको आफ्नो केन्द्रीय कार्यालयमा तोडफोड तथा आगजनी गरेको भन्दै उनीहरुलाई कारबाही गर्न ४८ घण्टे अल्टिमेटम समेत दिइएको छ ।

प्रदेश २ का प्रमुख सत्तारुढ जसपालाई लक्षित गरेर राउतले एक सत्ताधारी पार्टीले जनमत पार्टीका कार्यक्रममा आफ्नो लठैतको झुण्डलाई पठाउने, प्रहरीमाथि ढुंगामुढा तथा भयावह आक्रमण गरेको भिडियो प्रमाण धनुषा प्रहरीलाई उपलब्ध गराएको पनि बताएका छन् । उनले सत्ताधारी पार्टी भिडन्त र हिंशा फैलाउने प्रयास गरिरहेको भन्दै भविष्यका कार्यक्रमहरुमा हिंसा भए त्यसको जिम्मेवार सो पार्टी र प्रहरी प्रशासन आफैं हुने चेतावनी समेत दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर