हिन्दू धर्मका सम्राट शंकराचार्य भैरहवामा: धर्मसभालाई सम्वोधन, हिन्दुराष्ट्र बनाउन दबाब दिने – Nepal Press

हिन्दू धर्मका सम्राट शंकराचार्य भैरहवामा: धर्मसभालाई सम्वोधन, हिन्दुराष्ट्र बनाउन दबाब दिने

भारतमा प्रधानमन्त्रीसरहकाे सुरक्षा पाउने शंकराचार्य आएसँगै उच्च सुरक्षा सर्तकता

रुपन्देही । भारतको जगन्नाथपुरीस्थित गोबर्द्धन मठका मठाधीश एवम् हिन्दू धर्मका सम्राट शंकराचार्य स्वामी श्रीनिश्चलानन्दको आगमनसँगै देशभरका हिन्दुवादी नेताहरु रुपन्देहीमा भेला भएका छन् ।

नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न दवाव दिने उद्देश्यले आयोजना गरिएको धर्मसभालाई सम्बोधन गर्न उनलाई ल्याइएको हो । आज सोमवारदेखि आयोजना हुन लागेको अन्तरर्राष्ट्रियस्तरको धार्मिक महासभामा भाग लिन शंकराचार्य नामले परिचित ८० वर्षीय स्वामी नेपाल आएका हुन् ।

आइतबार साँझ लुम्बिनी नजिकैको कक्रहवा नाका हुँदै नेपाल प्रवेश गरेका शंकराचार्यलाई लुम्बिनी सास्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरी, लुम्विनी बिकास कोषका उपाध्यक्ष भिक्ष मैत्तेयलगायत धर्मगुरुहरुले स्वागत गरेका थिए ।

शंकराचार्यसँगै धर्मसभामा सहभागी हुन नेपाल र भारतका सनातन धर्म तथा ओमकार परिवारका विद्वानहरु भैरहवा आइपुगेका छन् ।

धर्मसभा मूल आयोजक समितिका संदस्य ब्यासमूनि आचार्य किशोर गौतमले वैदिक, बौद्ध, जैन, सिख, किराँत, बोन लगायत सनातन ओमकार परिवरजनको विशेषता, पहिचान र सम्मान कायम गर्न नेपालको संविधानमा सनातन हिन्दू धर्म सापेक्षताको पहिचान पुनः स्थापित गर्ने उद्देश्यले धर्म सभा आयोजना गरिएको बताए ।

धर्मसभाको मुख्य उद्देश्य नेपालको स्थायी शान्तिका लागि हिन्दु राष्ट्र नेपाल घोषणा गर्नु रहेको भन्दै गौतमले ॐकार परिवारबीच एकता कायम गरी राष्ट्र, राष्ट्रियता, स्वधर्म र स्वसस्कृतिको रक्षाका लागि धर्मसभाको आयोजना गरिएको बताए ।

शंकराचार्यको नेपाल भ्रमणबाट नेपालमा हिन्दुराष्ट्र घोषणाका लागि दबाब सुरु हुनुको साथै सनातन धर्मको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनको लागि प्रभावकारी हुने अपेक्षा आयोजकको छ ।

हिन्दूका चार धामका सर्वश्रेष्ठ शंकराचार्यको रुपमा रहेका उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसरह सुरक्षा व्यवस्था र सम्मान पाउने एक मात्र भएकोले उनकोे आगमनसँगै भैरहवाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

आयोजक संस्था बिश्व ॐकार एकता महाअभियानका अनुसार शंकराचार्यले आज सम्वोधन गर्ने र भोलि नै भारत फर्किनेछन् ।

पछिल्लो समय नेपाललाई सनातन हिन्दू राष्ट्र कायम गर्नुपर्ने आवाज बलियो हुँदै गएको छ । ठूला राष्ट्रिय राजनीतिक दलले मुख्य एजेण्डा हिन्दू राष्ट्र नबनाए पनि दलसँग आबद्ध कैयौं प्रभावशाली नेताहरुले नेपाललाई हिन्दू राष्ट्र बनाउनु पर्ने अभिमत राख्दै आएका छन् । यस्तो अवस्थामा नेपालभरका धर्मगुरु भैरहवामा जम्मा भएर हिन्दू धर्मका प्रसिद्ध गुरु जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शंकराचार्य स्वामी श्रीनिश्चलानन्दलाई भैरहवामा ल्याएका हुन् ।

करिब ५ सयभन्दा बढी पुस्तकका लेखक समेत रहेका निश्चलानन्द हिन्दुधर्मका जीवित गुरुहरुमध्ये सबैभन्दा उच्च पदमा रहेका धर्मगुरु रहेको दावी उनका अनुवाइहरुको छ । धर्मसभाबाट कुनै जाती, सम्प्रदाय र राजनीति अभिप्रेरित नभएको आयोजकको दावी छ । विशुद्ध नेपाललाई हिन्दु राष्ट्र बनाउन सभा केन्द्रिय हुने धर्मगुरुहरुले जनाएका छन् ।

नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको डेढ दशक भइसकेको छ । संविधानमै धर्मनिरेपक्ष राष्ट्र लेखिएको छ । तर, लामो समयदेखि हिन्दू धर्मगुरुहरुले संविधान पुनर्लेखनको माग गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर